सन्त डाक्टरको सत्याग्रह

स्केच सौजन्य : देवन/नागरिक

डा. सरोज धिताल

डाक्टर गोविन्द केसी दुईपटक आमरण अनशन बसे छोटो अन्तरालमा। हामी सबैको सौभाग्य, उनले मृत्युवरण नै गर्नुपर्ने स्थिति भने आएन। दुवै चोटी कुनै किसिमले ‘माग पूरा’ भयो, अनशन तोडियो तर त्यो अनशनसँगै नेपाली आकाशमा जुन ध्वनि तरंगित भएको छ, त्यसलाई निरन्तर सुनिरहन, बुझिरहन आवश्यक छ। उनको यो संघर्षले धेरैको साथ पायो। मायाँ त यसै पनि पाएकै थिए यी असल मान्छेले। व्यक्तिगत लोभलालचबाट अत्यन्त टाढा रहेका यी साधु डाक्टर आफ्नो सत्याग्रहमा दृढतापूर्वक अडिरहँदा उनका शरीरका सारा अंग, अवयव तन्तु र कोशिकाहरुले समेत आपतकालीन बन्दोबस्त गरेर उनलाई साथ दिइरहेका थिए। धन्य! देशको जस्तो अराजकता र राज्यविहीनता उनको शरीरका प्रणालीमा अझै आइसकेको रहेनछ। राम्रो थिति बसेको समाजमा जस्तोगरी ‘आपतका बेला सबै मिलेर बाँच्ने प्रयत्न गरौं, एकार्कालाई साथ दिउँ’ भनेर आ-आफ्ना किसिमले योगदान र आत्मबलिदान गरिरहेका थिए तिनको शरीरका एक एक कोशिकाले। कुनै ठूलो रोगव्याधिबाट यी शाकाहारी, अल्पाहारीको त्यो दुब्लो शरीर त कसो अझै मुक्त रहेछ। देशमा भने मानव शरीरको जस्तो थिति बसेको छैन। मनपरीतन्त्रको चपेटामा रोइरहेको देश बेसरी बिरामी छ। धन्न यही बिरामी देशमा पनि असल मानिस छन्। ती पनि गोविन्दको संघर्षको मूल उद्देश्यमा अनेक किसिमले समर्थन जनाइरहेका थिए। अनशनका कारण अस्पतालभित्र सृजित असाधारण स्थितिमा पनि दुःखै पाइरहेका बिरामी समेत उनलाई भेट्न गए, उनको मागमा समर्थन जनाए। चिकित्सक साथीहरुको त साथ छँदै थियो। नागरिक समाज र मिडियाको पनि अभूतपूर्व साथ रह्यो। गोविन्दले जिते।

यो संघर्षबाट, यो बलिदानबाट, यसका निमित्त विभिन्नरुपमा व्यक्ति र समाजले तिर्नुपरेको मूल्यबाट प्राप्त उपलब्धि के त? कति महँगो पर्योभ यो उपलब्धि? कहाँ के/कति परिवर्तन भयो? यति र यस्तै परिवर्तनका लागि फेरि फेरि यत्तिकै मूल्य तिर्नुपर्ने कि नपर्ने? भोकभोकै आलसतालस भएर पल्टिरहेका गोविन्दको साधु अनुहारमा हरेक चोटी देखिएको मुस्कान र दृढता अनि पछिल्लो अवधिमा अलिअलि देखिन थालेको छटपटीको सम्झनाले अझै छोडेको छैन। त्यो चित्र फर्किफर्की सजीव भएर देखापर्छ मानसपटलमा। र, त्यो मानसचित्रसँगै यी प्रश्न हल्ला गर्दै आउँछन् मनमा।

