मसँग प्रशस्त पैसा भए… ओहो!

हामीमध्ये धेरै आफ्नो कमाइप्रति सन्तुष्ट छैनौं। यसैले हामी निरन्तर आफ्नो तलब वृद्धि गराउने प्रयत्न गर्छौं, विश्वास नगर्दा नगर्दै पनि चिट्ठा काट्छौं। पैसाले खुसी किन्न सक्दैन भन्ने मान्यता नयाँ हैन। तर, पैसा र खुसीबीच धेरै नजिकको सम्बन्ध छ। राम्रो जीवनस्तर भएका मानिसहरू गरिबीमा बाँचिरहेकाभन्दा पक्कै खुसी छन्। खुसी हुन तपाईंलाई कति पैसा चाहिन्छ? सोच्नूस् त!

जब हामी त्यो जीवनस्तरमा पुग्छौं, अलि बढी पैसा कमाएर बढी खुसी हुन सक्दैनौं। त्यो जीवनस्तरलाई परिभाषित गर्ने तिलस्मी अंक हरेक व्यक्ति र देशअनुसार भिन्न छन्। अमेरिकामा वार्षिक करिब ७५ हजार डलर कमाउन सके खुसी भइने एक अध्ययनको निचोड छ। प्रिन्सटन विश्वविद्यालयका अनुसन्धाताहरूले झन्डै ५ लाख अमेरिकी नागरिकसँग सोधेर गरेको सर्वेक्षणमा उच्च पारिवारिक आम्दानी र खुसीबीच सम्बन्ध रहेको देखियो। तर, ७५ हजार डलरभन्दा बढी कमाउन थालेपछि चाहिँ पैसाको महत्व पूरै घटेको देखियो।

हामीमध्ये धेरै मानिस किन आरामदायी जीवनयापन गर्न पुग्नेस्तरको कमाउन थालिसकेपछि पनि पैसाका लागि मरिहत्ते गर्छौं? यसको एउटा कारण हो, पैसा र खुसीबीचको सम्बन्धबारे हाम्रो धारणा भ्रमपूर्ण छ।

हाम्रो एउटा सर्वेक्षणमा धेरै अमेरिकीले २५ को सट्टा ५५ हजार डलर कमाउन थालेपछि आफ्नो खुसी दोब्बर हुने सोच्ने गरेको तथ्य भेटियो। तर, तथ्यांकले देखायो, ५५ हजार डलर कमाउने मानिस २५ हजार डलर कमाउनेभन्दा ९ प्रतिशतमात्रै बढी सन्तुष्ट छन्।

वास्तवमा हामीसँग कति पैसा छभन्दा पनि हामी आफूसँग भएको पैसाले के गर्छौं भन्ने महत्वपूर्ण छ। सोच्नुस्, तीन व्यक्तिले चिट्ठा काटेर १०–१० लाख डलर कमाए। पहिला व्यक्तिले आफूले चाहेको हरेक चीज किने। दोस्राले सबै पैसा बैंकमा राखे र परेको बेलामात्रै खर्च गरे। तेस्रोले सबै पैसा लोककल्याणमा खर्च गरे।

हामीमध्ये धेरै त्यही गर्छौं, जे पहिलो व्यक्तिले गरे। तर, दोस्रो र तेस्रो व्यक्तिले पहिलो व्यक्तिले भन्दा बढी खुसी पाउने सम्भावना छ।
पैसाले हामी आफूलाई मन पर्ने सबै चिज खरिद गर्न सक्छौं भन्ठान्छौं। तर, धेरैभन्दा धेरै र सकेसम्म आफ्नै लागि किन्ने परिपाटीले पैसालाई खुसीमा बदल्न सक्दैन।
एउटा दशक लामो अनुसन्धानले देखाएको छ, तपाईं साँच्चै आफ्नै लागि पैसा खर्च गर्न चाहनुहुन्छ भने त्यसलाई टिभी वा कार खरिदमा नलगाउनुहोस्, बरु घुम्न जानुहोस्। हाम्रो आफ्नै अनुभवले पनि देखाएको छ, कहिलेकाहिँ धेरैभन्दा थोरै वा आफ्ना लागि भन्दा अरुका लागि खर्च गर्दा बढी खुसी मिल्छ।
मानिसले केही चिजको आनन्दा लिँदा प्रायः अलि बढी नै लिन्छ। तर, अनुसन्धानले के देखाउँछ भने चाहेभन्दा अलि कम आनन्द लिनु धेरै खुसी प्राप्त गर्ने एउटा उपाय हो।
हाम्रा एक विद्यार्थीले हालै गरेको अध्ययनले यस्तै निचोड निकालेको छ। एकथरि मिठाई पारखीले एक टुक्रा मिठाई चाखे र अर्को सातासम्म मिठाई नखाने निधो गरे। अर्काथरिले मन लागेजति मिठाई खाए।

तपाईं पनि मिठाई मन पराउनुहुन्छ भने सोच्नुहोला, मन लागेजति मिठाई खानेले राम्रो गरे। होइन, उनीहरूले मूल्य चुकाउनुपर्योन। अर्को साता मिठाई चाख्दा उनीहरूलाई त्यत्ति मिठो लागेन। अघिल्लो साता जसले अलिकति मात्रै मिठाई खाएका थिए, उनीहरूलाई चाहिँ अर्को साता पनि मिठाई उत्तिकै मिठो लाग्यो। परिकार जेसुकै होस्, किन्ने सामर्थ्य हुँदाहुँदै पनि त्यो अघाउन्जेल नखानुहोस्। नत्र अर्कोपल्ट त्यो तपाईंलाई मिठै लाग्दैन।

न्यूयोर्क सिटीमा ठूलो आकारको सोडामाथि प्रतिबन्ध लगाउने मेयर माइकल आर ब्लूमवर्गको प्रस्तावले पनि अघाउञ्जेल खानुपर्ने बानीलाई नियन्त्रण गर्ने एउटा चाखलाग्दो मौका दिएको छ। परिकारसम्बन्धी लेखक माइकल पोलान भन्छन्, ‘खानु भनेकै पहिलो गाँस निल्नु हो।’
सोडाको पहिलो घुट्को निकै स्वादिलो हुन्छ। जति धेरै घुट्को निल्यो, हाम्रो जिब्रो र दिमाग बोधोझैं हुन थाल्छ। उनन्चालीसौं घुट्को पक्कै पहिलो घुट्कोजत्ति स्वादिलो हुँदैन। मेयर ब्लूमबर्गको प्रस्तावले हाम्रो क्यालोरीको दाँजोमा स्वादको अनुपात बढाउँछ।

ठुसी ठुसी खाने बानी नियन्त्रणका लागि हाम्रो व्यवहारमा परिवर्तन जरुरी छ। तर, आफ्नो पैसाबाट अझ बढी खुसी प्राप्ति गर्ने अर्को वैज्ञानिक उपाय झन् अचम्मको छ– आफ्नो लागि आफ्नो पैसा खर्च नगर्नुहोस्।

सोच्नोहोस्, हिँड्दै कार्यालयतर्फ जाँदा तपाईंलाई हाम्री एक विद्यार्थी लारा एक्निन्ले भेटि्छन् र तपाईंको हातमा एउटा खाम दिन्छिन्। तपाईं खाम खोल्नुहुन्छ। खामभित्र २० डलर र एउटा कागजको टुक्रा भेटिन्छ। कागजमा लेखिएको हुन्छ, तपाईंले साँझसम्म त्यो पैसा आफ्नो लागि खर्च गर्नुपर्छ।

फेरि सोच्नुहोस्, कागजमा त्यो पैसा आफ्नो लागि नभई अर्काको लागि खर्च गर्नुपर्ने लेखिएको भए? उदार हुनु राम्रो कुरा हो। तर, के आफ्नो लागि केही नकिनी अरूका लागि पैसा खर्च गर्दा तपाईं खुसी बन्नुहुन्छ? अवश्य पनि। तपाईंले अरूका निम्ति पैसा खर्च गर्न भनिएका मानिसलाई भेट्नुभएको भए उनीहरूलाई झन् बढी प्रसन्न पाउनुहुन्थ्यो। प्रशन्न र सन्तुष्ट रहन सकेसम्म अरुलाई दिनोस्, त्याग्नोस्।

अरूलाई दिँदाको आनन्द ती बच्चालाई नहुन सक्छ, जो आफ्नो भनेपछि हुरुक्कै हुन्छन्। यसलाई पुष्टि गर्न हामीले मनोवैज्ञानिक किली ह्याम्लिनलाई भेट्यौं र बच्चाहरूलाई ‘गोल्डफिस क्र्याकर्स’ दियौं।

अनुहारको चमक हेर्दा ‘गोल्डफिस क्र्याकर्स’ पाउने बच्चा निकै खुसी भएको अनुमान लाउन गाह्रो पर्दैन थियो। तर, जब उनीहरूले आफूलाई प्राप्त उपहारको केही भाग एउटा बाँदरलाई दिए, उनीहरू झन् खुसी भए।

यसको अर्थ प्रष्ट छ, धेरै ‘गोल्डफिस क्र्याकर्स’ पाउनुको अर्थ धेरै खुसी हुनु होइन। धेरै ‘गोल्डफिस क्र्याकर्स’ वा सुन पाउँदा आफ्नो खुसी घट्ने होइन। तर, आफ्नो भागमा कति पर्योन भन्दा पनि त्यसलाई कसरी उपयोग गर्ने भन्नेमा हामीले सोच्नुपर्छ।

(एलिजावेथ डन र माइकल नोर्टनको यो लेख इन्टरनेशनल हेराल्ड ट्र्यिबुनमा प्रकाशित छ। एलिजावेथ डन ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा मनोविज्ञानकी सहप्राध्यापक हुन्। माइकल नोर्टन हार्वड बिजनेस स्कुलमा बिजनेस एडमिनिस्ट्रेसनका सहप्राध्यापक। यी दुवै मिलेर लेखेको ‘खुसी ल्याउने पैसा : खर्चको विज्ञान’ चाँडै बजारमा आउँदैछ।)

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

One Response to “मसँग प्रशस्त पैसा भए… ओहो!”

  1. पोस्तक श्रेष्ठ 14. Jul, 2012 at 4:17 pm

    बिल्कुलै, आफुसंग जे छ, त्यसलाई राम्रो उपयोग गर्न सकेमा केही खुशी प्राप्त होला। खुशी शतप्रतिशत त हुदै हुदैन, यदि त्यस्तो हुदो हो त पृथ्वीपनि घुम्न छोड्छ होला। मसंग चाँहि धेरै पैसा भएमा संसार भरि घुम्ने थिंए, हेहे।