हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा

व्यापारी, उद्योगपति, अर्थशास्त्री र आक्कलझुक्कल राजनीतिमा उपस्थितिले मात्र डा. ज्योतिको परिचय पूरा हुँदैन। गौतम बुद्धले २५०० वर्षअघि सुरु गरेको विपश्यना ध्यान सद्दे रूपमा (बिनापरिमार्जन) सिकाउने करिब ४ दर्जन नेपाली गुरु (आचार्य)मध्ये सिनियर आचार्य पनि हुन् उनी। प्रतिष्ठित व्यापारी स्वर्गीय मणिहर्ष ज्योतिका कान्छा छोरा डा. ज्योति सन् १९८७ मा हार्वर्ड विश्वविद्यालयमा विद्यावारिधि गर्दै थिए। कलेज बिदा थियो। व्यापारमा सघाउन १० दिनका लागि उनी नेपाल आए। संयोग त्यतिबेला काठमाडौं नगरपञ्चायतको चुनाव नजिकिएको थियो। केही साथीहरूले उनलाई उकासे, ‘तिमीजस्तो पढेलेखेको मान्छे पो प्रधानपञ्च बन्नुपर्छ त !’ ज्योतिलाई पनि लाग्यो, ‘एकपटक उठौँ न त !’ नगर प्रधानपञ्च बन्ने दाउमा उनले पिएचडी हापे, नगरचुनाव पनि हारे, तर बदलामा सिके जीवन जिउने कला। जो न हार्वर्डमा पढाइन्थ्यो न त प्रधानपञ्च बन्दा सिकिन्थ्यो।

‘विश्वविद्यालयमा सेमेस्टर छुटेपछि त्यतिकै बसिरहेको थिएँ, गुरुजी (सत्यनारायण गोयन्का) नेपाल आउनुभो, ध्यान बस्न सयकडौं मान्छे आउँथे, कस्तो होला र आउँछन्जस्तो लाग्थ्यो। त्यही उत्सुकता मेटाउन त्यो साल श्रीमती र म शिविरमा बस्यौँ।’ विपश्यनासित गाँसिनुको कथा थियो यो। शिवपुरीको काख मुहानपोखरीमा रहेको धर्मशृंगमा चलेको थियो त्यो शिविर।

पहिलोपटकको ध्यानमा उनले मन शान्त भएको महसुस गरे। प्रशस्त लाभको अनुभूति गरे। जीवनमा सिक्नैपर्ने विद्या रहेछ भन्ने निष्कर्षमा पनि पुगे। ६ महिना जोडतोडले अभ्यास पनि गरे। मसिना छोराछोरीको झमेलाले उनको नियमित अभ्यासमा बाधा हाल्यो। फेरि सुरुदेखि सिक्छु भन्ने निष्कर्षमा पुगे उनी। सन् १९९२ मा गुरुजी (गोयन्का) फेरि नेपाल आउँदा उनको त्यो रहर पूरा भयो। त्यो शिविरमा उनका पिताजी (मणिहर्ष ज्योति) पनि ध्यान बस्न खोजेका थिए, तर छोरा बस्न लागेको थाहा पाएपछि मणिहर्ष पछि हटे।

