ओहो ! पंक युवक

उसले कम्मरभन्दा तल लगाएको ब्यागी जिन्सपाइन्ट घरि-घरि माथि तान्‍नुपर्छ। टिसर्ट हेर्दा फुटबलमा ऊ पक्का इटलीको फ्यान हो। फिक्का मरुन कलरको स्पोर्टस् ज्याकेटको पिठ्युँमा ‘इटालिया’ लेखिएको छ। अनि कपालको शैली नि ? त्यो त झन् भन्नै परेन। चार वर्षअघिको डेभिड बेक्यामजस्तो जुरेली कट्। ‘कहाँ पुरानो हुनु यो स्टाइल, भर्खरै जोन अब्राहमले गोल (फिल्म) मा प्रयोग गरेको छ’- झन्डै पिँडुला छोएका पछाडिका खल्तीमा दुवै हात घुसार्दै पंक युवकले भन्यो। लगातार ८ घण्टासम्म चुप लागेर ध्यान गरेपछि नेपाल विपश्यना सेन्टर, मुहानपोखरीमा म त्रिचन्द्र कलेजमा बीए तेस्रो वर्षका छात्र अभिदान अधिकारी, २१ सँग मुख खोल्दैछु।

कलेजमा यिनको परीक्षा मिति नजिकिँदैछ रे। तर संयोगबस जीवनको परीक्षाको मिति पनि नजिकिएछ। अनि विपश्यनाका यी पुराना साधक एक दिवसीय शिविरका लागि बुढानिलकण्ठतर्फ दौडिएछन्।

उसले सुनाउनुभन्दा अगाडि जीवनका परीक्षा र बुद्धको यो विद्या सिंक्रोनाइज हुनसक्छन् भन्ने कोणबाट हेरेको थिइनँ। बरु विश्वविद्यालयको पढाइमा केन्द्रित हुन नसकेपछि समयको सदुपयोग गर्न नयाँ वर्षअघिका तामझाम छाडेर ध्यान केन्द्र पुगेको थिएँ। जीवनका परीक्षामा खरो उत्रिन विपश्यना ध्यान अचुक हुने उसको ठम्याई रहेछ। ‘ध्यानमा लगनशील होऊ, जीवनका परीक्षा ठूला लाग्दैनन्’ अंग्रेजी साहित्यको विद्यार्थी पूर्ण आत्मविश्वास सहित बोल्दैछ- ‘जीवनको परीक्षाका अगाडि विश्वविद्यालयका परीक्षा केही होइनन्।’ क्लिक भयो। बेनजिर भुट्टोको अटोबायोग्राफीको एउटा लाइन जस्ताको तस्तै ! पंक निकै खारिएको परे जस्तो छ। सोधेँ-’भुट्टोको अटोबायोग्राफी पनि भ्याइसकेको ?’ होइन रे। मैले जस्तै ग्लोबल न्यूज च्यानलहरुबाट थाहा पाएको रे। विपश्वीले तपोभूमिमा किन शीलको उल्लंघन गर्दै झुठ बोल्थे र !

उसको फ्यान लिस्टमा इटालीका कानाभारो मात्र होइन राजनीतिक नेता बेनजिर पनि रहिछन्। ‘त्यो आइमाईको कठोर निर्णय लिने क्षमताको साँच्चै प्रशंसक हुँ’- मैले नपत्याउँला कि भनेजस्तो लागेछ क्यारे। जोड दिँदै भन्यो- ‘उसले चाहेकी भए पिता जुल्फिकरलाई बचाउन सक्थी क्या। विश्वकै राजनीतिमा ऊ एक मात्र दुस्साहसी महिला हो।’ पंक साथीले सैनिक तानाशाहा जियाउल हकले परिवारले माफी मागे जुल्फिकरलाई माफी दिइनेछ भनेर गरेको आह्वान सम्झाउन खोजेको थियो।

