सहजै ऊ गयो

Sun Nov 28 0 Comments

तस्विरः मतिहैस चरदैर
घोत्लिने र सोचमा हराइरहने बानीले कहिले कहीँ मेरो पूरै दिनै कोठाभित्रै बित्छ। आज फेरि अफिस गइनँ, साथीहरु छाडिनु स्वभाविकै भयो। एक्लाइभित्र एउटा परिधि निर्माण गर्नु अनि त्यही परिधिभित्र रमाउँदै र दुःखी हुँदै बाँच्ने जीवनशैलीसँग म अभ्यस्त भइसकेँ। यसले मलाई कतिपय बाह्य विषयबाट अलग पारिरहेछ। प्रतिष्ठा र पैसा कमाउने अवसरले मलाई पछि छाडिरहेछन्। तर यसमा मलाई कुनै ग्लानी छैन। हुन पनि यतिबेला म बर्लिन, जर्मनीमा हुनुपर्ने। तर मलाई यस पटक यूरोप नगएकोमा केही छुटे जस्तो लागेकै छैन। म मेरो कोठामा सोचिरहन पाएकोमै खुशी छु। दिनभरिदेखि मन र मष्तस्किमा एकै कुराले फन्का लगाइरहेछ- म किन यसरी सोचिरहेछु र सोच्ने नाउँमा आफूलाई सोचबिहीन पारिरहेछु। एउटा अमूर्त ढुंगाजस्तो ! मान्छे भए त धड्कन सुन्न सक्नुपर्ने नि म कस्तो निर्जिव चट्टान जस्तो !!

खै किन हो मेरा धेरैजसो दिनहरु यसरी नै बित्न थालेका छन्। साथीसँग भएर एक्लै, परिवार र आफन्तसँग रहँदा पनि एक्लै। घरिघरि त मलाई आफू संसारमा कहीँ नमिलेको अमानव जस्तो लाग्छ। सम्बन्धमा, घर, परिवार अनि अफिसमा पनि। किन हो थाहा छैन तर मलाई सम्बन्ध र साथ एउटा ठूलो स्वार्थका परिधिमा नाच्ने गोमन सर्प जस्ता लाग्छन्। दूध पिलाउन्जेल ती हाँसीखुशी नाच्छन् अनि प्राप्तिको आशा मर्नसाथ डस्नलाई फना फुलाउँछन्। यो बुझाइ र मैले देखेका सम्बन्धका अगाडि उसको प्रेम स्वभाव विशेष छ। सायद त्यही फरकपनले गर्दा हुनुपर्छ मैले उसलाई भेट्नबाट रोक्नै सकिनँ। अझै पनि घरिघरि मलाई त्यो क्षण सम्झेर एकइन्जोय भइरहन्छ। त्यो रात स्काइपको भिडियो कन्फरेन्समा धमिलो देखिएको उसको अनुहार र सबै व्यवहार अब्जर्ब गरेपछि आफैँलाई अझ खुलस्त पार्न चाहेँ – ‘डु यू लभ मी ?’ तर त्यो सुरुवात थिएन। मैले उसलाई केयर गर्न थालेको ४ महिना बढी भइसकेको थियो। र यो मामिलामा उ मभन्दा धेरै अगाडि थियो।

कृष्ण ! तिमी पनि त त्यस्तै छौ नि आफूलाई पर्दा मात्र सिरियस हुने साथीहरुका कुरा कहिलै नसुन्ने-नबुझ्ने, एकलकाँटे। कहिले कहीँ त साथीहरुका कुरा सुनिदिए मात्रै पनि तिमीलाई के नोक्सानी हुन्छ र ! छठ साँझ आइरिस पबमै तिमीलाई यो भन्न चाहेकी थिएँ। सुनाउन चाहेकी थिएँ तर त्यो दिन तिमी कमेडी कलाकार जस्तै देखियौ। अल्कोहल नपिइ बेहोसीमा रमाइरहेको तिम्रो स्वभावले मेरो दुःख बुझ्न सक्ला भन्ने लागेन। अर्को कुरा चाहिँ मैले तिम्रो गुडमुड बिथोल्न नचाहेकी पनि हो। तिमी भन्छौ नि ‘प्रेमले खान दिँदैन, लाउन दिँदैन। प्रेमको चक्कर भुङ्ग्रोमा परिणत भए जिन्दगी जलाएर खरानी बनाउँछ।’ तिमीले जोकमा उडाएर भनेथ्यौ तर आज यही कुराको अर्थभित्र रुमलिँदै मैले अफिस छाडिदिएँ। ग्लोबल वार्मिङको रिपोर्ट, न्यायपालिका सुधारका लागि यूएसएडले च्यानलाइज गर्न लागेको ३ करोड डलरको कार्यक्रम लागि प्रपोजल अनि घानामा हुन गइरहेको लेस डेभलपमेन्ट कन्ट्रिज वाचको कन्फरेन्सका लागि पेपर तयार पार्ने जिम्मेवारीभन्दा मैले आफूलाई प्राथमिकतामा राखेँ। र घरै बसेँ।

अब म सोचिरहेछु आफ्ना बारेमा, उसका बारेमा… एक्लै। लाग्छ अब म उसको नजिक कहिलै पुग्न सक्दिनँ। उसको जीवनका पक्षहरु पछ्याउन सक्दिनँ। उ धेरै कुराले सम्पन्न छ। राइजिङ करिअर, बुद्धि, ज्ञान, अनि दुःखलाई हाँसीहाँसी डिल गर्नसक्ने खुबी, लबिङ- केयरिङ सबै सबै। मसँग हुँदा सधैँ उज्यालो मुहारमा प्रस्तुत हुने उसका चम्किला आँखा र गुणहरु लोभलाग्दा छन्। कुनै ब्युटिसियनले भरपूर क्षमता लाएर मिलाइदिए जस्ता देखिने आँखी भौ भित्रका चम्किला आँखाले सधैँ केही भनिरहे जस्तो लाग्छ। ती आँखामा आँखा जुधाएर जीवन बुझाइका उसका विचार सुनिरहँदा उ एउटा आध्यात्मिक गुरु जस्तो बन्छ अनि म उसलाई सुनेरै ध्यानस्त हुन्छु।

बनावटी कुरा एउटै नगरी/झुटो नबोली सामान्य रुपमै पेश भएर उसले मलाई आफूतिर तान्यो। हुन पनि मेरा हरेक पाइलामा उ साथै हुन्थ्यो- उ स्वार्थी भएर अथवा म अधिक स्वार्थी छु भन्ने कुरा बुझेरै पनि। आज सोच्दैछु कम्तिमा एउटा कुरा पक्का हो बाक्लो पर्दा हालिएको बन्द कोठाजस्तो मेरो जीवनलाई अहिलेसम्म उसले जति अरु कसैले नियाल्न सकेको छैन।

हरेक विकेन्डमा सेभ्रोले कारमा डुलाउन लगिरहने बाबा मेरा लागि संसारका उत्कृष्ट पुरुष हुन्। तर अब म उहाँको मायामा सन्तुष्ट भएर यही घरमा जीवन काट्न सम्भव छैन। मेरा लागि र बाबाका लागि पनि। यसपछि मात्र मेरो मनमा आइपुग्छ उ। अनि मस्तिष्कमा नाच्छ उसको रफ इमेज। लाग्छ बाबा र परिवारले मप्रति यति भरोसा र आशा नगरेको भए नि हुन्थ्यो नि ! हुन त यो सबै मैले बाबाका बारेमा मनैमन पालेको काल्पनिक सत्य मात्रै पनि हुनसक्छ। तर एउटा कुरा सत्य हो उसको गरिबी टोलोरेट गर्ने सामर्थ्य मैले आजसम्म जुटाउनै सकिनँ। जुटाउथेँ होला त्यो बाटो ठिक हो भन्ने आत्मविश्वासमा दृढ रहनै सकिनँ। सबभन्दा खतरनाक कुरा चाहिँ यो मेरो बुझाइ उसले अनुभव गर्नु नै रह्यो जस्तो लाग्छ। सबै थाहा पाइसकेपछि एक रात घृणा, द्वेश र प्रतिशोध नलिइ शान्त स्वरमा भनिदियो-

‘तिमी बाबाको सपना पूरा गर। मेरो जीवनको दुःख म आफैँ झेल्छु। कसैको बोझ भएर बाँच्नु लाचारी हो। मेरो गरिबीको बोझ म एक्लै उठाउँछु; तिमी राम्रो गर्नु…’

फोनमा बोलिरहँदा उसको स्वरमा घमण्डको कुनै भाव थिएन बरु एउटा गहिरो पीडालाई प्रेमले छोपेर ऊ खुलस्त भइरहेथ्यो। मलाई लाग्यो अब धेरै कुरामा स्वतन्त्र भएँ, बाबाका लागि जीवनभर प्रिय रहने भएँ। आखिर ! ठिकै भो परिवारसँग रिभोल्ट गरेर मैले उसँग पाउने कुरा नै के पो थियो !?

बिहान उठ्दा मन बोझिलो थियो एउटा डरलाग्दो सपनाबाट ब्युँझे जस्तो। जिउ थरर्र काम्यो। ओहो ऊ त गयो !! कति सहजै !!?

***
अब यो अप्ठ्यारो बिन्दूमा सबै बल निकालेर म अझ व्यवहारिक बन्न खोजिरहेछु। अझ कठोर ढुंगाजस्तो बन्न चाहिरहेछु। म चट्टानजस्तो कठोर बन्छु ऊ सङ्लो पानीजस्तो निर्मल भएर छचल्किन्छ। त्यो पानीको थोपा आकारहीन रुपमा निरन्तर अघि बढिरहँदा पो म झस्कन्छु।

पानी त चट्टानभन्दा कठोर हुँदो रहेछ !