फेरि यो दिन सम्झन चाहन्छु

पूर्णिमाको पूर्णचन्द्रमा टहटह चम्किरहेछ। छतमा निस्केर म काठमाडौं सहरतिर आँखा घुमाइरहेछु। चन्द्रमा जति जति पश्चिमतर्फ सर्दै गइरहेछ बोधिमण्डलको वातावरण त्यति शान्त र मनोरम हुँदै गएको छ। ५ वर्षपछि क्यालेन्डर फेरिँदा म यो पटक केही बढी नै शान्त थिएँ। १७ मे २००६। धम्मश्रृङ्गमा म पहिलो पटक ध्यान गर्दै थिएँ। रमाइलो संयोग त्यही मितिमा आज बुद्धपूर्णिमा परेछ। सञ्चो अनुभव नगर्दै पनि त्यहाँ पुगेँ। र केही घण्टा ध्यानपछि फर्किएँ। आराम अनुभव गरिरहेछु।

जे जस्तो तर्क-कुतर्क, इच्छाहरुको दास भए पनि शान्ति र आनन्दको जीवनयापन कसको रोजाइ हुँदैन र ? जुनसुकै पेशा, व्यापार, झुटमुटका अनुयायी, भ्रष्टाचारी सबै शान्ति चाहन्छन्। आनन्दको उत्कृष्ट जीवनयापन चाहन्छन्। सब चाहन्छन् उज्यालो जीवन। चाहनु पनि पर्छ; मिहिनेतपूर्वक कमाउनु पनि पर्छ। तर वास्तविकताको तहमा शान्तिको जीवनयापन गर्न कति पैसा भए पुग्छ ? कस्तो व्यापार वा जागिर भए पुग्छ ? कुन भाषा वा संस्कृतिमा ह्याबिचुवेट हुनुपर्छ ?

इन्टरनेशनल फ्लाइट/इमिग्रेसनहरुमा ‘एजियन’लाई ह्युमिलेट र अमेरिकनलाई जति नै छुट दिए पनि मैले देखेँ अमेरिकी युवायुवती जीवनका दुःखमा छटपटाइरहेको। अननेचुरल लाइफस्टाइलले उत्पन्न गराउने विकारहरुका अनगिन्ती लेयरमा बेरिएर आफैँभित्र उत्पन्न हुने इगो, द्वेश र दुर्भावनामा जकडिएर पीडा सहन नसकी डाको छोडेर रोएको। मैले देखेँ ब्राजिली पत्रकारलाई अमेरिकाको ख्यातीप्राप्त ग्लोबल मिडियाको प्रतिष्ठाले पीडा र छटपटीबाट मुक्ति दिन नसकेको; शान्त पार्न नसकेको। मैले देखेँ लन्डनको राम्रो परिवारमा जन्मेर बेस्टसेलर बनेकी लेखिकाले आफ्नो बौद्धिकता र दार्शनिक ज्ञानको शक्तिका आडमा जीवनमा शान्तिको बुँद पनि ल्याउन नसकेको। मैले देखेँ सुख प्राप्तिको बाहनामा वाइन/गाँजा/चरेस/नसालु पदार्थसँग लठ्ठिएर रियल लाइफबाट भाग्ने म्याड्रिड निवासी हिप्पीहरुको छटपटी। पीडा र बेहोसीले आफ्नै जीवनलाई अन्याय गरेको/अरुको जीवनलाई अन्याय गरेको। ओहो! जीवन!! यी कुनै मान्छेसँग मेरो केही द्वेष वा घृणा छैन; सबैप्रति करुणा छ।

मैले देखेँ हार्डवर्ड पीएचडी, प्रशसस्त सम्पत्ति र बाह्य प्रतिष्ठाको कुनै कमी नभएका रुप ज्योतीले बडो प्रशन्नसँग सामान्य भोलन्टियर भएर काम गरेको; मैले भेटेँ बजारे सुखका अनन्त क्षेत्र त्यागेर ध्यान गर्नका लागि लन्डनदेखि नेपाल-इन्डिया आएका एलेक्स-अमान्दाको स्प्रिचुवल कप्पल। मैले देखेँ बिजनेस म्यानेजमेन्टको ग्र्याजुएट अमेरिकन ठिटो क्रिस जो नेपाल-इन्डियामा बस्न चाहन्छ या सानफ्रान्सिस्कोमा सेन्टर स्थापना गर्न। मैले भेटेँ बार्सिलोनाको सिमोन जो ध्यानसँगै अध्यात्मलाई अझ गहिराइमा पुर्‍याउन हिन्दी-संस्कृत भाषामा दक्खल बढाउन चाहन्छ। त्यसैले हिजोआज कहिले कहीँ सोच्छु कस्तो जीवन बाँच्ने ? सामान्य जवाफ – आफ्नो-आफ्नो बुद्धि, आफ्नो-आफ्नो विवेक। आफ्नो-आफ्नो पुण्य, आफ्नो-आफ्नो पारमी।

र कहाँ पुगे चाहिँ दुःखले देख्दैन/भेट्दैन ? अमेरिकन होउ या वेलायती, नेपाली होउ या स्पेनी। अफ्रिकन होउ वा चाइनिज जहाँसुकै बस, जेसुकै गर केही फरक छैन। सबका सबको जीवन दुःखका लेयरहरुले बेरिएको छ। हो, चिलीको रिनाल्डो फरक थियो। वेलायती अमान्दा फरक थिइ। ज्योती फरक थिए। र फरक थियो अमेरिकन क्रिस। ‘जसरी वायुमण्डलमा बादल मडारिएर आँधी तुफान आउँछ, कहिले पानी पर्छ, कहिले बादल हटेर छ्याङ् हुन्छ, कहिले शीतल हावा बहन्छ’, उसले साधनाको परिणाम सुनाएको थियो- ‘न शीतल हावा बहँदा आकाश खुशीले मात्नछ न त तुफान आउँदा डरले काँप्छ। जेसुकै आवस् आकाश स्थिर रहन्छ। यस्तै अनुभव गर्छु जीवनमा।’

विश्वका फरक देश र परिवेशका यी सब पात्रहरुको जीवनलाई अलिकति नजिक पुगेर नियाल्न कोसिस गर्छु। लाग्छ यात्रा बडो लामो छ। र म बच्चै छु। सिक्दैछु। चिन्ता छैन; कम्तिमा बच्चा त छु। त्यसैले स्यालुट यो मे १७ लाई; स्यालुट त्यो मे १७ लाई।

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

No comments yet... Be the first to leave a reply!