हजार ८४ की आमासँग १ सय ५२ मिनेट

Tue Apr 20 0 Comments

‘हज्जार ८४ की मा’ हेरेर फर्किंदै बारबारा एडम्स। तस्विरः टिगफ

नेपालका पुष्पकमल दाहालले माओवादी विद्रोह थाल्नुभन्दा ५० वर्ष अघि नै सन् १९६७ मा भारतको नक्सलावाडीमा चारु मजुम्दारले ‘जनविद्रोह’को आगो सल्काएका थिए। सीपी मैनाली नेतृत्वमा झापामा भएको ‘टाउको काट’ आन्दोलनदेखि दाहाल नेतृत्वको ‘सफाया’ त्यही मजुम्दार पथकै फोटोकपी थिए। मजुम्मदार नेतृत्वको नक्सलाइट आन्दोलनकै पथमा नेपालको पूर्वी-दक्षिण सीमाको भारतीय भूमिमा माओवादी ‘क्रान्ति’ अझै जारी छ। इन्डियन फिल्म फेस्टिबलको चौथो दिन नेपाल टुरिजम बोर्डको हलमा हेरेको ‘हजार ८४ की मा’ एउटा यस्तै फिल्म हो जसले नक्सलाइट विद्रोहमा मारिएको छोराकी आमाको मनोवैज्ञानिक उतारचढाव प्रस्तुत गर्दछ।

फिल्म फेस्टिबलमा अहिलेसम्मकै बढी दर्शक यसले तानेको थियो। सँगै आएका अग्रज गोविन्द अधिकारी र चंकी श्रेष्ठ भिडमा कहाँ हराए पत्तो भएन। बस्ने सिट पाइएन। कोलकताको सम्पन्न चटर्जी परिवारको सेरोफेरोमा कथा सुरु हुनैलाग्दा दोस्त सन्तोष रिमाल र फिल्म निर्देशक विजयरत्न तुलाधर नजिकै पुगेँछु।

‘एसएमएस पठाएको भए सिट रोक्थेँ नि’, सन्तोषले भन्यो। ‘ठिकै छ यार।’ सिँडीमै बसेँ।

ब्राती चटर्जी (जोय सेन गुप्ता) ले सामाजको गरिबी देखेका हुँदैनन् तर घरमा बाबुको तानाशाह भोगेका हुन्छन्। भोक, रोग, गरिबीबाट मुक्तिको सपना बाँड्दै हिँडेका ब्राती र उनका चार साथीको हत्या झुपडपट्टि वालाबाटै हुन्छ। छोरा गुमाएर विक्षिप्त बनेकी सुजाता चटर्जी (जया बच्चन) भित्र चुलिएको पीडा, निरासा, छटपटी हेरिरहँदा मेरो मस्तिष्कले माओवादी द्वन्द्वमा ज्यान गुमाएका १३ हजार बढी निर्दोष नेपाली आमाको इमेज उतारिरह्यो।

१८ वर्षपछि सुजाता भूमिकामा जया बच्चनको यो फिल्ममा पुनरागमन हिरोको रुपमा भएको छ। सुजातासँग जीवन साथी दिव्यनाथ (अनुपम खेर)छन् उनी श्रीमतीसँग शरीर खोज्छन्, मन बुझ्दैनन्। खोक्रो पारिवारिक जीवनदेखि वाक्क भएकी सुजाताभित्र छोरो मारिएकपछि चुलिएको निरासाले चटर्जी निवासको पर्खाल नाघ्छ। बैंक ड्युटी छाडेर गाउँ घुम्नेगरी पलाएको जागरणपछि सुजातालाई बल्ल थाहा हुन्छ कि त्यो मायाको टुक्रा किन गुमेछ भनेर। मार्क्सवाद र माओवादलाई गुरु थापेर आरम्भ गरिएको हिंसात्मक नक्सलाइट संघर्ष मात्र हैन सन् ७० को दशकमा पढालेखा भारतीय महिला मस्तिष्कमा पलाएको भलादमी विद्रोहलाई समेत फिल्मले समेटेको छ। कुनै बेला समाज र राजनीतिदेखि टाढा रहेको सुजताको व्यक्तित्व फिल्मको अन्त्यसम्म आइपुग्दा नन्दिनी मित्रा (नन्दिता दास)को अधिकारवादी केन्द्रको सहयोगीको रुपमा स्थापित हुनपुग्छ।

बलिउडी परम्परागत तुजुकको संकेत फिल्ममा कतै छैन। भव्य सेटहरु ‘हज्जार ८४ की मा’का दर्शकले हेर्न पाउँदैनन्। बरु निर्देशक गोविन्द निहलानीले देखाएका छन् हामी बाँचेको अहिलेको समाज जस्ताको तेस्तै। जहाँ हजारौं युवाहरु मुक्तिका नाउँमा मर्क्सवाद र माओवादको स्वेरकल्पनामा तैरिरहेछन्।

१ सय ५२ मिनेटको ‘हज्जार ८४ की मा’ हेरेर दरबारमार्गतिर लाग्दै गर्दा सोचेँ- मार्क्सवाद-माओवाद सिद्धान्तको बिक्री केन्द्र गरिबकै झुपडी त हुने रहेछन्। त्यो रोल्पा होस् वा नक्सालवाडी। शक्ति प्राप्तिको होडमा मारिएका १३ हजार आमाका आँसु र छटपटी पुष्पकमल दाहालकी आमाले देखिन् भने छोरालाई के भन्लिन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *