अतृप्तै रहनू, अल्पज्ञानी हुनू

Sat Sep 3 0 Comments

आज आफूलाई तपाईंहरूसामु पाउँदा गौरव लागेको छ। साँच्चै भन्नुपर्दा, मैले कहिल्यै कुनै कलेजको दीक्षान्त समारोहमा यति नजिकबाट भाग लिएकै थिइनँ। म आज तपाईंहरूलाई मेरो जीवनका तीन कथा सुनाउन चाहन्छु। पहिलो कथा, जिन्दगीका स–साना विन्दुहरू जोड्नुसँग सम्बन्धित छ। मैले भर्ना भएको ६ महिनापछि रिड कलेज छोडेँ। तर, अर्को १८ महिनासम्म बेलाबेला त्यो कलेज धाउन छोडिनँ। त्यसो भए किन मैले बीचैमा कलेज छोडेँ? कलेज छोड्नुको कथा म जन्मिनुअघि नै सुरु हुन्छ। मलाई जन्म दिने आमा भर्खरै स्नातक सिध्याएकी एक युवती थिइन्। उनले विवाहै नगरी मलाई जन्माएकी थिइन्। त्यसैले, उनी मलाई अरू कसैको काखमा सुम्पिन चाहन्थिन्।

मलाई कर्म दिने आमाले कलेज पढाई पूरा गरेकै थिइनन्। बाबाले त झन् हाइस्कुलकै पढाइ सिध्याएका थिएनन्। धर्मपुत्र हस्तान्तरणका लागि कागजी–प्रक्रिया सुरु भइसकेपछि पो मलाई जन्म दिने आमालाई यो कुरा थाहा भएछ। उनले अल्पशिक्षित दम्पत्तिलाई आफ्नो छोरा नदिने अड्डी कसिन्। कर्म दिने बाबुआमाले मलाई जन्म दिने आमालाई निकै मुश्किलले विश्वास दिलाए, म कुनै दिन पक्कै कलेज जानेछु। र, बल्ल मलाई जन्म दिने आमा धर्मपुत्र हस्तान्तरणको कागजमा हस्ताक्षर गर्न राजी भइन्।

झन्डै १७ वर्षपछि म कलेज जान थालेँ। तर, कलेज छान्ने मामिलामा म आलोका“चो रहेछु। मैले झन्डै स्ट्यान्डफोर्ड (जहाँ अहिले म बोल्दैछु) जति नै महँगो कलेज छानेँ। काम नगरी खान मुश्किल पर्ने बाबुआमाको कमाइ मेरो कलेज–शुल्कमै खर्च हुन थाल्यो। ६ महिना जति कलेज गएपछि बाबुआमाले दुःख गरी कमाएको पैसा कलेज शुल्कमा खर्चिनुको औचित्य देखिनँ। र, मैले कलेज छोडेँ।

कलेज छोडेपछि मैले पढाई पूरा गर्न लिनैपर्ने अनिवार्य कक्षाहरू लिन छोडेँ। तर, जुन कक्षा चाखलाग्दो हुन्थ्यो, म सुटुक्क त्यहाँ पस्थेँ।

त्यो बेला रिड कलेज क्यालिग्राफी पढाइका लागि निकै प्रख्यात थियो। कलेजभरि जति पोस्टर टाँसिएका थिए, ती सबैमा निकै सुन्दर अक्षर कुँदिएका हुन्थे। क्यालिग्राफीमा मलाई निकै रुचि थियो। म सुटुक्क क्यालिग्राफी पढाइ भइरहेको कक्षाभित्र पस्थेँ।

मलाई क्यालिग्राफी ज्ञान आफ्नो व्यवहारिक जीवनमा उपयोगी हुन्छ भन्ने आसै थिएन। तर, १० वर्षपछि जब हामीले म्याकेन्टोस कम्प्युटर बनाउन थाल्यौं, तब क्यालिग्राफी कक्षामा सिकेको ज्ञान उपयोगी साबित हुन पुग्यो। हामीले पहिलोपटक यस्तो कम्प्युटर बनायौं, जहाँ टाइप गर्दा स्त्रि्कनमा चिटिक्क परेका अक्षरहरू देखिन्थे।

कलेजकालमा फर्केर अगाडि हेर्दा जीवनका यी स–साना विन्दुहरू जोड्नु असम्भवझैं लाग्छ। तर, १० वर्षपछिको जीवनकालमा उभिएर हेर्दा ती बिन्दु धेरै प्रस्ट देखिन्छन्।

***
मेरो दोस्रो कथा प्रेम र केही चिज गुमाउनुबारे छ।

म भाग्यमानी थिएँ। जीवनको प्रारम्भमा मैले त्यही गर्न पाएँ, जुन म गर्न चाहन्थेँ। बीस वर्षकै उमेरमा मैले वोजसँग मिलेर आफ्नो बाबाको ग्यारेजमा एप्पल सुरु गरेँ। हामी दुवैले धेरै मेहनत गर्‍यौं। र, १० वर्षभित्रै एप्पल दुई अर्ब डलर कुल पुँजी र करिब ४ हजार कर्मचारी भएको एउटा ठूलो कम्पनीमा परिणत भयो।

म भर्खर ३० वर्ष पुगेको थिएँ। एक वर्षअघि मात्रै हामीले हाम्रो सबैभन्दा सुन्दर सिर्जना ‘म्याकिन्टोस’ बजारमा ल्याएका थियौं। यसैबेला म एप्पलबाट निकालिइएँ। आखिर कसरी कुनै व्यक्ति आफैंले सुरु गरेको कम्पनीबाट निकालिइन सक्छ?

भयो के भने, जतिबेला एप्पल एउटा ठूलो कम्पनीमा परिणत हुँदै थियो, त्यतिबेला हामीले एक यस्तो व्यक्ति नियुक्त गर्‍यौं, जो मेरो बुझाइमा मसँग मिलेर कम्पनी चलाउने क्षमता राख्थ्यो। सुरुका केही वर्ष मेरो बुझाई सही नै साबित भयो। तर, एप्पलको भविष्यबारे हाम्रा धारणा विस्तारै बाझिन थाले। अन्ततः हामीबीच फाटो आयो। कम्पनी सञ्चालक समिति उसैको पक्षमा उभियो। र, म ३० वर्षको उमेरमा एप्पलबाट निकालिइएँ। हो, सार्वजनिक रूपमै निकालिइएँ।

अहिले लाग्छ, एप्पलबाट निष्कासित हुनु मेरो जीवनकै सबैभन्दा सुन्दर मोड थियो। एप्पल छाडेको ५ वर्षभित्र मैले ‘नेक्स्ट’ नामक कम्पनी सुरु गरेँ। ‘पिक्सार’ नामक अर्को कम्पनी पनि सुरु गरेँ। त्यतिखेरै म एउटी गज्जबकी महिलाको प्रेममा परेँ, जो पछि मेरै श्रीमती भइन्।

परिस्थितिले कस्तो रूप लियो भने एप्पलले नै नेक्स्ट किन्यो। र, म एप्पल फर्किएँ। एप्पलको पछिल्लो पुनर्जन्मको केन्द्रमा जुन प्रविधि छ, त्यो हामीले नेक्स्टमै हुँदा विकास गरेका हौं। लरेन्स र मेरो एउटा सुखी परिवार छ।

एप्पलले मलाई ननिकालेको भए यो सबै केही पनि हुँदैन थियो। त्यो घटना एउटा तीतो औषधि थियो, जसको मलाई जरुरी थियो।
***

मेरो तेस्रो कथा मृत्युबारे छ।

एक वर्षअघि ममा क्यान्सर भेटियो। डाक्टरले गरेको स्क्यानले प्रस्टैसँग मेरो प्याङ्क्रियाजमा ट्युमर रहेको देखायो। मलाई त प्याङ्क्रियाज के हो भन्ने पनि थाहा थिएन।

डाक्टरको भनाइ थियो– म बढीमा ३ देखि ६ महिनामात्रै बाँच्छु। किनकि, मभित्र फैलिरहेको क्यान्सर निको पार्नै नसकिने खालको थियो।

एक साँझ मेरो रोग जाँच्ने क्रममा डाक्टरहरू खुसीले उफ्रिए। किनकि, उनीहरूले ममा निको पार्न सकिने दुर्लभ खालको क्यान्सर रहेको निष्कर्ष निकालेका थिए। शल्यक्रियापछि म जाती भएँ।

तपाईंहरूको समय एकदमै सीमित छ। यो दुर्लभ समयलाई अर्काको जिन्दगी बाँच्ने प्रयास गरी खेर नफाल्नुस्। कुनै कठोर आस्था वा सिद्धान्तको घेराभित्र नअड्किनुहोस्।

जब म तन्नेरी थिएँ, त्यसबेला ‘द होल अर्थ क्याटालग’ भन्ने एउटा गज्जबको प्रकाशन थियो। त्यो प्रकाशन मेरो पुस्ताका लागि बाइबलजत्तिकै महत्वपूर्ण थियो। त्यो अहिलेको पुस्ताको ‘गुगल’जत्तिकै थियो। हो, अहिलेको गुगल जन्मिनुभन्दा ३५ वर्षअघि नै पुस्तक आकारमा आएको गुगल थियो, त्यो।

स्टेवार्ट र उनको समूहले ‘द होल अर्थ क्याटालग’का थुप्रै अंक निकाल्यो। र, पछि एउटा अन्तिम अंक निकाल्यो, जसको अन्तिम पृष्ठमा सखारै खिचिएको एउटा गाम्रीण सडकको तस्बिर थियो। तस्बिरमुनि लेखिएको थियो, अतृप्तै रहनू, अल्पज्ञानी नै हुनू।

मैले त्यो दर्शनलाई जिन्दगीभरि पछ्याएँ। आशा गर्छु, अब तपाईंहरूले पनि त्यसलाई आत्मसात् गर्नुहुन्छ।

(एप्पलको सीइओबाट एकसाताअघि राजीनामा दिएका स्टिब जब्सले २००५ मा स्टार्न्डफोर्ड युनिभर्सिटीको दीक्षान्त समारोहमा दिएको अभिव्यक्ति। इनोभेटिभ काम र सरल जीवनशैलीका लागि जब्स विश्व विख्यात छन्। करोडौं मान्छेका हातमा आज उनको डिजाइनका आइफोन र आइपड छन्; म्याक बुक अनि आइप्याड छन्। र त्यो तिनै जब्सको इनोभेसन हो जो दैनिक ध्यान गर्छन्। जीवनका भिन्न समयमा मैले यो भिडियो कैयौं पटक आइपडमा रिप्ले गर्दै सुनेँ र डिग्रीका विद्यार्थी भाञ्जालाई सुनाएँ। गतसाता जब्स बिरामी परेको खबर आयो। कस्तो अनौठौ संयोग ! मेरो आइपड त्यही दिन बिग्रियो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *