परिचित बाटो, अपरचिति यात्रा

उत्तमबाबु अघिल्लो पटक आउँदा जाभाको कफी मिटिङ। तस्विरः उमेश


‘दिस इज योर सर्फेसियल इन्टोडक्सन’, फलनो ठाउँमा काम गर्ने फलानो मान्छे। पहिलो भेटमा त्यो भन्दा बढी के भन्नु त । मैले क्यानेडियन ठिटो मार्कलाई त्यही भनेँ। उसले मलाई सुरुवातको वाक्य फर्कायो। सामान्य ग्रिटिङका लागि समेत हग, किस र छटपटीमै पनि ‘नाइस टु मिट यू’ भनेर देखावा प्रदर्शन गर्नैपर्ने समाजबाट आएको मार्क भिन्न रहेछ। वास्तविकताको लेभलमा परिचय खोज्यो। एकछिन सोचमग्न भएँ। ‘मान्छेभित्र आस्था हुन्छ, अध्यात्म हुन्छ, विश्वास हुन्छ’, उसले खोज्न चाहेको परिचय सुनायो- ‘त्यो कुरा कसैको परिचय हुनसक्छ।’ ठिक छ नि त। आस्था, विश्वास अनि अध्यात्म ३ वटै विषय खोज्न मैले अमेरिका वा क्यानडा जानु पर्ने थिएन। खुइँ खुइँ भन्दिएँ। जीवनको सामाजिक यात्राका गतिविधि बढ्दै गर्दा आज एउटा अध्यात्मिक भेलामा उ सहित भिक्षु प्रज्ञा र केही युवासँग चिनजान भएथ्यो। यसमा आफ्नै खालको लाभ हुने नै छ।

अब यस्ता भेला, मिटिङ अनि औपचारिक गतिविधहरु केही समयका लागि बढ्दैछन्। गोरखा र पर्वतमा थालेको पुस्तकालय स्थापनाको योजना छिटै पूरा गर्नुछ। मैले जीव विज्ञानबारे वैचारिक बहस गर्ने सीमित मान्छे मध्येको एक बोस्टनबासी उत्तमबाबु काठमाडौं फर्किएको छ। नारायण लन्डनको यात्रापछि काठमाडौं फर्किएको छ। हाम्रो सामाजिक अभियानको भविष्यलाई लिएर सम्भवत आउने टी पार्टीहरुमा प्रशस्त छलफल हुनेछन् र निष्कर्षहरु निकालिनेछन्। ‘जति बेला जहाँ भने पनि मसँग समय हुनेछ ‘, काठमाडौं अवतरण गरेकै दिने आज मैले उत्तमबाबुलाई फोनमा मिटिङ पोइन्टको चोइस दिएँ। पुस्तकालय अभियानसँग जोडिएका अन्य संघसंस्थासँग पनि मिटिङका श्रृङ्खलाहरु चलिरहेका छन्।

सम्भवतः छिटै एउटा अमेरिकी संस्थाले आयोजना गर्ने स्प्रिच्वालिटी सम्बन्धी अन्तरार्ष्ट्रिय कन्फरेन्समा सहभागी हुनु पर्नेछ। अमेरिकी र क्यानेडियन सिनेटर र यूएन प्रतिनिधसँगको त्यो कार्यक्रममा मेरो स्प्रिचुवल प्रेजेन्टेसनले केही अर्थ राख्छ वा राख्दैन म निश्चित छैन। अष्ट्रेलिया, क्यानडा, अमेरिका, पाकिस्तान, उज्वेकिस्तान, इन्डिया, वेलायत सहित २२-२५ देशका सहभागी कस्ता हुने हुन् मैले कल्पना पनि गरेको छैन। म मात्र आफ्नो बाटो क्लियर पार्ने कोसिसमा छु। बस्। लाग्दैछ प्राथमिकतामा पार्दिन भन्दा भन्दै फेरि म तिनै खोक्रो औपचारिकतातिर बरालिँदै गएको छु। तीबाटै घेरिँदै गइरहेको छु।

***
हामीले बनाएको पुस्तकालयका कारण एउटा विद्यार्थीले आफ्नो जीवन फेर्न सक्यो भने मात्रै पनि त्यो ठूलो उपलब्धि हुनेछ भन्ने ग्राउन्ड बुझाइले काममा लागिरहेछु। औपचारिक कार्यक्रम र मिटिङहरुलाई सधैँ अभोइड गरेर सामाजिक काम गर्न अप्ठ्यारो पर्ने रहेछ। सामाजिक काम र (इन्टरनेट) मिटिङहरु एक अर्काका पूरक हुँदा रहेछन्। गाउँका स्कूलहरुमा लाइब्रेरी बनाउन यस्ता मिटिङहरुमा बरालिनै पर्ने रहेछ। हामीले यस्तो गरेका छौं, त्यस्तो गरेको छौं, हाम्रो टिममा फलना-चिलना विशेष मान्छेहरु छन्; हामीसँग यो देशको मुहार फेर्ने यस्तो त्यस्तो भिजन छ भनेर डोमिनेन्ट भोइसमा भड्किला गफ दिँदा नै सबै काम सहजसँग सम्पन्न हुँदो रहेछन्। यस्तै मिटिङहरुमा बरालिँदा नै गाउँका स्कूलहरुमा लाइब्रेरी बन्न सक्दा रहेछन्। मलाई केही संस्थाका प्रतिनिधहरुको बुझाइको तह देखेर दया/रिस जागेर आउँछ जो विश्वास निर्माणको आधार भड्किला गफलाई ठान्छन्; नातावादलाई ठान्छन्; चाकरीवादलाई ठान्छन् अनि आफ्नो लाभ/हानीलाई ठान्छन्। कन्ट्रोभर्सियल लाइफ स्टाइलको यो रोमान्टिकपनमा आफूलाई अभ्यस्त पार्ने कोसिसमा म हेरिरहेछु यी सबै विषय सकेसम्म न्युट्रल बनेर। बुझ्ने कोसिस गरिरहेछु वास्तविक फेनोमेना; एउटा फोकसआउट फोटोजस्तै। जहाँ कुनै इमेज हुनु वा नहुनुको अर्थ उति नै हुन्छ। शून्य।

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

One Response to “परिचित बाटो, अपरचिति यात्रा”

  1. Very nice project you are doing Krishna :)).