‘तिम्रो जीवनको परीक्षा पनि भुट्टोको जस्तै राजनीतिक हो कि परीहरुसँग जोडिएको सम्बन्धको कथा ?’- मलाई के थियो र सोध्नलाई। अब ऊ अकमकायो। र, ध्यानमा बस्नुअघि खोलेको लकेट गलामा लगाउँदै बर्बरायो- ‘अँ….अँ……। त्यस्तो त केही हैन, तर लाइफमा कन्फ्युजन डिलिट गर्न आएको’ मात्र भन्यो। बुद्धको त्यो विद्याको लाभग्राही म स्वयं पनि थिएँ। पंक साथीको गेट-अप र विचारका केही टुक्रा सुनिसकेपछि ऊ आफ्नै पाठ्यक्रमको उत्तरआधुनिकवादको अच्छा चेला जस्तो लागेथ्यो। तर, उसका बारेमा म फेरि पनि फेल भएँ। ‘डेरिडाको पोस्टमोर्डनिज्म, ग्याप र एब्सेन्सिज केही होइन। त्यो अस्ति भर्खरै २० औँ शताब्दीमा पश्चिमा लेबलमा आयो। जे जे शब्दका अलंकार भिरेर आए पनि तिनमा केही नयाँ छैन’- मतर्फफर्केर निकै गाढा स्वरमा उसले सोध्यो- ‘दैनिक ध्यान गर्दैनौँ ? डेरिडाबाट सिक्नुको मतलब बुद्धको बाटोमा तिमी छैनौँ।’ ध्यान गर्दाको जस्तै चुप भएँ। पंक साधकसँग कुरा गर्न सजग हुनुपर्छ भन्ने लाग्यो।

अहिले नेपाली बजारका हटकेक बनेको पोष्टमोर्डनिज्मलाई यिनले खुब मिलाएर दनक दिए। ‘तिनीहरुले यतैबाट सिके। गयाबाट पश्चिम पुर्याइएको त्यो केक अहिले नेपालमा फैलाउने एजेन्टहरु यो मानव सभ्यता विकासको पवित्र कोशेढुंगा हो भन्छन्’- उसले गाडा श्वरमा सोध्यो- ‘तिनलाई तिमी विद्वान भन्छौ होला हैन ?’ मलाई ध्यानले प्रतिक्रिया नगर्न पनि सिकाएको थियो, चुप रहेँ। मनमा कुरा खेल्यो- यी ध्यानीले अर्को साल अंग्रेजीको केन्द्रीय विभागतिर विपश्यना ध्यानका अभ्यासकर्ता सञ्जीव उप्रेतीसँग यस बारेमा चर्चा चलाउलान्। गुप्तो र वीरेन्द्र पाण्डे गुरुहरुसँग साक्षात्कार गर्लान्। ‘किन अग्रेजी साहित्यको त्यही विद्यामा छौ त आफैँ ?’ उसको चेहेरामा मुस्कान छायो। ‘साश्वत कुरा थाहा पाउन अनित्यको ध्यान गरेजस्तै मात्रै हो।’

… र लेखियो ब्लग
‘त्यो ४९ माओवादीलाई हत्या गरेको भनेको जंगल यही होइन ?’ ठ्याक्कै खराउजस्ता फ्लाट स्लिपरमा लगाएको मोजा माथितिर तान्दै उसले सोध्यो। क्षितिजसम्म टम्म ढाकेको शिवपुरी राष्ट्रिय निकुञ्जको घनघोर जंगलमा तिलको दानो पनि छिर्न गाह्रो पर्ला जस्तो देखिन्छ। हामी ४९ माओवादी बन्दीलाई हत्या गरिएको भनेको अल्ले जंगल क्षेत्रभन्दा दुई किलोमिटर मात्र वर छौँ। राजनीतिक घटनाक्रममा पनि यति विघ्न अपडेटेड। ‘तिम्रो यो विरोधाषपूर्ण शैलीमाथि एउटा ब्लग लेखुँ ?’ दश मिनेट जतिको कुराकानीपछि मेरो प्रस्ताव। ‘माइसन्सार !’ अविदान एक्साइटेड भएजस्तो भयो। निधारको छाला तन्कायो, आँखाहरु पूरापूर खोल्यो। ‘किन लेख्छौ ?’ उल्टो सवाल पो आयो यार। थचक्क बस्दै भने- ‘शब्दहरुसँग किन विद्रोह गर्छौ ? मेरा आनन्दका लागि लेख्न देऊ।’

यहाँ प्रयोग भएको तस्विर अभिदानको हैन है

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

2 Responses to “ओहो ! पंक युवक”

  1. यो विपश्यना शिविरमा हाम्रा देशका नेताहरुलाई पढाउनु पर्छ । यी नेताहरु विपश्यनाबाट आएर राजनीतिक तिर लाग्दा देशमा आमुल परिवर्तन हुन्थ्यो होला ।

  2. निकै डुबेर पढियो । रस उम्दा मीठो निस्कियो । पूर्व र पश्चिमको फ्युजन पो भेटेँ मैले ।