धन्यवाद पिता !

बुद्धिसागर–

‘हजुरका बाको एकतारे अहिले कहाँ छ?’ एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो। ‘कटासे बजार सर्दा छुटेछ,’ मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला।’ हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग। सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा लाग्छन्। र, अहिले मलाई अलिअलि संगीतको ज्ञान आउँदा सोच्छु- मेरा पिता राम्रो संगीतप्रेमी हुनुहुन्थ्यो।

हरेक शुक्रबार ‘गुड फ्राइडे’ मनाउने म अहिले बुझ्छु, मेरा पिताका साथीसंगाती थिएनन्। एक्लो हुनुहुन्थ्यो। त्यसैले होला, उहाँ आझ्नो एक्लोपन हटाउन एकतारे बजाउनुहुन्थ्यो। किताब पढ्नुहुन्थ्यो। कहिलेकाहीँ त गणितका अप्ठ्यारा-अप्ठ्यारा हिसाब गर्नुहुन्थ्यो। मेरा पितासित उच्चशिक्षाको सर्टिफिकेट थिएन। उहाँले स्वअध्ययन गर्नुभएको थियो। अंग्रेजी, विज्ञान, गणित र इतिहासमा यति दक्ष हुनुहुन्थ्यो कि मौका पाएको भए, कुनै युनिभर्सिटीबाट ‘डा.’ लिएर आउनुहुँदो हो।

तैपनि मेरा पिता कैलालीका धेरै गाउँमा ‘चपाईं डाक्टर’ भनेर चिनिनुभो।

एकपल्ट आमाले सुनाउनुभएको थियो : सुर्खेतको पलैटे छँदा सानैमा पहिलो दुई बच्चा दादुराले बिते। दिदी जन्मिन्, दाइ जन्म्यो। दाइ पनि दादुराले ग्रस्त भयो। पिता त्यहीँको प्राथमिक स्कुलमा हेडसर हुनुहुन्थ्यो। दाइलाई उपचार गराउन अस्पताल लैजाँदा डाक्टरले हेप्यो। त्यति वास्ता गरेन। पिताले इख लिनुभो।
‘यो छोरो भगवानको कृपा,’ पिता झोक्किनुभो, ‘म पनि एकदिन तँजस्तै डाक्टर हुन्छु।’
डाक्टर बन्ने सपना बोकेर पिता मधेस झर्नुभो। कलकत्ता पुग्नुभो। बोकेको पैसा सकियो। कलकत्ताका गल्लीहरूमा भोकै रन्थनिनुभो। मुर्छा पर्ने बेला भो। एउटा स्विट पसलमा काम माग्नुभो। भाँडा माझ्ने काम मिल्यो। भाँडा माझ्नुअघि, एकदमै भोक लागेको साउजीलाई भन्नुभो। उसले रोटी खा भन्यो। टन्न रोटी खाएपछि भाँडा माझ्नुपर्ने भो। अब के गर्ने?
पिताको जुक्ति।
उहाँले पानी निकाल्न नल चलाउन थाल्नुभो। अनि उक्काउँलाझैं नल यताउता हल्लाउनुुभो। त्यो देखेर साउले भन्यो, ‘नल तो चलाना नही आता, क्या काम करेगा साला। चल मैने तुझे निकाल्दिया। फुट।’
पिताले यस्तै तिगडम गर्दै पेट भर्नुभो।
एकदिन एउटा बंगालीको मेडिकलमा काम पाउनुभो, कम्पाउन्डरको। औषधी चिन्नुभो। काठमान्डु आएर मेडिकल खोल्ने अनुमति पाउनुभो। र, कैलालीको मटेरा पुग्नुभो।
र, एकदिन चपाईं डाक्टर बन्नुभो। म जन्मेर चपाईं डाक्टरको छोरा भएँ।

***
पिता बुढो हुन थालेपछि म जन्मेको थिएँ। त्यसैले मलाई लाग्थ्यो- मेरा पिता अरूका पिताजस्ता ‘हेन्डसम’ हुनुहुन्थेन। त्यसैले आँखामा पावरदार चस्मा लगाएको, अलिकति कपाल फुल्दै गएको त्यो बुढो मानिससित म खुब डराउँथेँ। पिता झोक्की हुनुहुन्थ्यो। रिस उठ्यो कि मुड्की चल्ने। मैले घुच्चुकमा कति मुड्की खाएँ खाएँ। किनभने, म पिताले खोजेजस्तो असल छोरा थिइनँ।
मेडिकलमा चकचक गर्न थालेपछि पिताले मलाई डोर्‍याउँदै भिडियो देखाइरहेको ठाउँ पुर्‍याइदिनुभो। र, भन्नुभो, ‘सक्केपछि आउनु।’
मलाई अझै सम्झना छ- फिल्ममा ट्रक हिलोमा फसेको दृश्य थियो।
र, ड्राइभरले भन्यो, ‘ये रास्ता बडा चिकना है।’
म लाजले पानी पानी भएँ। कस्तो लाजलाग्दो कुरा गरेको। म फुत्त निस्केँ र दगुरँे।
‘नहेरी किन आइस्?’ पिता झर्किनुभो।
‘कस्तो लाजलाग्दो कुरा गर्छ अनि।’
‘भोलि अर्को हेर्लास्।’
पिताले भोलिपल्ट फेरि भिडियोमा लगेर छाडिदिनुभो। एउटा नागले लखेटीलखेटी मान्छे मारेको देख्दा डर र अचम्मले पुरा फिल्म हेरँे। मैले धेरै पछि थाहा पाएँ- त्यो त सुनिल दत्तको नागिन फिल्म रैछ।
पिताले फिल्म हेर्ने लत लाइदिनुभो। पछि फसादमा आफैं फस्नुभो।
म फिल्मको क्रेजी फ्यान भएँ। हुर्किंदै गएपछि दुई हुँदै पाँच रुपैयाँ चोर्ने बानी पर्‍यो। जब हुर्किंदै गएँ, मूल्य बढ्दै गयो। दाइ पनि बेलाबेला चोर्दो रैछ। दाइले चोर्दा म पिटाइ खान्थेँ, मैले चोर्दा दाइले।
म हुर्किंदै गएँ।
एकदिन पिता बजारबाट हतारिँदै घर पुग्नुभो। दाइ र मेरो गालामा चड्कन लाउनुभो।
‘यो तीन रुप्याँ कसैले चोर्‍यो, खुरुक्क देऊ।’
दाइले अत्तालिएर मतिर हेर्‍योे, मैले दाइतिर। मैले त चोरेकै थिइनँ। म दाइतिर हेर्दै कराएँ, ‘दाइ, पैसा दे।’
दाइ पनि आँसु पुछ्दै करायो, ‘तैंले त लको होलास्, दे।’
पैसा न त दाइले दियो, न मैले। त्यसदिन पिताले ओठमुख सुनिन्ने गरी पिट्नुभो। हामी रोको रोयै।
त्यसको तीन दिनपछि पिताजी उदास अनुहार लिएर घर फर्किनुभो। दाइ र मलाइ प्रेमले हेर्नुभो। पिताका आँखा टिलपिल भएका थिए।
पिताले त त्यो पैसा अरूलाई दिनुभएको रैछ। बिर्सिनुभएको रैछ। उसले फिर्ता गर्न आएपछि झल्याँस्स हुनुभएको रैछ।
त्यसदिनदेखि पिताले कहिल्यै थप्पड हान्नुभएन।
फिल्मप्रतिको मेरो नशा अझै उत्रेन। एकदिन कटासे बजारको पहिलो गल्लीको एउटा भारतीय केटाले ‘हिरो-हिरोइन बस्ने ठाउँ देखेको छु, घरबाट भागौं’ भन्यो। हामी साइकल लिएर भाग्यौं।
हामीले तीनचार गाउँ नाघिसकेका थियौं। मैले परबाट देखेँ। पिता हतारिएर आइरहनुभएको थियो। त्यो केटो त टाप! म उभिरहेँ। पिताले थप्पड हान्नुभएन। केवल यत्ति भन्नुभो, ‘घर फर्की।’
पिताको अनुहार एकदमै अँध्यारो थियो। अनुहारभरि पसिना। ओठ सुख्खा। फर्किंदा म अघिअघि, पिता पछिपछि। एकदमै लामो मौनता। केवल दुइटा साइकलको टिङटिङ आवाज।
त्यसदिन मलाई पिताको एकदमै माया लागेर आयो। त्यसपछि पिताले मलाई एकदमै माया गर्न थाल्नुभएको थियो। तर म पिताको मायामा झन्झन् पुलपुलिएँ। मलाई पढ्नै मन पर्दैनथ्यो। पितालाई लाग्थ्यो- नपढेको मानिसले असाध्यै दुख्ख पाउँछ।

***
पिता र मेरो कहिल्यै मन खोलेर कुरा भएन। कहिलेकाहीँ पिता राति अगेनाछेउमा बसेर रोदी गाएको, वनमा बाघ देखेर भागेकोजस्ता रमाइला कुरा सुनाउनुहुन्थ्यो, त्यत्ति हो। त्यति कसैसँग बोल्नुहुँदैनथ्यो। आफ्नै मनको घेरामा रमाउनुहुन्थ्यो क्यारे। त्यसैले होला, मैले आफ्नो रुचि र सपना पनि पितालाई बुझाउन सकिनँ। त्यसैले पिता एकदमै छट्पटिनुहुन्थ्यो। आठ-नौ कक्षा पढ्दादेखि नै मेरा कविता रेडियोमा बज्न थालेका थिए।
‘तँ आफंै लेख्छस् कि अरूको सार्छस्?’ एकदिन पिताले सोध्नुभएको थियो।
पितालाई पत्यार नै लागेको थिएन- म कविता लेख्न सक्छु र कवि बन्छु भनेर।
एकदिन पितालाई के लाग्यो कुन्नि, ‘किताब तयार पार, म छाप्दिन्छु’ भन्नुभो।
नयाँ कापी पनि किनेर ल्याइदिनुभएको थियो।
मैले चिटिक्क अक्षरमा तीसपैंतिस वटा कविता सारेँ। भूमिकामा ‘पुस्तक छापिदिने आदरणीय बालाईलाई साष्टांग दण्डवत’ लेखेँ। त्यो पढेर उहाँ खिस्स हाँस्नुभो।
तर, किताब छापिएन।
बरु त्यसको तीनचार दिनपछि, पिता ‘पढ्नु-लेख्नु छैन’ भनेर कराउन थाल्नुभो। म त छक्क परेको पर्‍यै!
सायद पितालाई लाग्न थालेको होला- कवि भयो भने छोराले दुख्ख पाउँछ।
तर, म त आत्मैदेखि कवि भइसकेको थिएँ। एसएलसी पास भएपछि म कवि बन्न काठमान्डु आएँ। पिता आफूसँगै बसोस् भन्ने चाहनुहुन्थ्यो सायद। यतै पढ, उता नजा भनेर खुबै सम्झाउनुभो। मैले मानिनँ।
म पूर्णकालीन कविजस्तो भएँ।
झन्झन् बुढो हुँदै गएका पितालाई मेरो चिन्ताले सताउन थाल्यो। फोनमा भन्नुहुन्थ्यो, ‘पढेर जागिर खा, अनि कविता लेख।’
तर मैले जागिर खाइनँ, कविता लेखिरहेँ।
६० सालमा म राष्ट्रिय कविता महोत्सवमा पहिला भएँ। नेपाल एकेडेमीबाट ‘स्वर्णपदक’ पाएँ। रेडियोले मेरो नाम फुकेको फुक्यै! त्यसको केही दिनपछि मैले पिताको चिठी पाएँ-
तेरो समाचार सुनेर सबै खुसी भाछन्। म पनि भाछु।
अनि त म झन् कवि भएँ!
त्यसको तीन वर्षसम्म पनि मेरो पितासित भेट भएन। फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो। माओवादी युद्ध सुरु भो। म घरै जान सकिनँ। एकदिन पिता आफैं काठमान्डु आइपुग्नुभो। म उहाँलाई लिन पुरानो बसपार्क पुगेँ। मोटो पावरदार चस्मा लाएर मलाई नै खोजिरहनुभएको थियो। सधैं बिग्रिरहने पेट जचाउन पाल्पा गएर आको हुँ भन्नुभो।
पिता असाध्यै दुब्लाउनुभएको थियो। र, एकदमै कमजोर देखिनुहुन्थ्यो। कन्चटछेउछाउ मोटामोटा नसा देखिन्थे।
काठमान्डुको मेरो अँध्यारो डेरामा बसेर पिताले मेरा छापिएका कविता पढ्नुभो। मुसुमुसु हाँस्नुभो। अनि, राति सम्झाउनुभो- कविता पनि लेख्दै गर तर जागिर खा।
पिता काठमान्डु आएकै भोलिपल्ट दरबार हत्याकाण्ड भयो। पिता एकहप्ताजति मसितै बस्नुभो। फर्कने बेला पिताले अलिकति पैसा पनि छाडिदिनुभो। पिता भन्नुहुन्थ्यो- गोजीमा पैसा भएन भने छोरो मान्छेलाई ह्याउ आउँदैन। साथीहरूको अगाडि शिर उठाउन पनि सक्दैन। चिया पिउँदा पनि मैले तिर्नुपर्ने हो कि भनेर चियाको स्वाद लिन सक्दैन।
यस्ता हुनुहुन्थ्यो मेरा पिता।
त्यसपछि एकैपल्ट पितालाई बिरामी हुँदा हस्पिटलमा भेटेँ।
उहाँले घर फर्केर आमालाई भन्नुभएको रैछ- कान्छाले आफ्नो बाटो रोजिसकेछ। अब त्यसलाई फर्की भनेर नसताउनु। ऊ फर्केर आउँदैन।

***
मेरा पिताले एकतारे त खुबै बजाउनुभो, रिदममा। तर, जीवन रिदममा कहिल्यै बिताउनु भएन। मसँग अहिले धेरै सपना छन्, ठुल्ठुला। तर मेरा पिताका सपना धेरै थिएनन्। म अहिले बुझ्छु। मेरा पिताको जीवन ससाना रहरहरूमा सीमित भो। मेरा पिताले धेरै चिज नभोगी, नदेखी, महसुस नगरी, जीवन बिताउनुभो। उहाँका सपना र रहर हामी सन्तानमा सरे। जसरी सँगै भिजाउँदा कपडाको निर सेतो कपडामा सर्छ, नचाहँदा-नचाहँदै।
पिताले आफ्ना कुन्ठा सन्तानतिर सार्नुभएन। केवल सार्नुभयो त आफूले जीवनमा भोग्न नसकेको मिठो क्षण।
संघर्ष गर्दागर्दै पिता मान्छेले जीवनमा नपाएका कुरा स्वर्गमा पाउँछन् भन्ने अप्सन लिएर बाँच्नुभो। मेरा पितालाई मान्छेको आत्माले काँक्राको बियाँजत्रो भएर मोक्ष प्राप्त गर्छ भन्ने लाग्थ्यो।
मेरा पिताको आत्मा काँक्राको बियाँ भयो कि भएन, थाहा छैन। तर, हाम्रो काँक्राको बियाँजत्रो सपनालाई हुर्किने मौका दिनुभो। जल चढाइरहनुभो।
अरू कसैका अगाडि लाजले झुक्न दिनुभएन। सकेको गर्नुभो। आफ्नो जीवनकालभरि हाम्रै पीरमा पर्नुभो।
पितालाई अस्पतालमा भेट्न जाँदा आँखा देख्न छाडिसक्नुभएको थियो। मैले भर्खरै प्रकाशित आफ्नो गजलसंग्रह बोकेको थिएँ। उहाँले त्यो किताब सुम्सुम्याउनुभएको थियो। सायद, किताब हुँदो हो त मान्छेले आफ्नो सपना त्यसरी नै सुम्सुम्याउँदा हुन्।
मेरा पिता मर्दै हुनुहुन्थ्यो। दाइदिदी, बहिनी कोही पनि साथमा थिएनन्। आमा र ममात्र थियौं। मैले अवरुद्ध गलामा सोधेको थिएँ, ‘बा, केही भन्नु छ?’
म पितालाई बिदा गर्दै थिएँ, सायद।
‘क्यै, छैन। मेरो मनमा कुनै बोझ छैन।’
पिताले आफ्नो जुनीमा मलाई भनेका यिनै अन्तिम शब्द थिए। जसमा चरम सन्तुष्टि थियो।

