के छैन अमेरिकामा ?

Wed Jan 5 0 Comments

तस्विर सौजन्यः statueofliberty.org

मेरा धेरै साथीभाइ इष्टमित्र तथा आफन्तहरु यहीँ अमेरिकामा छन्। कसैले ग्रिनकार्ड पाएका छन्, कोही नागरिक नै भएका छन्। म डायलस एयरपोर्टमा निर्धारित समयमा उत्रँदा त्यहाँ मलाई लिन एकजना होचो कद गरेको भाइ उपस्थित थिए। ‘आर यू मीस्टर पोखरेल ?’ इ सिक्स्टिन नम्बरको काउन्टरमा मलाई लिन पर्खिने ती भाइ वीरगञ्ज घर भएका रोशेन पोखरेल रहेछन्। साथी किशोरले मलाई लिन पठाएको। सुरुमा म रोशन भाइकैमा पाहुना भएर कैद भएँ। हिँडेर जाने ठाउँ थिएन। लमतन्न गज्याङ-मज्याङ र खम्चिएका अलकत्रे चौडा बाटाहारु, अनवरत दगुरिरहेका राँकेभूतजस्ता गाडीहरु मेरा लागि प्रारम्भिक नौला जिज्ञासा थिए। अरु नेपालीजस्तै म पनि डलर कमाउने अमेरिका आएको। त्यसैले डालसका गगनचुम्बी महल र ह्विस्टनको अन्तरीक्ष केन्द्रले मलाई आकर्षित नगर्नु स्वभाविकै भयो। मैले चाहेको डलर थियो। म त्यही कमाउन चाहन्थेँ र नेपालमा रहेका सन्ततिको पढाइमा सघाउन चाहन्थेँ।

सबै साथीले मलाई कोर्सिकाना भन्ने गाउँमा तालिमका लागि भनी पठाए। कोही कसैसको समस्यासँग परिरिचतसम्म हुन नचाहने यो ठाउँमा साथीहरु मलाई पन्छाउन चाहँदैछन् झैँ लाग्यो। नेपाल हुँदाको मेरो मिल्ने साथी अस्टिन सहरमा बस्छ। उसलाई जागिर खोजिदे भनेको अमेरिकाका ठूल्ठूला गफ लडायो तर काम खोजिदिएन। दुई महिनामा मैले कामै नगरी कर्सिकानामा बिताए। लाग्यो संसारमा कोही कसैको रहेनछ, झन् अमेरिकामा त कोही हुनै सक्दो रहनेछ। मैले यहाँ बसेर नेपाल धेरै सम्झिएँ। सधैँ लाग्थ्यो मैले जीवनमा धेरै दुःख गरेको छु। नेपालको गाउँले जीवनको कस्ट सारै ठूलो हो। यो दुई महिनामा मैले डलर त कमाइन तर शारीरिक र मानसिक प्रताडनापछि एउटा दिव्यता प्राप्त भो- ‘नेपालमा मैले कहिलै दुःख गरेको रहनेछु।’ दिनभरि खेतमा काम गरेपछि घर फर्कंदा आमाको मीठो मायामिश्रित तातो भात हुन्थ्यो। यहाँ त्यो जीवन कहाँ ?

यहाँ आउनुभन्दा अघिसम्म यहाँ विभिन्न स्टेटमा रहेका मेरा आफन्त रमाइलोसँग बसेका छन् भन्ने मेरो ठम्याइ हुन्थ्यो। तर विस्तारै मेरो धाराणा फेरियो। कोर्सिकानामा दुई महिना पीडा भोगेपछि म नेपाल फर्कने निष्कर्षमा थिएँ। जब घर सम्झन्थेँ; श्रीमती र छोरीहरुको इमेज आँखा अगाडि घुम्न थाल्थ्यो। म भावविहवल हुन्थेँ। झल्यास्स सम्झिन्थेँ अमेरिका आउने उपक्रमका कथाहरु। बिराटनगरको घर अनि ऋण। फेरि थचक्क बस्थेँ। दुई महिना जति बिताएपछि लाचार भएर फेरि डालस फर्कें किशोरको अपार्टमेन्टमा। हरिया वनभित्रका राम्रा अपार्टमेन्ट, चिल्ला काला सडक, गाडी र आधुनिक वैभवसँगै डायलस सुत्थ्यो र उठ्थ्यो। म भने किशोरको अपर्टमेन्टमा टिभी हेर्ने र दिउसै सुत्ने कर्म गर्दै दिन बिताउन बाध्य थिएँ।

धेरैतिर भौतारिएपछी फेरि डालस फर्केर उसकै सल्लाह अनुसार मैले नेपालबाटै ल्याएको पैसाले एउटा गाडी किनेँ। त्यसपछि हो यो अहिलेको जागिर पाएको। यो एउटा स्टोरको जागिर हो। नेपालमा क वर्गको जीवन बिताउने सयौं मानिसहरु यहाँ वर्गबिहीन काम गर्दारहेछन्। अब बल्ल म अमेरिकाबाट फर्किएकाहरुले काठमाडौंमा दिएको फुइँ र दम्भको अर्थ बुझ्दैछु।

स्टोरमा धेरै देश, भाषा र विचारका मानिसहरु आउँछन्। यहाँ कुनै समाज छैन। र यहाँ कोही कसैको छैन, सबै नितान्त एक्लै छन्। यहाँ कोही श्रीमती हैन र कोही कसैको श्रीमान् हो भन्ने विश्वास पनि छैन। तत्कालीन स्वार्थ र आवश्यकताले सम्बन्धहरु डोरिएका छन्। यहाँ मान्छे फगत एउटा मेसिन हो। खासमा यहाँ मानवता छैन, मानव अस्मिताको कुनै शेष बाँकी छैन। यहाँ केही छ भने त्यो डलर मात्रै हो। डलर अमेरिकाको आकर्षण हो। डलर अमेरिकी समाजको दिव्यता हो र यसले अमेरिकी समाजलाई वर्गबिहीन बनाएर अघि बढाइरहेछ।

अमेरिकाको खोक्रो वैभव नजिकबाट देखेर/भोगेपछि म घरिघरि घर फर्किने बारे सोच्न थालेको छु। जीवनका हरेक मोडहरु आ-आफ्नै पाराका रइमाला/नरमाइला हुँदा रहेछन्। जिन्दगी बनाउने/बिगार्ने कुची आफ्नै हातमा छ छैन भन्ने कुरा छलफलकै विषय होला। कैयौं युगपुरुषहरुले युगलाई डोर्‍याएर बाटो देखाए। मैले त्यस्ता धेरै पाठहरु पुस्तकमा पढेँ र विद्यार्थीलाई पढाएँ। अब लाग्दैछ त्यो सब ज्ञान जीवनमा कहिलै उतारिनछु। अमेरिका आउने अधिकांश मान्छे तिनै मान्छै हुन् जो युगलाई बाटो देखाउन सक्दैनन् र युग आवश्यकताको भेलमै डुबुल्की लाएर यो होमन्द दुःख भोग्न तयार हुन्छन्।

टियुमा हिस्ट्रीका प्रोफेसर खेमराज पोखरेलको तेस्रो पुस्तक ‘सबैथोक छ, केहीछैन’ बाट उदृतांश।

Leave a Reply

Your email address will not be published. Required fields are marked *