ठमेल अब वाइफाइ जोन

Tue Sep 27 0 Comments

ठमेलमा कफी र ह्वीस्की चुस्की तानेको विषयलाई सानको विषय ठान्ने युवाहरुलाई यो गज्जबको खबर हो। तपाइँसँग ल्यापटप र वाई–फाई सुविधायुक्त मोबाइल भए इन्टरनेट अब ठमेलमा चलाउन सकिन्छ। आज २७ सेप्टेम्बरदेखि ठमेल क्षेत्र वाइफाइ जोन भएको हो। आगामी तीन हप्तासम्म यो ‘कस्मोपोलिटन जक्सन’मा निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुनेछ। ‘हामी तीन हप्तासम्म निःशुल्क वाइफाइ इन्टरनेट दिनेछौं’, मर्कन्टायलका प्रबन्ध निर्देशक सञ्जीव राजभण्डारीले भने- ‘त्यसपछि व्यवसायिक कारोबार सुरु गर्छौं।’

मर्कन्टाइल कम्युनिकेसन प्रालि र ठमेल पर्यटन विकास परिषद्को संयुक्त पहलमा वाइफाइ सुरु भएको हो। सञ्जीवराजको कम्पनीले वाइफाइ जोन बनाउन ४ करोड लगानी गरेको दाबी गरेको छ। स्क्र्याच कार्डमार्फत् बेचिने वाइफाइको प्रतिघण्टा १७ रुपैयाँ लाग्नेछ। स्क्र्याच कार्ड लिन नेपालीले परिचयपत्रको फोटोकपी र विदेशीले पासपोर्टको फोटोकपी बुझाउनुपर्नेछ। पूरै दिन, हप्ता र महिनाका लागि पनि स्क्र्याच कार्ड बिक्री गर्ने तयारी मर्कन्टायलको छ। कार्ड ठमेलका रेस्टुराँ, होटल, सुपरमार्केटमा उपलब्ध हुनेछन्।

वाई–फाईको सुविधामार्फत उठेको रकमको ३० प्रतिशत स्क्र्याच कार्ड विक्रेता, १० प्रतिशत ठमेल पर्यटन विकास परिषद् र ६० प्रतिशत मर्कनटाइलले पाउनेछन्। अहिले मर्कन्टायलले गर्न लागे जस्तो वाइफाइ इन्टरनेटको व्यवसायिक कारोबार यसअघि विनोद तिम्सिनाको ब्रड लिङ्कले पनि गरेको थियो। त्यसले उपभोक्तालाई ठग्नु ठग्यो। त्यही असफल क्षेत्रमा मर्कन्टायलले हात हालेको छ। कुनै बेला किलोबाइट्समा इमेल बेचेर मर्सिटिज बेञ्च चढेका सञ्जीवलाई यो स्किमले मर्सिटिजको नयाँ मोडल इसेडान चढाउने हो वा ब्रडलिंकका विनोद तिम्सिनाकै स्थिति (मिडियामा पकड जमाएर कम्पनीको गल्ती छोप्ने) मा पुर्‍याउने हो त्यो उसको प्राविधिक दक्षतामा निर्भर रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *