पर्खाइ पूर्वधारणा बिना

हिजै देखिको एउटा पीडा के को हो भन्नेमा म आफैँ अलमलमा छु। कतै गएको बेला बाहेकको मेरो संसार बन्ने मेरो कोठाले पनि आज विरक्त पारेको छ। खै कुन जाँगरले हो कुन्नि यस्तो असहज अवस्थामा पनि अफिस पुग्न सकेँ। सधैँ न्युजसँग खेल्दा आनन्द लाग्थ्यो। आज कम्प्युटर नजिकै गएर बस्नै पनि मन लागेन। आराम कक्षको एसी अफ गरेर बिग स्क्रिन ल्यापटपमा औंला नचाउँदै एक्लै काम गर्नु मेरो सोखको विषय हो। आज त्यसो गर्न पनि जाँगर चलेन। एउटै न्युज नछोइ म बाहिरिएँ। टियु मध्यभागको जंगल बाटोमा बाइकमा हुइकिरहँदा म सोच्दै थिएँ- भीडमा भीडजस्तो भएर बाँच्न सहज छ। भीडको सर्कलभन्दा टाढा हुनासाथ असहजताको सामना अवसम्भावी छ। म धेरै कुराहरुमा स्पष्ट छु। तर बुझाइले मात्र मान्छेलाई सधैँ नडोर्या्उँदो रहेछ। मानिस बौद्धिक रुपमा जतिसुकै सक्षम भए पनि कतिपय स्थितिमा भावनात्मक रुपमा लाचार बन्दोरहेछ। मलाई थाहा छ मेरो यो विचलन मेरै दुर्वल मानसिकताको कारण हो। र यो विचलनलाई शान्त गर्न नसक्दा ममा निरासाको डिग्री बढिरहेछ।

अस्तित्वमा आफ्नो उपस्थिति कतै पनि सार्थक देख्न सकिरहेको छैन। घोर निरासा, शून्यता, दृष्टिहीनता र गन्तव्यहीनताको यो चौबाटोमा उभिएर दुई दिनदेखि म एकै सवाल सोचिरहेछु- आखिर मान्छे के कुराले चाहिँ पूर्ण सुरक्षित अनुभव गर्न सक्छ ? जवाफमा धेरै कुराहरु आउँछन्, सम्पत्ति, सत्ता, शक्ति, सुन्दर पार्टनर आदि आदि। हुन त म बाँचेको समाजमा सम्पत्ति र सत्तासँगै आउँछन्- सुन्दर लाइफ पार्टनर पनि। यो लाइन लेखिरहँदा हेनरिक इब्सेनको डल्स हाउस नाटककी नोरा पात्रको एउटा सम्वाद सम्झँदैछु- प्रशस्त पैसा हुनु, सुन्दर जीवन साथी हुनु अनि स्वस्थ रहनु कति आनन्दको कुरा ! एउटा भ्रमको तहसम्म यो आनन्दको कुरा नै हुनेरहेछ। जब मान्छेले यी कुराभन्दा पर गएर अस्तित्वमा आफूलाई नियाल्न खोज्छ, जीवनलाई पृथक कोणबाट अवलोकन गर्न थाल्छ त्यसपछि बाह्य विषयहरुले दिने आनन्द सापेक्षित रुपमा कमजोर बन्दै जाँदा रहेछन्।

कुनै बेला बुद्धको बाटोमा आफूलाई चुर्लुम्म डुबेको पाउथेँ। टियुको बुद्धिज्म कक्षामा भिक्षुहरुले पढाएका त्रिपटक र बौद्ध दर्शनका पाठ पढ्नुभन्दा पहिलै आफूले अनुभव गरिसकेका जस्तो हुन्थ्यो। टेक्चुवल नलेजभन्दा स्ट्रोङ त अनुभव हो नि। त्यही भएर म आफूलाई त्यहाँ पनि पृथक पाउँथेँ। धेरै विषयसँग डिट्च्याच्ड भएर बाँचेको त्यो समयमा संसारिक जीवनका कुनै पनि क्षेत्रका लागि मेरो आगमन एउटा आँधीजस्तो बेगको थियो। कसैले रोक्न नसक्ने, कसैले भेट्न नसक्ने। बाह्य संसारले देख्ने ठूला चुनौती मेरा लागि कुनै केटाकेटी खेल जस्ता हुन्थे। मात्र पाँच घण्टा सुते पनि संसारका कामले थकाउने तागतै राख्दैनथेँ। त्यो बेला गरिएका धेरै कामहरुहरुका लागि अफिस र बाहिर म प्रशस्त प्रशंसित भएको छु। यद्यपि मलाई थाहा थियो ती प्रशंसाहरुमा कुनै तुक छैन।

अहिले म भेट्टाउन सकिरहेको छैन मैले प्रतीक्षा गरिरहेको कुरा के हो। कुनै पूर्व धारणा बिना केही पर्खिरहेछु। मलाई थाहा छ मेरो कमजोरी कसैले आत्मसात गर्नेवाला छैन। र, मलाई यो पनि थाहा छ त्यसो हुनै दिनुहुन्न। त्यसैले बीबीसीमा अर्जेन्टिना-ग्रीसको लाइभ कमेन्ट्री हेर्दै एउटा फेलोसीपको फाइल डाउनलोड गरेँ। बिहानी भइसक्यो। अब सुत्नुछ। सूर्यले संसारलाई उज्योलो छर्दा मलाई देख्ने छैन। किन गुनासो गर्नु र ! मैले आँखा खोलेँ भने सूर्य त फगत एउटा प्राकृतिक निरन्तरता न हो प्रकाशलाई भेट्न कसले रोक्छ र !
June 23 2010

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

Comments are closed.