जो जिउने कला सिकाएर विदा भए

Wed Sep 23 0 Comments
सत्यनारायण गोयन्का (२९ जनवरी १९२४—२९ सेप्टेम्बर २०१३)। तस्विर सौजन्यः न्युयोर्क टाइम्स

जसले आफू बौद्ध हुँ भनेर कहिल्यै स्विकारेनन् तर विश्वभर बुद्धको शिक्षा फैलाए। जसले सम्प्रदायको साँघुरो घेरा कहिल्यै निर्माण गरेनन्, बरु सबै देशका मान्छेमा आश्चर्यजनक गहिराइबाट स्वतन्त्रताको चेतना जगाइदिए। जसको जीवनको सार भन्नु नै सबै वर्गका मानिसलाई समान ढंगले दुःखबाट आनन्द, घृणाबाट स्नेह करूणा अनि बन्धनबाट स्वतन्त्रताको बाटो देखाउनु रह्यो।

विश्वका करोडौं गृहस्थसम्म विपश्यना ध्यान पुर्‍याउने उनै सत्यनारायण गोयन्काको ९० वर्षको उमेरमा आइतबार राति (२९ सेप्टेम्बर २०१३ ) भारतको मुम्बईमा निधन भएको छ।

सन् १९२४ जनवरी २९ मा बर्माको उद्योगी परिवारमा जन्मेका उनी कुनैबेला त्यहाँको ‘उत्कृष्ट १०’ धनीमध्ये छैटौं स्थानमा थिए। विपश्यना आचार्य सियाजी ऊ बा खिनलाई नभेटेसम्म उनको अर्को परिचय हिन्दु नेताका रूपमा रह्यो। २५ वर्षको उमेरमा माइग्रेन रोगले गाँज्नुअघि नै उनी गीता र वेदमा पारंगत भइसकेका थिए।

घातक माइग्रेन रोग जापान, युरोप, अमेरिकाका बिख्यात चिकित्सकले समेत निको पार्न नसकेपछि बर्मेली धनाढ्यका पाइला विपश्यनातर्फ लम्किए। मस्तिष्कको अभ्यास गराउने साधनाको असरले उनी स्वस्थ भए। तत्कालीन बर्माका प्रभावशाली आचार्य ऊ बा खिनको सानिध्यमा १४ वर्ष साधना सिकेपछि सन् १९६९ मा उनी पुर्खाको मुलुक भारत फर्किए। व्यापारको जिम्मेवारी छोराहरूलाई सुम्पिए। अनि बुद्ध विद्या बाँड्न श्रीमती इलाइचीदेवीका साथ १० वर्ष भारत यात्रामा निस्किए। दोस्रो चरणमा उनको यात्रा युरोप र अमेरिकामा भयो। लेखक डेभिड ग्यालिस न्युयोर्क टाइम्समा लेख्छन्, ‘एस गोयन्का ती व्यक्ति हुन् जसले हामी बाँचेको समयमा पश्चिमलाई वास्तविक तहमा माइनडफूलनेस चखाए।’

बुद्ध जन्मको २ हजार ५ सय वर्षपछि सन् १९८१ मा बुद्ध विद्या बोकेर आचार्य गोयन्का बुद्धको जन्मभूमि नेपाल प्रवेश गर्दा यहाँको वास्तविकता फरक थियो। नेपालले बुद्धलाई जन्माएको थियो, तर उनले दरबार त्यागेर पाएको चिज के हो, कसरी अभ्यास गरिन्छ, यसको असर के हुन्छ, पत्तो थिएन। एकादुई भिक्षुका बिहारबाहेक अन्तबाट यो पहिल्यै लोप भइसकेको थियो। बुद्ध विद्या गृहस्थहरूका लागि होइन, केवल भिक्षुहरूका लागि हो भन्ने भ्रम व्याप्त थियो। तर, गोयन्काले स्वयम्भूको आनन्दकुटी बिहारमा पहिलोचोटि १० दिने शिविर सञ्चालन गर्दा २ सय ५० जना गृहस्थ सामेल भए। उनलाई यो शिविर सञ्चालन गर्न नेपाल निम्तो गर्नेमा दुई उद्यमी मणिहर्ष ज्योती र यदुकुमार सिद्धी थिए।

नेपालमा विपश्यना जागरणको त्यो पहिलो पाइला थियो। उक्त शिविरमा सहभागी साधकहरूकै पहलमा नेपालमा विपश्यना केन्द्र, धम्मश्रृङ्ग स्थापना गरियो। ‘उहाँले नेपाललाई सधैँ बुद्ध र धर्मको देश भनेर सम्झनुहुन्थ्यो,’ ६० दिने शिविर पनि सञ्चालन गर्ने बरिष्ठ आचार्य आनन्दराज शाक्यले सोमबार नागरिकसँग भने, ‘पुज्य गुरुजीले शिवपुरीको धम्मश्रृङ्गमा बसेर केही पुस्तकसमेत लेख्नुभएको छ।’

उनका अनुसार २०५८ जेठ १९ गते राजा वीरेन्द्रको सपरिवार हत्या हुँदा आचार्य गोयन्का शिवपुरीस्थित धम्मश्रृङ्गमै थिए। ‘त्यसअघि गुरुजीलाई भेट्न राजा वीरेन्द्र ध्यान केन्द्र आउनुभएको थियो,’ शाक्य सम्झन्छन्, ‘राजाबाट युवालाई ध्यानमा कसरी आकर्षित गर्ने भनेर सोधीखोजी गर्ने काम भएको थियो।’

King Birendra with Goenka Guruji at Dhamma Sringha 2001 Madan Ba (left) Roop Jyoti, King Birendra and his ADC in Dhamma Sringha AD 2001

सन् २००० मा राष्ट्रसंघको ‘सहश्राब्दी विश्व शान्ति सम्मेलन’मा आचार्य गोयन्काले दिएको वक्तव्यले विश्व समुदायमा तरंग ल्याएको थियो। हिन्दु, इसाइ, मुस्लिमसहित विश्वका सबै विख्यात साम्प्रदायिक नेता उपस्थित विश्व मञ्चमा उनले ओझपूर्ण स्वरमा भनेका थिए, ‘एउटा संगठित सम्प्रदायबाट अर्कोमा रूपान्तरण गर्नुभन्दा मानिसलाई दुःखबाट सुखतिर र हिंसाबाट करुणातिर रूपान्तरण गर्नुपर्छ।’

विश्वका प्रत्येक मानिसको मनमा द्वेष र घृणा व्याप्त रहेसम्म शान्ति र सुख हुने छैन भन्ने उनको वक्तव्यले तालीको गडगडाहट पाएको थियो। ‘हरेकको मनमा प्रेम र करुणा उत्पन्न गराएर मात्रै विश्व शान्ति हासिल गर्न सकिनेछ,’ उनले विश्व मञ्चमा वक्तव्य मात्र दिएनन्, करोडौं मान्छेलाई १० दिने शिविरमार्फत् यसको अनुभवै गराइदिए। यो कार्यक्रमपछि कतिपयले उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै अभियान समेत चलाएका थिए।

आचार्य गोयन्काको जीवनकालमा विश्वभरि १ सय ७५ विपश्यना ध्यान केन्द्र खुलेका छन्। तीमध्ये नेपालमा ८ वटा छन्। विश्वका सबै केन्द्रमा गोयन्काकै आवाजबाट ध्यान सिकाइन्छ। तर ती कुनैको स्वामित्व उनले आफूसँग राखेनन्। मुम्बईको १० हजार जनाले एकैपटक ध्यान गर्ने ग्लोबल पगोडा होस् वा विश्वका अरू केन्द्र, सबै स्वतन्त्र र स्वायत्त छन्।

ती केन्द्रहरु उनको निधनपछि कसमा हस्तान्तरण हुन्छन् भन्ने प्रश्न उठेको थियो। उनले आफ्ना छोराहरूलाई नै दिएर जालान् कि भन्ने पनि चर्चा चलेको थियो। यसको जवाफमा गोयन्काले भने, ‘जसरी गौतम बुद्धले धर्मको उत्तराधिकार छोरा राहुललाई सुम्पेनन्, त्यसरी नै मेरो धर्मको उत्तराधिकारी धर्म नै हो। यही साधनामा पुष्ट र समर्पित साधकहरूले नै यसलाई निरन्तरता दिनेछन्।’

‘गुरुजीले केन्द्रहरूबाट कुनै प्रकारको आर्थिक लाभ उठाउनुभएन,’ शाक्यले भने, ‘बरु हामीले यहाँ बोलाएका बेला उहाँ आफैँ दान दिएर जानुहुन्थ्यो।’ गोयन्काले आफ्नो जीवनकालमा विश्वभर विपश्यनाका ८ सयभन्दा बढी आचार्य नियुक्त गरेका छन्। विपश्यनामा समर्पित साधकहरूले नै यो विद्यालाई भविष्यमा निरन्तरता दिने उनको मत छ।

