सर्वोच्चका न्यायाधीश विपश्यना ध्यान केन्द्रमा

Mon Aug 29 0 Comments
धम्मश्रृङ्ग पगोडा। पगोडाभित्र ध्यान गर्ने शून्यागारहरू छन्। फाइल तस्विर

उनीहरुले दिनदिनै लेख्नुपर्छ, ‘तथ्य, सिद्धान्त र कानुनी व्यवस्थाको आधारमा प्रतिवादीहरुले ऐनअनुसार प्रतिकूल हुनेगरी सेवा प्रदान गरेको कारणले पीडितले क्षति ब्यहोर्नु परेको देखिँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन।’ दिनदिनै भन्नुपर्छ, ‘संविधानको धाराअनुसार रिट निवेदन खारेज हुने ठहर्छ।’ हो, सर्वोच्च अदालतका न्यायाधीशहरुले दैनिक यस्तै आदेश दिनुपर्छ। यस्तै फैसला लेख्नुपर्छ।

तर सर्वोच्च अदालतका ७ न्यायाधीशको २७ अगस्ट (२०२२) एउटा फरक दिनको रुपमा उदायो। उनीहरु बिहानै शिवपुरीस्थित विपश्यना ध्यान केन्द्र– धम्मश्रृङ्ग पुगे। विपश्यनाबारे परिचय लिए, आनापाना ध्यान गर्दै समाधि जगाउने अभ्यास गरे। शनिबारको छुट्टी सदुपयोग गर्दै न्यायाधीशहरु हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, सुस्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल, मनोज शर्मा र नहकुल सुवेदी विपश्यना ध्यान केन्द्र पुगेर ध्यानको प्रारम्भिक अभ्यास गरेका हुन्।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, (बीच) र कानुन व्यवसायी। तस्विर: निकिता ढुंगानाको फेसबुक

न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठ पनि शनिबारको ध्यानमा सहभागी थिए। न्यायाधीश हुन योग्यता जाँच्ने, न्यायाधीश बन्न नाम सिफारिश गर्ने निकाय न्यायपरिषद हो। विपश्यना आचार्य रुप ज्योती र पुण्यप्रसाद ढकालले सञ्चालन गरेको ध्यान कार्यक्रममा न्यायाधीश, बरिष्ठ अधिवक्ता, अधिवक्ता गरी १७७ जना सहभागी थिए।

बुद्ध आफूले अभ्यास गरी फैलाएको विपश्यना साधना दुई हजार पाँच सय वर्षभन्दा पुरानो ध्यान विधि हो। यसलाई पछिल्लो समय उद्योगी पृष्ठभूमिका सत्य नारायण (एसएन) गोयन्काले विश्वव्यापी बनाएका हुन्। विश्व विपश्यना आचार्य गोयन्का म्यानमारको सर्वोच्च अदालतका प्रधानन्यायाधीश (पहिला महान्यायाधीवक्ता) ऊ छान ठुनको प्रेरणामा यो ध्यानतिर डोरिएका थिए। यो सन् १९५० दशकको कुरा हो।

धम्मश्रृङ्गस्थित ध्यान गर्ने मुख्य धम्म हल। फाइल तस्विर

नेपालमा सर्वोच्च अदालतका न्यायमूर्तिहरू कसरी विपश्यना केन्द्रसम्म पुगेछन्? पहिलो, सर्वोच्च अदालत बारको निर्णय। दोस्रो, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरेको पहल। तेस्रो, अधिवक्ता दीपकराज जोशी र नेपाल विपश्यना केन्द्रका ट्रस्टी पवन मित्तलले सेतुको भूमिका निर्वाह गर्दा। ‘वकिलको संस्थाले निर्णय गरी विपश्यना ध्यानको लागि पहल कदमी गरेको नेपालमा पहिलो घटना हो’, लामो समयदेखि विपश्यना अभ्यास गर्दै आएका अधिवक्ता जोशी भन्छन्, ‘अब म यति चाहिँ भन्न सक्छु, तटस्थ रही चुस्त काम गर्न र नैतिकवान भएर शान्ति र आनन्दको जीवनयापन गर्न यसको अर्थ छ।’

यसअघि २०७२ सालमा न्याय सेवाका २१ जना नयाँ अधिकृत एकैसाथ धम्मश्रृङ्ग पुगेर १० दिने ध्यान शिविरमा सहभागी भएका थिए। शिविर समापनपछि न्याय सेवाका नयाँ अधिकृत दीलिपकुमार प्रधानले मसँग भनेका थिए, ‘न्याय सम्पादनमा तटस्थ रहन सक्नु, सही निर्णय गर्न सक्नु ठूलो क्षमता हो, त्यसका लागि विपश्यना अभ्यास एउटा अचुक औषधि हुने रहेछ।’ (त्यतिबेला नागरिक दैनिकको पहिलो पृष्ठमा प्रकाशित रिपोर्ट)

विपश्यना ध्यान स्वनिरीक्षणद्वारा चित्तशुद्धी गर्ने ध्यान विधि हो। यसको अभ्यासले मान्छेमा रिस, घृणा, प्रतिशोध कम बनाई चित्त करुणा र प्रेमले भरिदिन्छ। आश्चर्यजनक ढंगले चेतनाको गहिराईबाट स्वतन्त्रताको अनुभव गराइदिन्छ। यो ध्यान तर्फको यात्रामा पहिलो पाइला भनेको १० दिने आवासीय शिविर हो। यो सिकाइ प्रक्रियाका ३ चरण छन्— शील, समाधि र प्रज्ञा। १० दिने शिविरमा ४ दिन आनापाना अभ्यास गराइन्छ। यसले श्वास आइरहेको, गइरहेको महसुस गराई मन एकाग्र गर्न सिकाउँछ। न्यायमूर्तिहरुले शनिबार धम्मश्रृङ्ग पुगेर यही आनापाना ध्यानको अत्यन्त छोटो अभ्यास गरेका हुन्। प्रज्ञाको अभ्यास १० दिने वा अगाडिका शिविरका सहभागीले गर्छन्।

‘भगवान् बुद्धले विपश्यनाको साधनाद्वारा सुख शान्तिको जीवन बाँच्ने एउटा गजबको मार्ग सिकाउनु भयो। सच्चाईको मार्ग सिकाउनु भयो’, नेपाली कानुन क्षेत्रका एक से एक दिग्गज माझ शनिबार बिहान धम्म हलमा आचार्य एसएन गोयन्काको आवाज गुञ्जियो, ‘…आज म तपाईंहरुलाई जे सिकाउँदैछु त्यो विपश्यना साधनाको क, ख, ग मात्रै हो।’

ए… त्यसो भए १० दिने शिविरमा प्रकृतिको नियम स्वयं परीक्षण गर्दै क, ख, ग भन्दा अगाडि बढ्ने कि? सर्वोच्च अदालतका न्यायमूर्ति र कानुन व्यवसायीहरु! शिवपुरीको धम्मश्रृङ्ग पर्खिरहेछ।

यो पनि

१. पूर्वमा अस्ताए मदन बा

२. के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

३. ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्

४. विपश्यना ध्यानपछि नक्खुका कैदीले भने: ‘जेल पठाउनेलाई धन्यवाद छ’

५. यत्ति थाहा छ, केही थाहा छैन

६.

Leave a Reply

Your email address will not be published. Required fields are marked *