***
मैले पिता यो धर्तीमा हुन्जेल उहाँलाई बुझिनँ। जब उहाँ जानुभो, मैले बिस्तारै बुझ्दै गएँ- उहाँका संघर्ष र सपना। भन्छन्- आफ्नो प्रिय मान्छे नजिक नहुँदा उसको मोह थाहा हुन्छ। तर, कहिल्यै नफर्किने गरी गएको प्रिय मानिसप्रतिको मोह अझै गाढा हुन्छ। किनकि ऊ फेरि कहिल्यै भेटिँदैन।
त्यस्तै भो, जब मैले पितालाई चिनँे उहाँ हुनुहुन्न। उहाँले ठुल्ठुला अक्षरमा लेखेका केही चिठीमात्र छन्। जीवनभरि पिताले केही न केही दिइरहनुभो। शिक्षा, सपना र जुत्ता। मेरा पिता जानुभो, जाँदा पनि आफ्नो कथा मलाई दिएर जानुभो। अंशबण्डाको हकझैं मैले उहाँको अलिकति जीवन चोरेर उपन्यास लेखेँ। त्यो पढ्न उहाँ हुनुहुन्न। मैले आफ्नो सपना पुरा त गरेँ तर छोराको पुरा भएको सपना हेर्न पिता रहनुभएन।
पिताहरू धेरै चिज दिन्छन्, हामी बुझ्दैनौं। जब बुझ्छौं, पिता हुँदैनन्।
पिता यस्ता रुख हुन्, जो ढल्दा प्रकृतिमा अलिकति दाग बस्छ। हृदयमा दाग बस्छ। उनीहरू बादल बनेर बर्सिन्छन् र दाग पुर्छन्। आफू नरहेको चिन्ता गर्दैनन्। सन्तान सधैं रहुन्, यही कामना गर्छन्।

***
मलाई पुनर्जन्ममा विश्वास छैन। यदि, कैयौं जुनीपछि फेरि जन्मिदा पिता र मेरो भेट भयो, या मैले कतै चिनेँ भने केवल यत्ति भन्नु छ- धन्यवाद पिता।


कर्नाली ब्लुज उपन्यासमाथि राजेश हमालको प्रवचन कार्यक्रममा बुद्धिसागरले दिएको अभिव्यक्तिको सम्पादित अंश हो-यो। केही समयअघि नागरिक दैनिकको सप्लिमेन्ट्री अक्षरमा यो प्रकाशित भएको थियो। पिताको मुख हेर्ने दिन बिहान अफिस आइपुगेर मलाई यही अपलोड गर्ने जाँगर चल्यो। गरिदिएँ। धन्यवाद बुद्धि! तस्विरः टिगफ)

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

One Response to “धन्यवाद पिता !”

  1. धेरै राम्रो ! बाबाको सम्झना दिलाइ दिनुभयो। धन्यवाद।