‘दुःखबाट खुशीतर्फको रुपान्तरण अहिलेको खाँचो

आइतबार साँझको खाना खाएर आराम गरिरहेका उनलाई एक्कासि मुटुमा समस्या देखियो। राति १०:४० बजे उनले देह त्याग गरे। बर्माबाट भारत सरेको गोयन्का परिवारमा श्रीमती इलाइची देवी र ६ छोरा छन्। पछिल्लो समय आचार्य गोयन्का कान्छा छोरा श्रीप्रकाशसँग मुम्बईको अँधेरीस्थित निजी निवासमा बस्दै आएका थिए।

विपश्यना विपश्यना रिसर्च इन्स्टिच्युटको आधिकारिक ट्विटर ह्यान्डलअनुसार उनको अन्तिम संस्कार मुम्बईको जोगेश्वरीस्थित शव दाह गृहमा मंगलबार बिहान १०:३० बजे गरिँदैछ। काठमाडौंको ज्योति भवनमा सोमबार बिहान १० बजेदेखि विपश्यनाका पुराना साधकहरूले सामूहिक साधना गरी आचार्य गोयन्काप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

के हो विपश्यना ?

विपश्यना साधना स्वनिरीक्षणद्वारा चित्तशुद्धी गर्ने पुरानो ध्यान विधि हो। यसको अभ्यासले मान्छेमा दुःख हट्दै जान्छ। द्वेष, घृणा कम गरेर करुणा र प्रेमले भरिदिन्छ। विपश्यनाले साधकलाई कहीँ कतै साम्प्रदायिक घेरामा बाँध्दैन। र विपश्यना सम्प्रदायको अर्को घेराबन्दी होइन। २ हजार ५ सय वर्षभन्दा पहिल्यै लोप भइसकेको यो ध्यान पद्धतिलाई गौतम बुद्धले खोज गरी विश्वभर फैलाएका थिए। योग्यताप्राप्त आचार्यको सानिध्यमा १० दिनको आवासीय शिविरमा सहभागी भई विपश्यना साधना सिक्न सकिन्छ। शिविर अवधिमा लेखपढ, पूजापाठ र अन्य क्रियाकलाप गर्न हुँदैन। सहसाधकसँग कुराकानी गर्न पाइँदैन। आचार्य वा सेवकसँग साधनासम्बन्धी वा भौतिक समस्याबारे कुराकानी भने गर्न सकिन्छ।

विपश्यना सिकाइका तीन चरण छन्— शील, समाधि र प्रज्ञा । पाँच शील पालना गर्नाले मन शान्त पारेर अगाडिको काम गर्न सजिलो पार्छ। समाधिमा ‘आनापान’ ध्यान सिकाइन्छ। यसले सास आइरहेको र गइरहेको महसुस गर्न सिकाउँछ। तेस्रो चरणमा साधकले आफूभित्र प्रज्ञा जगाएर शरीर र चित्त दुवै तहका बिकारहरूलाई आश्चर्यजनक गहिराइबाट बाहिर निकाल्छ।

नेपालमा शिवपुरीस्थित धर्मश्रृङ्गसहित देशका विभिन्न भागमा सञ्चालित विपश्यना ध्यान केन्द्रहरूमा नयाँ साधकलाई १० दिने र पुराना साधकलाई ९ दिने सतिपठ्ठानसहित २०, ३० र ४५ दिने कोर्स सञ्चालन हुँदै आएका छन्।

***

(पात्रो पन्ना पल्टाउँदै फेरि सेप्टेम्बर २९ आइपुग्यो। ७ वर्षअघि लेखेको यो सामग्री र देखेको एउटा फरक सपनासँगै सम्झिएँ। यो अबिच्युरी नागरिक दैनिक पत्रिकामा २०१३ अक्टोबर १ प्रकाशित हो। कलेज र करिअर नबिर्सी एउटा अल्लारे ध्यान गर्न पुगे के अनुभव गर्छ होला? पहिलो पटक ध्यानबाट फर्केपछि माइसंसारमा अनुभवहरू लेखेथेँ। जतनसाथ राखेको एउटा यो लिंकमा छ: ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *