आँट Archives - TGuff

त्यो बाटो हिँड्ने आँट गर्न सकिनँ
–रविन्द्र मिश्र

तरुनो छँदा मानिसलाई म पनि एकदिन बूढो हुन्छु र मर्छु भन्ने बिरलै लाग्छ। त्यतिमात्र होइन कुनैपनि तन्देरीलाई म बूढो हुँदा म नितान्त एक्लो हुनसक्छु, म रोगी हुनसक्छु, मेरा अंगप्रत्यंग चौबीसै घन्टा दुख्न सक्छन्, म आँखा नदेख्ने हुनसक्छु, मलाई पक्षाघात हुनसक्छ या मेरो मृत्यु महिनौं वर्षौँ ओछ्यानमै थलिएर अत्यन्त पीढादायी ढंगबाट हुनसक्छ भन्ने लाग्दै लाग्दैन। लाग्दो हो त असहाय वृद्धवृद्धाको अनुहारमा धेरै तन्नेरी र धनाढ्यले आफ्नो संभाव्य प्रतिविम्ब देख्नेथिए र थोरै नै भए पनि केही गर्ने थिए। तर अधिकांशले गर्दैनन्। किनभने आफैंलाई नपरी कोही पनि त्यस्तो सोच्नै चाहँदैनन्, अपवादलाई छोडेर। त्यस्तै एक जना अपवाद हुन् काठमाडौंकी ५७ वर्षीया दिलशोभा श्रेष्ठ।

अधिकांश व्यक्तिले जीवनमा पद, पैसा र सम्मान ‘पाउन’ मरिहत्ते गरिरहँदा दिलशोभा भने अरूलाई ‘दिन’ आफ्नो जीवन अर्पण गरिरहेकी छिन्। उनी असहाय र आफन्तले त्यागेका वृद्धाहरूलाई सके जति दिन्छिन्। त्यतिमात्र होइन, पछिल्लो समयमा त उनले टुहुरा बालबालिकालाई पनि सकेजति दिन थालेकी छिन्। कहिलेकाहीँ लाग्छ, समाजमा दिलशोभाजस्तो व्यक्तिको देहान्त हुँदा कुनै ठूलो कहलिएको राजनीतिज्ञको मृत्यु हुँदाजस्तौ मानव सागर नउर्लिएसम्म समाजलाई चेतनशील र सुसंस्कृत भन्न मिल्दैमिल्दैन। दाङमा महेन्द्र संस्कृत विश्वविद्यालय र अन्य कयौं संघसंस्थालाई करोडौंको सम्पित्त दान गर्ने टेकनाथ गौतमको गत वर्ष निधन हुँदा कसैले पत्तोसम्म पाएन। तर कुनै राजनीतिज्ञ मर्दा भने सारा संचार माध्यमले फुक्छन् र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शोक व्यक्त गर्छन्। यहाँको मात्र होइन सामान्यतः संसारभरकै रीत यस्तै छ। संभवतः हामी सबै भ्रमको युगमा बाँचिरहेका छौं। जेलाई हामी ठूलो ठान्छौँ ती अधिकांश अर्थहीन छन् र जसमा हाम्रो ध्यानै पुग्दैन तिनमा भने जीवन र जगत्का वास्तविक अर्थ लुकेका छन्।

मैले दिलशोभाका बारेमा सुनेको थिएँ, बेलाबखत पढेको थिएँ, उनलाई एक, दुई पटक टेलिभिजनमा देखेको थिएँ र एक पटक संयोगले भेटेको थिएँ। तर उनकै घरमा गएपछि मात्र मैले उनलाई अनुभूत गर्न सकेँ र उनको अनुभूतिको स्पर्शले ल्यनएका खसीलाई आफ्नै आँखाले देख्न सकेँ। दिलशोभाको घर गएपछि जति नै कठोर मन भएको व्यक्ति पनि भावुक नभईकन फर्किनै सत्तै्कन। गत बुधबार बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम नेपाल सन्दर्भमा समाज बनाउने नाममा सत्ता ‘पाउन’का लागि सधैं लुछाचुँडी गरिरहने नेताभन्दा कहिलेकाहीँ, आफूसँग भएको सबै ‘दिएर’ समाजलाई गुन लाउने दिलशोभाजस्ता व्यक्तिको अन्तरवार्ता किन नगर्ने? भनेर मैले उनलाई फोन गरेँ। अन्य राजनीतिज्ञलाई जस्तै मैले उनलाई अन्तरवार्ताका लागि बीबीसीको काठमाडौं स्टुडियोमा आइदिन अनुरोध गरेँ। उनले उत्तरमा भनिन् – ‘मलाई यस्तो प्रचारप्रसार मन पर्दैन, म आफ्नो मनले काम गरिराखेको मान्छे। म ठूलो मान्छे होइन।’ त्यसको जवाफमा मैले उनलाई भने – ‘तपाईँको प्रचारप्रसार गर्न या तपाईंलाई ठूलो बनाउन अन्तरवार्ता गर्न खोजेको होइन, बरु तपाईँले गरिरहेको राम्रो काममा धेरैभन्दा धेरै जना सहयोग गर्न आउन् र अरूलाई पनि तपार्इँले गरेको कामबाट प्रेरणा मिलोस् भनेर अन्तरवार्ता गर्न खोजेको हो।’ उनले भनिन् – ‘त्यो त ठीकै हो।’ तर उनले आफू स्टुडियोमा आउन नसक्ने बताइन्। ‘यहाँ बोल्न नसक्ने, आँखा नदेख्ने, पक्षाघात भएका आमाहरू हुनुहन्छ, उहाँहरूलाई छोड्न मिल्दैन।’ त्यसपछि मैले मै तपाईकहाँ आउँछु है त भन्दा उनले खुसीसाथ स्वीकार गरिन्।

दिलशोभा श्रेष्ठ काठमाडौंको उच्च मध्यम वर्गीय परिवारकी सदस्य हुन्। उनकाअनुसार एउटी छोरी पाएपछि, पतिले छोरा नपाएको निहुँमा उनलाई छोडिदिएका थिए। अनि २०५२ सालमा छोरीको विवाह भएपछि उनी साह्रै एक्ली भइन्। त्यसैबेला, उनी छोराछोरीबाट तिरस्कृत, एकजना असहाय आमाको सम्पर्कमा आइन् र तिनको उनले सेवा गर्न थालिन्। त्यसबाट उनलाई कहिल्यै नमिलेको सन्तुष्टि मिल्यो। ती आमा त पछि बलिई भइन् तर बाटोमा छाडिएका, माग्न बसेका बूढी आमाहरू देखेर दिलशोभाको मन काटिन थाल्यो र उनी तीनैको सेवामा लाग्न थालिन्। ‘के खान मन लाग्यो आमा, तपाईँलाई?’ भन्दा कसैले ममः खानपाए हुन्थो भन्थे, कसैले केरा खान पाए हुन्थ्यो भन्थे, कसैले पानी खान पाए हुन्थ्यो भन्थे, ‘म सबैले जे, जे माग्थे त्यही, त्यही खुवाउँथेँ।’ पछि, पाँचजना आमाहरूलाई उनले काठमाडौंको कलंकीस्थित आफ्नो घरैमा राखेर हेरविचार गर्न थालिन्। त्यहीँबाट २०५६ सालमा औपचारिकरूपमा सुरु भएको हो – ‘आमाको घर’। आफ्नो १५ – १६ कोठाको निजी घरलाई ‘आमाको घर’मा परिणत गरेपछि बितेका दश वर्षमा झन्डै सयजना असहाय, रोगी, सडकमा अलपत्र परेका आमाहरूको स्याहारसुसार र तीमध्ये कतिको मृत्युपछि एक्लै गएर दाहसंस्कार पनि गरिसकेको उनले जानकारी दिइन्। घरमा एक जना बूढी आमाको स्याहार गर्न कयौं छोराबुहारीलाई हम्मेहम्मे पर्छ। दिलशोभाले २८ जना आमालाई कुन संयम र सद्भावले चौबीसै घण्टा हेरिरहेकी होलिन्, म छक्क परेँ। यसबीचख उनले आमाको घरमा बाबुआमा नभएका बालबालिकालाई पनि आश्रय दिन थालेकी छिन्। अहिले आमाको घरमा ३८ जना बालबालिका बस्छन्। दिलशोभा स्वयं र अरू आमाहरू ती सबै बालबालिकाका आमा बनेका छन्। एउटी बालिकालाई काखमा लिएर दिलशोभाले भनिन् – ‘भोलि यी देशकी प्रधानमन्त्री बन्छिन् कि, के थाहा? अर्की बालिकालाई देखाउँदै उनले भनिन् – ‘यिनलाई त सडकमा फालेको रहेछ। मैले त बाँच्दिनन् कि भन्ने ठानेकी थिएँ तर ल्याएर धेरै स्याहार गरेपछि, बाँचिन्। सुस्त मनस्थितिकी छिन्।’ उनले एक जना बूढीआमा देखाउँदै भनिन् – ‘यिनलाई धेरै बलात्कार गरेका रहेछन् पापीहरूले, यिनले लोग्नेमान्छे देख्नै चाहन्नन्।’ ‘यिनी त धनी राणाकहाँ जिन्दगीभर बसेकी, बूढी भएपछि अलपत्र छोडिदिएछन्, अनि मैले राखेको’ अर्की आमालाई देखाउँदै दिलशोभाले भनिन्।

‘यतिका वृद्धा र केटाकेटी हेर्न गाह्रो हुँदैन?’ मैले सोधेँ।

‘पहिले म एक्लै हुँदा त गरेँ, अहिले त अलि अलि प्रचारप्रसारले होला, मलाई सहयोग गर्न मानिसहरू आउँछन्। एउटा दया फाउन्डेसन भन्ने संस्था रहेछ, दुईजना काम गर्ने मानिस उनीहरूले नै तलब दिएर राखिदिएका छन्। एकजना अर्की बहिनी छन्, आफैँ सघाउन आएकी। पैसाको हकमा चाहिँ, मैले धेरै पढेकी छैन, मलाई प्रपोजल लेखेर ठूलो संस्थाबाट पैसा लिन आउँदैन, मेरी छोरी सबनमले अमेरिकाबाट महिनाको बीस हजार पठाइदिन्छिन्, उनको घरको आठ हजार भाडा पनि मलाई नै दिएकी छिन्, मेरो चितवनामा धान आउने जग्गा छ, अनि यो आफ्नै घर हुनाले भाडा तिर्नु पर्दैन, दुःखसुख चलाइरहेकी छु। कहिलेकाहीँ गाह्रो हुन्छ। गएको असारमा दुई जना आमा बित्नुभयो। दाहसंस्कार गर्दा धेरै पैसा खर्च भयो। अनि हामी सबै आमा, नानीहरूले १५ दिनसम्म गुन्द्रुकको झोल र भातमात्रै खाएर बस्यौं, पैसा नभएर।’ दिलशोभा आफैँ कमजोर भएपछि या उनको सेखपछि, यी आमा र बालबालिकाको भविष्य के होला भन्ने जिज्ञासामा दिलशोभाले उनकी छोरीले आफ्नी आमाले रोपेको रुखलाई अझ फैलाउने बचन दिएको बताइन्।

मानवीय स्वभाव अचम्मको हुन्छ। मानिसहरूलाई आमाको घरको जस्ता दृश्यले भावुक नबनाउने होइन तर त्यो भावुकता र ‘मसाने वैराग्य’बीच धेरैजसो कुनै अन्तर हुँदैन। मसानघाटमा आफन्त या अरू कसैको शव चितामा जलिरहेको देख्दासम्म लाग्छ जीवन भनेको के नै रहेछ र? आखिर आफू पनि यसैगरी खरानी हुने न हो ∕ त्यतिबेला उसले लोभ, मोह, घृणा, क्रोध, श्रीसम्पत्ति, मान, पदवी सबै मिथ्या हुन् भन्ने ठान्दछ। खरानी हुनु अगावै जीवनमा राम्रो काम गर्नुपर्छ भन्ने भावना उसमा प्रबल भएर आउँछ। तर ‘मसाने वैराग्य’ले जन्माएको त्यो भावना भोलिपल्टै हराउँछ र ऊ पुनः पुरानै स्वभावमा फर्किन्छ। संसारका थोरै मानिसमा मात्र दिलशोभाको जस्तो दिल हुन्छ। धेरै मानिसमा मानवताको भावनाले जन्माउने भावुकता र मानवीय स्वभावमा निहित लालसाबीच निरन्तर द्वन्द्व चलिरहेको हुन्छ। र अधिकांश मानिस चाहिँ मानवता र भावुकताका बारे आदर्श छाँट्न चाहन्छन् तर जीवन यथार्थ हो भन्ने सोचबाट कसरी ग्रस्त भएका हुन्छन् भने व्यक्तिगत स्वार्थबाट माथि उठ्नै चाहँदैनन्।

खल्तीमा भएको अलिकति पैसा दिलशोभालाई अर्पण गरेर अनि आफ्ना छोराछोरीलाई बेलाबखत उनीहरूमार्फत् नै ससाना सहयोग गर्न दिलशोभाकहाँ लैजाने सोच बनाएर, आमाको घरबाट फर्किँदै गर्दा मलाई आफ्नो जीवन अत्यन्त अर्थहीन र आडम्बरपूर्ण लागिरह्यो। मैले अलिकति पढेँ, देखेँ, बुझेँ र नाम कमाएँ तर ती सबैले मलाई खासै नपढेकी र संसार नदेखेकी दिलशोभाको जति चेतना पनि नदिएको स्पष्ट अनुभव भइरह्यो। जीवनको अर्थ र सौन्दर्य वास्तवमा दिलशोभाले पहिल्याएको बाटोमा छ भन्ने अनभूति हुँदाहुँदै पनि उनको बाटोमा हिँड्ने आँट भने मैले आफूमा जगाउन सकिन। तैपनि, मैले मनमनै प्रार्थना गरेँ – ‘दिलशोभा बन्न नसके पनि म कमसेकम दोस्रो कोटीका मानिसमा पर्नसकुँ जो मानवीय लालसाविरूद्ध लड्न निरन्तर प्रयास गरिरहेका हुन्छन् र बेलाबखत त्यसमा सफलता पनि हासिल गर्छन्। बाटाभर मैले दिलशोभा र देशभर छरिएका उनीजस्ता अनगिन्ती अज्ञात व्यक्तिहरूलाई सम्झिरहेँ जो हामीजस्ता लोभ र लालसाले गाँजेका तथाकथित चेतनशील मानिसका लागि सधैँ प्रेरणा र व्यंग्य बनी रहनेछन्।

(मिश्रको यो लेख २५ अगस्ट, २०१० को नागरिक दैनिकमा प्रकाशित भइसकेको हो। दिलशोभा श्रेष्ठलाई सम्पर्क फोन नम्बर फोन नं‍ -४२७४७३०)

The post त्यो बाटो हिँड्ने आँट गर्न सकिनँ appeared first on TGuff.