उनको मागको केन्द्रमा रहेको आशय हो- राजनीतिक हस्तक्षेपबाट शिक्षण तथा स्वास्थ्य संस्थाहरुको मुक्ति। तर विडम्बना, कुनै न कुनै किसिमले, कतै न कतैबाट उनको संघर्षको नै राजनीतिकरण भइरह्यो। गोविन्दको माग सम्बोधित हुनेगरी निर्णय भइसकेको कुरा अघिल्लो दिनदेखि नै सुनिए तापनि त्यो निर्णय कतै अल्मलिइरह्यो। कागज नै लिएर शिक्षामन्त्री अनशनस्थलमा पुग्नु केहीअघिसम्म पनि अन्योल कायमै थियो। डाक्टरहरु चिन्तित भएर कुराकानी गरिरहेका थिए। त्यतिखेरका निम्ति सबभन्दा महत्वपूर्ण र तात्कालिक चासोको कुरा थियो- गोविन्दको जीवनरक्षा। जे गर्दा त्यो सम्भव हुन्छ, त्यो नगरी नहुने स्थिति थियो। अनि त्यसपछि पनि शिक्षण तथा स्वास्थ्य संस्थाको गैरराजनीतिकरणका निम्ति के गर्ने भन्ने अहम् प्रश्न त अझै अग्लो पहाडका रुपमा उभिइ नै रहेको थियो। नाघ्नैपर्ने यो ठूलो पहाड अझै त्यसैगरी उभिइरहेको छ।

अहिले अनशन तोडिएको केही दिन भइसकेको छ। विस्तारै उनी स्वास्थ्यलाभ गरिरहेका छन्। उनको अनशनसँगै बिरामी परेको संस्था पनि विस्तारै स्वास्थ्यलाभ गरिरहेको होला तर त्यो संघर्षको केन्द्रमा रहेको तत्व (संस्थाहरुको गैरराजनीतिकरणको सवाल) जबसम्म सधैंका निम्ति हुने गरी सम्बोधित हुँदैन, गोविन्दको मन कसरी स्वस्थ रहला? उनकै जस्ता अनगिन्ती मन कसरी स्वस्थ होलान्? शिक्षण संस्था र शिक्षण अस्पतालहरु कसरी साँच्चै स्वस्थ रहलान्?

सुनिन्छ, अझ नांगो राजनीतिकरणका अभ्यास भइरहेका छन्। पाटन चिकित्सा विज्ञान प्रतिष्ठान त्यस्तो संस्था हो, जसले देशलाई चाहिने किसिमको चिकित्सक उत्पादन गर्न शिक्षण विधि, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, सामुदायिक संलग्नतालगायत्का सवालमा अत्यन्त साहसिक नीति अख्तियार गरेको छ। वर्षौंसम्मको सक्रिय तयारी, संसारभरका प्रतिष्ठित संस्था र चिकित्सा शिक्षाविदहरुसँगको सार्थक अन्तरक्रिया, अत्यन्त समर्पित धेरै असल मानिसको समर्पण आदिका कारण विभिन्न कठिनाईबीच पनि ज्यादै छोटो समयमा नै अन्तर्राष्ट्रिय ख्याति कमाइरहेको संस्था हो त्यो। यस्ता संस्थाहरुको भविष्य सुनिश्चित गर्न कम्तिमा स्थापनापछिको केही समयसम्म त्यसको दर्शन र स्वत्व बुझेका मानिसको नेतृत्व रहनु जरुरी हुन्छ। राजनितिक भागबण्डाका निम्ति त्यो दर्शनदेखि टाढाका कसैलाई क्षमता र दिशाबोधको ख्याल नराखी जिम्मा दिइयो भने त्यसले के फाइदा गर्ला? कति जना गोविन्द जस्ता साधु डाक्टरले बारम्बार आमरण अनशन गरिरहनुपर्ने होला यस्तो स्थिति अन्त्यका निम्ति?

हाम्रो जस्तो देशमा ‘राजनीति’ भन्ने शब्दले जे बुझाउँछ, त्यो भनेको अत्यन्त पुरानो, मृत्युन्मुख, परम्परागत, सत्ता प्राप्तिको फोहोरी खेल हो, जो आफूइतर सबैको निषेधमा, बहिष्करणमा र दानवीकरणमा आधारित छ। जब यो खेलमा अपवित्र लेनदेन मिस्सिन्छ, त्यो अझै कुरुप हुन पुग्छ। गोविन्दको अनशन प्रकरणले फेरि एकचोटि यो देशका नागरिकलाई चिच्याई चिच्याई सचेत बनाउन खोजिरहेको छ- बहिष्करणमा आधारित यो परम्परागत राजनीतिबाट अब देशलाई मुक्त गरौं। साँच्चैको समावेशीकरणको त्यो राजनीति सुरुवात् गरौं, जसले राजनीतिकर्मीहरुबाट एउटा नयाँ सामर्थ्य र कला माग गर्छ- सुन्ने कला, अर्काको दृष्टिकोणबाट पनि हेर्न सक्ने कला, विविधताबीच समानता पहिल्याउन सक्ने त्यो सुन्दर मानवीय कला। यो असम्भव छैन, किनकि मानव सभ्यताको विकासमा नै यो कलाको बीज सुरक्षित छ।

सम्झनैपर्ने, बुझ्नैपर्ने अरु पनि अनेक पक्ष छन् यो अनशन प्रकरणसँग जोडिएका। यो डरलाग्दो र घिनलाग्दो परम्परागत राजनीतिको शिकार अनावश्यकरुपमा अरु असल मानिस पनि भएका छन्। अन्याय तीमाथि पनि भएको छ। डा. धर्म बास्कोटा जस्ता असल मानिस नाहकमा यो फोहोरी राजनीतिका शिकार भए। बलिको बोका जस्ता भए ती। उनको मनमा लागेको घाउ पनि गोविन्दको शरीरले भोगेको दुःखभन्दा कम पीडादायी नहोला। र, त्यो अनाहकमा दुःखेको मनले स्वास्थ्यलाभ गर्न झनै गाह्रो पनि हुनसक्छ। डा. प्रकाश सायमी विशुद्ध प्राज्ञिक चिकित्सक हुन्, जो कहिल्यै कुनै व्यवस्थापकीय पदमा रहन रुचाएनन्। ती सोझा डाक्टरलाई राजनीतिको फोहोर खेलले कसरी कति दुःख दिन खोज्ने होला, हेर्न पनि बाँकी नै छ। तिनलाई जोगाउनुपर्छ।

यो देशलाई, यो समाजलाई चाहिएका असल मानिस यही देशमा छन्, यही समाजमा छन्। राजनीतिको कायापलट गर्नका निम्ति आवश्यक मानिस पनि त्यही राजनीतिको फोहोर आहालभित्रै छन्- अनेक पार्टी वरिपरि अल्मलिइरहेका। संघ/संस्थालाई चाहिने असल मानिस पनि त्यहीँभित्र छन् कुना कुनामा मिल्किइरहेका। तर ती असल मानिसलाई जोगाउन झन् झन् गाह्रो हुँदैछ। किनकि निषेधको पोखरीमा ती पनि निषेधित हुन्छन्, बहिष्करणको कुसंस्कारमा ती पनि बहिष्कृत हुन्छन्, अरुलाई दानवीकरण गरेरै आफ्नो आयु लम्ब्याउने सैतानी छलछामको अभ्यासका बीच ती पनि दानविकृत हुन्छन्।

तैपनि आशा छ। फोहोरी राजनीतिका निरर्थक नाराले कुरुप पारेका शहरका पर्खाललाई जीवनको उज्यालो बोकेका युवा हातले चित्रकलाको माध्यमबाट सुन्दर लुगा ओढाइरहेका छन्। खिसीटिउरी गर्नेहरु भए पनि ‘फेसबुक जेनरेशन’ का अनाम अदृश्य तर ज्युँदा मानिसले संसारभरीकै अन्यायविरुद्ध सत्याग्रह गरिरहेका छन्। बहिष्करण, प्रतिबहिष्करण र नवबहिष्करणको चक्रब्युह चिरेर युवाहरु विश्वबन्धुत्वको सुन्दर गीत गाइरहेका छन्। नयाँ पुस्ताका कवि, स्रष्टाहरु कालजयी रचना गरिरहेका छन्। असल मानिस गाउँगाउँलाई सञ्चार प्रविधिले जोड्न लागिरहेका छन्। देशलाई, मानव जातिलाई बेसरी माया गर्ने मानिसहरु चूपचाप वर्तमानमा ध्यानस्थ भएर भविष्यको जग बनाइरहेका छन्। अब परम्परागत राजनीतिको बलिवेदीमा हजारौंका ज्यान लिने हिंसापूर्ण आन्दोलन होस् वा मानिसका चेतमा थोरै जागरण ल्याउन भनेर अत्यन्त असल मानिसले आत्मदाह गर्नुपर्ने बाध्यता होस्- महंगा आन्दोलनबाट समाजले मुक्ति पाउनुपर्छ। गोविन्द, प्यारो साथी, तिमीले फेरि अनशन बस्न नपरोस्।

(मलाइ मन परेको लेख। डाक्टर धितालको यो लेख २३ अगस्ट २०१२ मा नागरिकमा प्रकाशित छ।)

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

No comments yet... Be the first to leave a reply!