सिद्धार्थदेखि बुद्धसम्म


‘बाबुआमा र गुरुले त केही समय डोर्‍याएर तिमीलाई चौबाटोमा छोडिदिन्छन्’, बुद्ध १० वर्षपछि शुद्धोधनको दरबार फर्किएर छोरा राहुललाई जीवन जगत्‌को यथार्थता सम्झाउँदैछन्- ‘त्यसपछि आफ्नो भविष्यको अविष्कारक आफैँ बन्नुपर्छ।’ कोनराड रुक्सको निर्देशनमा हलिउडमा बनेको ‘सिद्धार्थ’ हेरेको भोलिपल्टै ‘सिद्धार्थ गौतमदेखि बुद्धसम्म… एक यात्रा’ नाटक हेर्न म गुरुकुलमा छु। तीन सय क्षमताको रिमाल थिएटरमा खचाखच दर्शक सामु २५ सय वर्षअघि झैँ बुद्ध आफ्ना शिष्य आनन्दलाई भन्दैछन्- ‘मान्छेले आफू हिँड्ने बाटो आफैँ बनाइरा’हुन्छ। उज्यालो वा अँध्यारो जता पनि।’

काठमाडौं अन्तरार्ष्ट्रिय नाटक महोत्सवका लागि सिर्जना सेवा समिति सिक्किमले प्रस्तुत गरेको सिद्धार्थ गौतमदेखि बुद्धसम्म भन्ने शीर्षकले नै कथावस्तु खुलाइसकेको थियो। दरबारमा जन्मेको एउटा सामान्य मान्छेले कसरी बोधी जगाएर बुद्धत्व प्राप्त गर्न सक्छ भन्ने देखाइने होला !? यस्तै ठान्दै गुरुकुल पुगेको थिएँ तर नाटक अलि भिन्न रहेछ। स्टेजमा उभिएका भिक्षुहरुले माला जपेर, मन्त्र उच्चारण गरेर अनि शास्त्र पढेर बुद्धत्व प्राप्तिको कोसिस पो गरेँ। र सबै प्रश्नको जवाफ शास्त्रले दिने तर्कमा ढुक्क भइरहे। ‘तिम्रा सबै प्रश्नको जवाफ शास्त्रले दिनेछ’, प्रेमिका इच्छुमतीको सम्झनामा तड्पिरहेको निलोहितको दुःखको कारण पनि शास्त्रमै खोज्न आनन्दले सुझाएका थिए। बरु यो विषयमा बुद्ध आफैँ सहमत हुन सकेनन् र एउटा लामो यात्रा पार गर्दै कपिलवस्तु फर्किए।

शरीर क्षेत्रका काम सुख भ्रम हुन वा हैनन् भन्ने प्रश्नमा भड्किरहेका बुद्धलाई श्रीमती यसोधराको वाणिले नै बुद्धत्व प्राप्तिसम्म डोर्‍याएको दृश्य नाटकमा छ। छोरा हुर्काउने कामलाई प्राथमिकतामा राख्दै गृहस्थ जीवनमै बसेकी यसोधरा बुद्धत्व प्राप्तिलाई सर्वोपरि ठान्दै घर छाडेका सिद्धार्थभन्दा बढी सन्त लाग्छिन्। ‘संसारको सत्य हिजो जे थियो आज त्यो हुनेछैन; त्यो बेला म जस्ती थिएँ अहिले त्यस्ती छैन’, परिवर्तन भौतिक जगत् (शरीर पनि) को सत्य भएको उल्लेख गर्दै यसोधराले सिद्धार्थलाई सम्झाउछिन्- ‘तिमी दश वर्षअघि आएको भए मान्थेँ होला तर अब यो मबाट सम्भव छैन।’ तिल्चाम्ले केश फुलिसकेकी यसोधराका वाणिले सिद्धि पाइसकेका भनिएका सिद्धार्थको मनमा नयाँ झड्का लाग्छ। र, दोस्रो पटक उनी शुद्धोधनको दरबार छाडेर बुद्ध बन्न हिँड्छन्। सिद्धार्थ गौतम त्यसपछि मात्र बुद्ध बनेका हुन् भन्ने दृष्टान्त नाटकमा छ।

विपिनकुमारले निर्देशन गरेको नाटकमा इच्छुमतिको भूमिका निर्वाह गर्ने केटी र उनका प्रेमी निलोहितको भूमिका गज्जब छ। भिक्षु आनन्दको भूमिका पाएका हेन्डसम कलाकार ठिकै लाग्छन् भने अरु सबैले एभरेज अभिनय गरेका छन्। नाटकको बीच बीचमा बुद्धम शरणम् गच्छामी… धम्मम् शरणम्… गच्छामीको ध्वनिले थिएटर गुञ्जायमान हुँदा दर्शकलाई आनन्द लाग्छ। समग्रमा ‘सिद्धार्थ गौतमदेखि बुद्धसम्म… एक यात्रा’ आहा! भन्ने छैन तर यसले बौद्ध परम्पराका केही मानकहरुमाथि उठाएका प्रश्नहरु सोचनीय र खोजनीय छन्।


५ डिसेम्बर २०१० को नागरिकमा प्रकाशित फोटो।

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

One Response to “सिद्धार्थदेखि बुद्धसम्म”

  1. bastab mai sochniya ra khojniya ho yo kura…..