ससुराली राम्रो; साली हुनाले !

Fri Jun 10 0 Comments

रिजर्भ गरिएको एउटा महिन्द्रा जीप ढिमुवा (पर्वत)बाट हाइवे छाडेर तिल्हारको उकालो लाग्दा मेरा आँखा हरियो जंगल र अग्ला पहाडसँग बरालिरहेछन्। मन प्रशन्न भए पनि शरीरलाई सञ्चो छैन। संविधानसभाको मिति थप्ने दिनदेखि रुघा, खोकी ज्वरोसँगै स्वर यसै भासिएको छ। तैपनि पुस्तकालय सञ्चालनको मिति पछि नसार्न जिद्धि कस्दै हिँडेको; पहाडको शुद्ध अक्सिजन लिने अवसर मिल्यो। निलो आकास मुनि जंगलै जंगल उकालो चढ्न कस्तो आनन्द ! त्यो भन्दा आनन्दको कुरा पञ्चासे स‌ंरक्षण नजिकैको पशुपति स्कूलमा आजदेखि पुस्तकालय सञ्चालनमा आउँदैछ।

रति खोला हुँदै हामी चढेको जीप पशुपति स्कूल राम्जातर्फ गुडिरहँदा मैले पारिको कुस्मा सहरतर्फ आँखा दौडाएँ। कुस्माको उत्तर-पश्चिम कुनोबाट हिमालको एउटा सानो चुचुरो देखियो। सायद अन्नपूर्ण हुनुपर्छ। डाँडा पारिको ट्रेकिङ रुट र महावीर पुनको नागी गाउँ त्यतैपट्टि हो क्यारे। ‘उ त्यतै हो’, कुस्मा पूर्वको एउटा गाउँतिर औंलो र आँखा सोझ्याउँदै सिर्जनाले मामाघर देखाइ। काठमाडौं कलेजको विदा मनाउन आएकी उ बाबाको पुर्ख्यौली घर भएको यो गाउँ चाहिँ पहिलो पटक आएकी रे !

भुवन नामको ड्राइभरले घ्याच्च गाडी रोक्यो। ‘सर एकैछिन यो स्कूलमा छिरौं है’, एनआरएन एशिया प्यासिफिक क्षेत्रका उपसंयोजक रुद्र शर्माले एउटा सानो स्कूल निरीक्षण गर्न आग्रह गरे। स्कूल साँच्चै सानो रहेछ ७०-७५ जना विद्यार्थी भएको प्राथमिक स्कूल। स्कूलको बोर्ड पनि ए-फोर साइजभन्दा अलि ठूलो मात्रै छ। पूर्व सीडीओ भोलानाथ शर्मा सहितको हाम्रो टिमसँग विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरु कुरा गर्दैछन्। काठमाण्डूको एउटा समाचार भरियालाई विद्यालय सञ्चालनको फेदटुप्पो के थाहा ! म अक्क न बक्क परेर सुनिरहेछु। चुपचाप। पर्वत जिल्ला शिक्षा कार्यालयका अधिकृत कृष्ण आचार्य पनि हामीसँगै छन्। बरु उनले थाहा पाउलान् यहाँ के के छ ? के के छैन ?

सय थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम फैलिएको मेची-महाकाली…

पाहुना आएको थाहा पाएर होला रेलको डिब्बा जस्ता कक्षा कोठाभित्रबाट विद्यार्थीले ठूलो-ठूलो स्वरमा राष्ट्रिय गान गाएको सुनियो। उमेशले आइफोन निकाल्यो र बैठक कक्षबाट बाहिरियो। सम्भवतः राष्ट्रिय गीत गाउनेहरुको फोटो खिच्यो होला। मैले प्रिन्सिपलको कोठाको यताउता आँखा दौडाएँ। भित्तामा टाँगिएको एउटा सन्देश सहितको पोस्टरमा मेरा आँखा टक्क अडिए। पढेपछि हाँसो किन थामिन्थ्यो र !

खेत राम्रो – आली हुनाले 🙂
फूलबारी राम्रो- माली हुनाले 🙂
मन्दिर राम्रो- काली हुनाले 🙂
ससुराली राम्रो- साली हुनाले 🙂 🙂

विवेक चिलिम प्रिन्सिलिपल क्या क्रिएटिभ 🙂

***
एउटा खबर- टिचरमा विवेक भर्न, विद्यार्थीमा बुद्धिको बिज रोप्न अगष्ट (२०११) भित्रै पर्वतमा स्थापना हुँदैछन् थप १३ पुस्तकालय। त्यसैले मन प्रफुल्ल छ- यो नीलो आकास मुनि अझै हिँड्नुछ। यी डाँडाकाँडा र भञ्ज्याङमा अझै उकाली-ओराली गर्नुछ।

यसरी सुरु भए दुई पुस्तकालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *