कसरी पाउने सुख-शान्तिको जीवन ?

को चाहँदैन सुख–शान्तिको जीवन ? पद, पैसा, वा बौद्धिक चार्मको अधिकतम तागत कति हो? के यी विषयहरूले आनन्द उत्पादन गर्न सक्छन् ? मानव स्वभाव बदल्न सक्छन्? यो अनुभव लेख एप्पलका पूर्व सीइओ तथा गृहस्थ सन्त स्टिभ जब्सको यो टिप्पणीबाट सुरु हुन्छ– ‘चिहानमा सबै भन्दा धनी मानिस हुनुले मेरो लागि केही अर्थ राख्ने छैन।’
****

कसरी पाउने सुख-शान्तिको जीवन ?

-सीमा चन्द
विपश्यना ध्यान हुँदैछ भन्ने जानकारी पाउँदा मलाइ पनि ध्यानमा जान मन लाग्यो। यसो नियम बुझ्दा दश दिनसम्म बोल्न नै पाइन्न भन्ने थाहा भयो। ध्यान गर्न सकिदैंन कि जस्तो लाग्यो। धेरै जनासँग सल्लाह लिएँ। सबैजसोले साह्रै राम्रो हुन्छ जानुस् यो त अवसर हो भन्ने सुझाव दिए। त्यसपछि दृढ १० दिनसम्म नबोली ध्यान बस्न दृढ निश्चय गरेर कट्कुवा विपश्यना ध्यान केन्द्र (सुर्खेत) तर्फ लागेँ।

बिहान ४ बजे घण्टीको आवाजले व्युँझ्याउने रहेछ। ४:३० बजे धम्म हलमा साधनाका लागि गइसक्नुपर्ने। साढे ६ बजेसम्म साधना गरेर हल बाहिर निस्कँदा प्रकृतिको काखमा सल्लाका रुखहरू माझ सुसेल्दै गरेको हावा अनि विभिन्न चराचुरुंगीहरूको चिरविरले मन निकै आनन्दित हुन्थ्यो । विहान ६:३० देखि ८ बजेसम्म जलपान तथा विश्रामको समय हुन्थ्यो। पुरुष साधकको बस्ने हिंड्ने र खाने स्थल फरक र महिला साधिकाहरूको बस्ने, खाने स्थल फरक व्यवस्था गरिएको थियो। अत्यन्तै सात्विक खाजा र फलफूल बिहानको समयमा दिइन्थ्यो। खाजा थप्दा पनि इसाराले र माग्दा पनि इसारा मात्र प्रयोग गर्न पाइने। सबै मौन।

बिहान ८ बजेदेखि ११ बजेसम्म पुन: हामी साधनाको लागि धम्म हलमा जम्मा हुने गर्दथ्यौं। नदी नै सुसाएझैं सुसाउँदै बग्ने पवनको अवाज धम्महलसम्मै सुनिन्थ्यो। यस्तो स्वच्छ वातावरणमा ध्यान बस्दा मनै प्रफुल्ल हुने गर्थ्रयो। ११ बजेदेखि १२ बजेसम्म भोजनको समय। भोजन पूर्णरुपमा सात्विक। साधना (ध्यान) का बारेमा हुने हाम्रा जिज्ञासाका लागि दिउँसो १२ बजेदेखि १ बजेको समय छुट्याइएको थियो। विश्राम गरिसकेपछि पुन: घण्टीको आवाजले संकेत गर्थ्यो। र हामी १ बजेदेखि ५ बजेसम्म धम्म हलमा साधनाका लागि जम्मा हुन्थ्यौं। साँझ ५ देखि ६ बजेसम्म पुन: खाजाको समय हुन्थ्यो र खाजामा अत्यन्तै हल्का खाजा (चिया, दुध) र फलफूल दिइन्थ्यो ।

साँझ ६ बजेदेखि ७ बजेसम्म पुन: सामूहिक साधना र त्यसपछि आचार्यद्वारा साँझ ७ बजेदेखि ८:३० बजेसम्म अभ्यास र मार्गदर्शनका लागि प्रवचन दिइने गरिन्थ्यो । राती ८:३० बजेदेखि ९ बजेसम्म पुन: सामूहिक साधना सोही धम्म हलमा हुने गर्थ्यो। अनि घण्टीको आवाजसँगै ९ बजे कोठामा जाने र राती ९:३० सम्म आ–आफ्नो कोठामा अनिवार्य रुपमा बत्ती निभाइसक्नु पर्ने हुन्थ्यो। यसरी घण्टीको आवाजको संकेतमा नै १० दिनसम्म हामीहरूको दिनचर्या बित्यो ।

विपश्यना ध्यानका तीन वटा खुड्किलाहरू रहेछन्: पहिलो खुड्किलोमा हामीले आफू स्वयंको हानी हुने कार्यबाट बच्न पाँच शील जीव हिंसा नगर्ने, चोरी नगर्ने, झुठ नबोल्ने, ब्रम्हचर्य पालन गर्ने तथा नशालु पदार्थहरू सेवन नगर्ने अठोट गर्नुपर्ने रहेछ। शिविरको पहिलो दिनदेखि नै हामीहरूले आर्यमौन पूर्ण रुपमा अनिवार्य रुपमा पालना गर्नुपर्दो रहेछ । दोस्रो खुड्किलो शिविरको पहिलेका साढे तीन दिन श्वासमा ध्यान केन्द्रित गर्ने अभ्यास गर्यौंल। यस साधनालाई ‘आनापान’ भनिंदोरहेछ । यो विधिमा मनलाई नियन्त्रण गर्नुपर्दो रहेछ। बोलीलाई वशमा गर्न सकिन्छ, शरीरलाई वशमा गर्न सकिन्छ तर मनलाई वशमा गर्न साह्रै गाह्रो हुँदोरहेछ। पहिलो २ दिनहरू त मनलाई वशमा अर्थात् एकाग्र गर्न साह्रै कठिन भयो। यो मन कहिले छोराछोरीको सम्झनामा, कहिले श्रीमान्को सम्झनामा, कहिले मेरो कर्मथलो (अमर ज्योति न.उ.मा.वि.) को सम्झनामा त कहिले मसंलग्न रहेका सामाजिक संघसंस्थामा अल्झिरहन्थ्यो। कसैसँग गरेका वादविवाद, हाँसो मजाक अति सुक्ष्मभन्दा सुक्ष्म कुराहरू मनमा खेलिरहन्थे।

जसरी वनमा बाँदरहरू एक डालीबाट अर्को डालीमा हाम फाली हिंड्छन् त्यसै गरी यो मन पनि एक कुरा सिद्धिन नपाउँदै अर्कोमा अल्झिदोरहेछ। शुद्ध जीवन जिउँन र मनलाई नियन्त्रण गर्न ‘आर्यमौन’ र ‘आनापान’ एकदमै आवश्यक र लाभदायक रहेछ। तेस्रो खुड्किलो अर्थात अन्तरमनको गहिराइमा दबेका विकार हटाई मनलाई निर्मल बनाउन ध्यानमा बस्ने पछिल्ला साढे ६ दिनसम्म आफ्नो स्वाभाविक श्वासको निरीक्षणबाट आरम्भ गरेर आफ्नो शरीर र चित्तवृत्तिमा प्रत्येक क्षण हुने परिवर्तनशील घटनाहरूलाई तटस्थ भावले निरीक्षण गर्दै चित्त शोधन र सद्गुण वुद्धिको अभ्यास विपश्यनाको अभ्यासको रुपमा गर्यौंर। दिनमा हामीलाई हाम्रा आचार्यज्यू श्री भीमवरसिंह थापाज्यूबाट निर्देशन प्राप्त हुन्थ्यो र प्रत्येक साँझ श्रव्य सामग्रीबाट प्रवचन पनि सुनाइन्थ्यो।

विपश्यना ध्यान एउटा यस्तो बाटो रहेछ जसले राग, द्वेष र मोह हटाइ हाम्रो चित्त निर्मल पारिदिँदो रहेछ। प्रत्येक मानिसको दु:खको कारण नै रोग, द्वेष र मोह हो भन्ने अनुभव गराइदिँदो रहेछ। आजभोलिको यो भागदौडको व्यस्त जीवनमा विपश्यना ध्यानले मानसिक तनावबाट बाहिर निकालेर सुखी, स्वस्थ र सार्थक जीवन जिउन मद्दत पुर्याउने रहेछ । प्रत्येक परिवारमा परिवारका सदस्यहरूले अरुलाई सुध्रिएको भए हुन्थ्यो भन्ने चाहना राख्दछन् जस्तै: घरमा बुवाले मेरा छोराछोरी सुध्रिएको भए हुन्थ्यो, श्रीमती सुध्रिएको भए हुन्थ्यो भन्ने चाहना राख्छन्। श्रीमतीले मेरो श्रीमान् सुध्रिएको भए हुन्थ्यो, सासु सुध्रिएको भए हुन्थ्यो भन्ने चाहना राख्छिन् । प्रत्येक सदस्यले एक अर्कालाई सुध्रिएको हेर्न चाहन्छन् तर आफू स्वयंलाई परिवर्तन गर्न कोही चाहँदैनन् एवं रीतले परिवार, समाज, देश र आज पूरा विश्वमा नै परिवर्तनको लहर चलेको राम्ररी महसुस हुन्छ। सबै मानिस चाहन्छन् परिवर्तन आओस् जसले शान्ति र सामञ्जस्यता ल्याओस्। परिवर्तन शान्ति र सामन्जस्यता को एक उपाय विपश्यना ध्यान बन्न सक्ने भन्ने कुरा १० दिन विपश्यना ध्यान बस्दा मैले महसुस गरें ।

यसको अभ्यासले मानसिक तनावबाट बाहिर निस्किएर सुखी, स्वस्थ र सार्थक जीवन जिउन मद्दत मिल्दो रहेछ। केवल उपदेशले मात्र सामाजिक परिवर्तन ल्याउन सकिँदैन। छात्रछात्रामा पनि अनुशासन तथा सदाचार केवल किताबी व्याख्यानले मात्र ढाल्न सकिदैंन। दण्डको भय मात्रले अपराधी असल नागरिक हुन सक्दैन। परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले स्वयंममा परिवर्तन ल्याउनु पर्छ। ऊ स्वयंलाई सुधार्नको लागि प्रशिक्षित गरिनुपर्छ। शील, सदाचार र नियम पालना गर्नका लागि उपदेश होइन, आफूमा परिवर्तन ल्याउने चाहना जगाउनु पर्छ। प्रत्येक व्यक्तिलाई ध्यानमार्फत स्वयं आफ्नो खोजी गर्ने तरिका सिकाउनु पर्छ जसको माध्यमले परिवर्तनको क्रम शुरु गरेर चित्त निर्मल हुन सकोस्। र यस प्रकार आएको परिवर्तन नै दिगो हुन सक्छ, चिरस्थायी हुन सक्छ।

विपश्यना एक सरल ध्यान विधि हो जसको प्रयोगबाट मनलाई वास्तविक शान्ति प्राप्त हुने रहेछ। यसको अर्थ हो जुन स्थिति जस्तो छ त्यसलाई उस्तै जान्नु। आत्मनिरीक्षणद्वारा मन निर्मल गर्दागर्दै यस्तो अनुभव हुन थाल्ने रहेछ। हामी आफ्नै अनुभवले के जान्दछौ भने, हाम्रो मन कहिले विचलित हुन्छ, कहिले हतास त कहिले असन्तुलित। यी कारणले जब हामी व्यथित हुन्छौं तब आफ्नो व्यथा आफूमै मात्र सीमित नराखी अरुलाई पनि बाँड्न थाल्दछौं। हामी यही चाहन्छौं- स्वयं सुख शान्तिको जीवन जीउँ र अरुलाई पनि यस्तो जीवन जिउन दिउँ। तर यस्तो गर्न सक्दैनौं। विपश्यनाले हामीलाई यस योग्य बनाउने रहेछ। मंगल होस्।

(नेपालको ८ औं विपश्यना ध्यान केन्द्र वीरेन्द्नगर-८ सुर्खेतको कटकुवा वन तपोभूमिमा ध्यान गरेपछि लेखिएको अनुभव।)

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

No comments yet... Be the first to leave a reply!