काम ही करना हे ना

शारीरिक फुर्तिको कुनै सीमा छैन। स्लिम हुन त ठाउँ बाँकी नै के थियो र तै पनि तौल घटेको अनुभव भइरहेछ। नहोस् पनि किन ! झन्डै ६ महिनादेखिको एउटा योजनाबद्ध सदाचारयुक्त प्लेन लाइफ ! अनि त्यहीँमाथि केही दिनयताको एक पटक मात्र थोरै खाना-खाजा र कडा कागतीपानीको खाना ! स्पेसल परिणाम अनुभव गरिरहेछु- फूलजस्तो चंगा दिमाग र फराकिलो मन। म प्यागोडा सिँडीबाट तल ओर्ले‌‌। झन्डै एक वर्षपछि धम्मश्रृङ्गङ्गमा सिरियस समाधी सकेर फर्किनै लाग्दा खबर सुनियो- आज काठमाडौं बन्द छ। सधैँ देखिने ध्यानी ओसार्ने हायस माइक्रोबस एउटै रहेनछन्। १० दिने शिविरका झन्डै ३ सय ध्यानी र गम्भीर साधनाको हाम्रो शिविरका ३९ जना साधकहरु बाहिर निस्कँदा धम्मश्रृङ्ग अफिस क्षेत्र भीडभाडपूर्ण छ। सबको अनुहारमा तेज छ। सबै खुब खुशी छन्।

म चाहिँ मनमनै सोचिरहेछु- कसको बन्द हो आज ?
‘तिनै अयोग्य लडाकूले गरेको। खास बन्द छैन; एकछिनपछि सबै चल्छ’ नागरिकन्युज डेस्कबाट ऋशिकेशको अपडेट आयो- ‘प्रधानमन्त्रीले भोलि राजीनामा दिन्छन् जस्तो छ। अरु खास केही डेभलप्मेन्ट छैन।’ मैले यही खबर बाँडेँ। बन्द नहुने रे भन्दा सबैले राहत महसुस गरे।

‘यतै भोजन गरेर जानु न त’, मेरो साथी एवं धम्मश्रृङ्गमा भोलन्टियर कोर्डिनेटर निजलको आग्रह। ‘हेरुँ ! एक छिन के हुन्छ !’ भर्खर साढे ६ बजेको खिर खाजाले टन्न छु। ११ बजेको लागि पो प्रस्ताव आयो। घर पुगेर ‘अपनि हात से बनाये हुवे’ 🙂 खाना खाने सामान्य इच्छा छ।

***
पत्रकारे काममा विदा मिलाए पनि एउटा लोभलाग्दो अवसरले मलाई झन्डै अल्झाएको। तर म आफ्नो बाटोमा क्लियर थिएँ र डिटरमाइन्ड पनि। त्यसलाई सहजै त्यागी दिएँ। यहाँ आएको बडो लाभी अनुभूत गरिरहेछु। अब काममा फोकस हुने सोचमा छु। तत्काल सिध्याउनु पर्ने काम छन्- माइसन्सार फाउन्डेसनको काम, थेसिस र बैंकर्सहरुलाई दिने प्रेजेन्टसनको तयारी। नागरिकन्युजको रिडजाइनको कनसेप्ट फाइनल र अन्य रेगुलर काम त छँदैछ। ‘ह्या…. सेन्टरबाट निस्कन पाएको छैन फेरि कामको हुटहुटी !? ठिक हे भाइ- ‘काम ही करना है! बढी मिनिहनेत करनी है!!, पुरुषार्थ करना है!!! 🙂 और समय मिले तो ड्राइभिङ भी सिखना है, लाइसेन्स लिना हे 🙂

‘लाइफ पे ओभर इम्पोज मत करना। ये मसिन नही…ना…:) तु जान्ता हे ना… अन्दर छोटा सा हार्ट चल्ता हे !’ 🙂 🙂 मलाई मेरै अर्को मनले सम्झायो। शरीरमा प्रशन्नताको लहर चल्यो।

***
‘तिमी चाहिँ मसँगै जाउँ नँ’, मैले पहिलै अस्वीकार गरिसकेको आग्रह उनले फेरि दोहोर्‍याए। त्यो एउटा दाम्मी भोक्सवागन गाडी चढ्ने आग्रह थियो। तर मैले त्यसअघि नै सोचिसकेको थिएँ- यी मान्छेबाट म पहिलै बेनिफिटेड छु र यो भन्दा बढी लिनु हुन्न। कारण : उनी यहाँ आउनु नै मेरो लाइफको एउटा कोशेढुंगा थियो; जसमा म सफल थिएँ। खुशी अनुहार र कृतज्ञ चित्त लिएर मैले फेरि विनम्रपूर्वक भनेँ- ‘एक छिनमा पब्लिक भेइकलमा चलिहाल्छ। फर्की हाल्छु नि ! सेन्टरकै गाडीले पनि छोड्दिन्छ’, मैले आफू सहज अवस्थामा रहेको अनुभव गराउन खोजेँ।

‘बाहिर बन्द छ। तिमी कसरी जान्छौ नि ?’ उनको आवाजमा गाडी हुनुको घमण्ड हैन करुणा भाव मात्रै थियो। मुस्काएँ। असमञ्जस्यपूर्वक सोचेँ- ‘झुकावसँग जिद्दी लिनु इग्नोर हो। जो माइन्डको उच्च विकारसँग इनबिल्ड भएर रहन्छ’, छिनभरमै मैले आफ्नो निर्णय चेञ्ज गरेँ। म चढेको एउटा नयाँ भोक्सवागन कार महाराजगञ्जतिर सोझियो। यातायात साधन नपाएर के भो त ! मैले एकजना करुणामयी साधक पाएँ। ८ बजे नै घर आइपुगेपछि फेरि सोचेँ- कस्तो करुणा!

रियलाइजेशन
जीवन बुद्धिको रुलरले नाप्न नसक्ने एउटा अदभूत क्षेत्र रहेछ। बदलिने यसको स्वभाव झनै अदभूत छ। अधिकांश मान्छे कुनै वाद, सिद्धान्त, पुस्तक वा अमुक फिल्मका पात्र तथा समाजका आस्थालाई ठिक वा बेठिक ठानेर वा यी कुनै रियलाइजेशन बिनै बेहोसीमा बाँचिरहेछन्। वास्तविकतामा तहबाट जीवनलाई अब्जर्भ गर्दा यस्तो लाइफको अर्थ कहीँ भेटिँदो रहेनछ। मानव जीवनसँग जोडिएर रहने चेतना र शरीर हर्दम बदली रहने रहेछ। बरु मानव जीवनको व्यवहार असल खराब दुवैको सम्मिश्रणले बन्दोरहेछ। सन्तको जस्तो निर्मलता र राक्षसको जस्तो दानवी प्रवृत्ति दुवै उसमा हुनेरहेछ। यी दुई विरोधी शक्तिहरुको कारण कोही यहाँ सन्त हुँदा रहेछन् त कोही दानव जस्ता। जो व्यक्ति राक्षसी गुणका जरा उखेल्दै सन्त बनेर लोकल्याणकारी कामतर्फ लाग्न चाहन्छ उसले विस्तारै अध्यात्मलाई जीवनमा उतार्न थाल्दो रहेछ। संसारले लेबल लगाएको ‘अध्यात्म’ जीवनदेखिको पलायन हैन; आफूभित्रको राक्षसी स्वभावलाई सन्ततर्फ रुपान्तरण गर्ने प्रक्रिया मात्रै रहेछ। अब छर्लङ्ग हुँदैछु यो त भजन कीर्तन, पूजा-आरधना, तन्त्रमन्त्र जस्तो नाटकीय चमत्कारभन्दा भिन्नै एउटा आन्तरिक कठोर पराक्रम र धैर्य सहितको विज्ञान पो रहेछ….।

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

One Response to “काम ही करना हे ना”

  1. कस्तो लेख हो । जति पढ्यो उति पढिरहुँजस्तो लाग्छ । कहिल्यै अघाउन्न 🙂