सोही साल पिताजी (मणिहर्ष) लाई क्यान्सरले सताएको सावित भयो। निक्कै छिप्पिएको क्यान्सरलाई केमोथेरापी गरेर प्रतिरोध गर्न हरमहिना बैंकक धाउनुपर्ने भयो। क्यान्सरले निकै थलिएका मणिहर्षलाई सान्त्वना दिन घरमै आएका विपश्यना साधकसाधिकासित ज्योति पनि ध्यान बसे। केमोथेरापीका लागि बैंकक पुग्दा पिताजीसितै ध्यान बसे। यसरी अभ्यासले निरन्तरता पाउँदै गयो । पाँचौंपटक केमोथेरापी गराउन बैंकक जाँदा एक दिन पिताजीले डा. ज्योति र उनकी श्रीमतीलाई घुम्न पठाई चिकित्सकसित आफ्नो अवस्था सोधेछन्। मृत्यु निजक भएको र कुर्नुको विकल्प नभएको चिकित्सकको जवाफ पाएपछि मणिहर्षले ध्यान बस्दै शान्तपूर्वक प्राण त्यागे। पिताजीको कुरुवा बसेका डा. ज्योति भन्छन्, ‘त्यस्तो अवस्थामा क्यान्सरका बिरामीहरू यता दुख्यो, उता दुख्यो भनेर छट्पटाउँछन्। पेनकिलर माग्छन्, तर उहाँले शान्तपूर्वक देहत्याग गर्नुभयो ।’

‘त्योबेला म विपश्यनाबाट धेरै प्रभावित भएँ। विपश्यना बाँचुन्जेल त काम लाग्ने नै भयो, मर्नेबेलामा पनि काम लाग्ने रहेछ भन्ने बोध भयो,’ डा. ज्योति भन्छन्। पिताजीको मृत्युपछि विपश्यनालाई व्यवस्थित गर्ने जिम्मा उनको काँधमा आयो। उनी नेपाल विपश्यना केन्द्रको ट्रस्टिज मात्र बनेनन्, साथमा १० दिने शिविरहरु थुप्रैपटक लिए। गुरुजीले एक महिनाको ध्यान बस्नभन्दा पहिले त उनी अत्तालिए। सोचे, ‘कहाँबाट एक महिना समय पाउनु ? जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं उपाय निस्कियो।’ त्यो शिविर पूरा गर्नासाथ सन् १९९४ मा गुरुजीले उनलाई सहायक आचार्यमा नियुक्त गरे। आचार्य बनेयता उनले निरन्तर शिविर चलाइरहेका छन्।

राजाले अर्थराज्यमन्त्री बनाएपछिका २ वर्ष मात्र उनले शिविर चलाउन पाएनन्। त्यतिखेर उनी क्षेत्रीय आचार्य थिए, देशभरका विपश्यना केन्द्रको रेखदेखको जिम्मेवारी उनमा थियो। तर, मन्त्री नियुक्त भएपछि पनि आचार्य रहिरहँदा विपश्यनालाई राजनीतिसित जोडेर गलत अर्थ लगाइएला कि भन्ने चिन्ताले गुरुजी -गोयन्का) ले उनलाई आचार्य पद छोड्न सुझाव दिएका थिए। ‘मन्त्री भएपछि शिविर नचलाए पनि म सेवाचाहिँ गर्थें,’ उनले थपे। उनी आफैँ पनि शिविरहरूमा नियमित बस्ने गरेका छन्।

अक्सिजन ग्यास उद्योग, रोलिङ मिल्स, स्पिनिङ मिल, कार्पेट उद्योग, मोटरसाइकल, बस, ट्रयाक्टर, कार, पम्पसेट, ट्रक, जेनेरेटर, इलक्ट्रोनिक सामान, ऊन, औद्योगिक ग्यासलगायतका दर्जनौँ व्यवसाय सञ्चालन गरिरहेको ज्योति समूहको उच्च व्यवस्थापन सम्हालिरहेका ज्योतिको बिहान र बेलुकी १ घन्टा विपश्यना साधना दैनिकी नै बनेको छ। हरेक शनिबार बिहान भने उनी विपश्यना ध्यान गर्न मुहानपोखरी नै पुग्छन्। व्यस्त व्यावसायिक जीवनबीच विपश्यनाका लागि किन मरिहत्ते त ? आखिर के छ विपश्यनामा ? ‘विपश्यनाले जीवनका हरेक अवस्थामा जिउने कला सिकाउँछ,’ ज्योति सटिक जवाफ दिन्छन्। “विपश्यना धेरै चिजको कला हो, सर्वप्रथम त यो कसरी सुखी र खुसी जीवन जिउने कला हो,’ पूरक उत्तर उनले थपे।

विपश्यनाबारेमा सत्यनारायण गोयन्काले भनेका छन, ‘ध्यानलाई व्यापार बनाउनुहुँदैन ।’ त्यसो त गोयन्का आफैँ कुनै समय बर्माका ठूला व्यापारी थिए । नेपालका कहलिएका व्यापारिक घरानका डा. ज्योतिचाहिँ विपश्यना रिसर्च इन्स्िटच्युट, धम्मगिरी (भारत) ले प्रकाशन गरेको पुस्तकमा लेख्छन्- ‘विपश्यना व्यापारिक दुनियाँका लागि, उद्योग, वाणिज्य, उत्पादन र आर्थिक गतिविधिका लागि उत्तिकै सान्दर्भिक छ । तर, कसरी ? ‘व्यापारमा लाग्ने जो कोहीको पनि कहिले नाफा कहिले नोक्सान हुन्छ, उत्पादनमा लागेका जो कोहीले मजदुर, कच्चापदार्थ, बजारको समस्या खेप्नुपर्छ,’ भूमिका बाँध्दै उनले पन्च मारे, ‘हामी उकालो लाग्न खोज्छौँ, तर झर्छौं ओरालो, हामी नाफा चाहन्छौँ, तर खान्छौँ घाटा, हामी कामना गर्छौं ब्याजदर घटोस्, तर बढ्छ उल्टो, हामी लागत कम होस् भन्छौँ उल्टो अकासिन्छ। के हामी यी सबै स्थितिलाई शान्तपूर्वक सामना गर्न सक्छौँ ? अवश्य सक्छौँ, यदि हामीले दैनिक विपश्यना साधना गरेका छौँ भने ।’ जवाफ अझै सकिएको छैन। सविस्तार व्याख्या गर्दै उनले जोड्छन्,’व्यापारमा सबै किसिमका मानिससित व्यवहार गर्नुपर्नेहुन्छ। कोही ग्राहक सन्तोकी हुन्छन् कोही किचकिचे, कोही कर्मचारी जिम्मेवार हुन्छन्, कोही कामचोर। हामीसित कस्ता मान्छेसित व्यवहार गर्ने भन्ने विकल्प नै हुँदैन। के त्यस्तोबेलामा हामी उदास नभई काम गर्न सक्छौँ ? जरुर सक्छौँ, यदि विपश्यनाको नियमित अभ्यास गरेको छ भने।’

त्यसो भए ज्योति समूहको सफलताको राज पनि कतै विपश्यना त होइन ? ‘निरोग किन भयो भन्यो भने पथपहरेज, चुरोट, रक्सी नखाएकाले भन्ने कारण पाइएला। राम्रो काम गर्यो भने परिणाम त राम्रो आउँछ, आउँछ,’ जवाफ तराईको राजमार्गजस्तो सिधै छ। ज्योति समूहले विपश्यना शिविर लिन चाहने कर्मचारीहरूलाई तलबी बिदा भने दिने गरेको उनले बताए, जसबाट उनले परिणाम यस्तो पाएका छन् ‘विपश्यना साधना गरेकाहरूबाट काम गर्न सजिलो भएको छ, सहयोगी भाव, अनुशासन र हासमुख वातावरण बनेको छ। व्यवस्थापकहरू थप धैर्यवान्बनेका छन्, कर्मचारीहरू अनुशासित र जिम्मेवार ।’ त्यसो त उनको आफ्नै अनुभव पनि अपत्यारिलो छ। भन्छन्, ‘मैले विपश्यनाबाट धेरै व्यावहारिक लाभ पाएको छु, म सजिलै निराश हुन्नँ, रिसाउँदिनँ, झर्को मान्दिनँ। शील र धर्मले मलाई अन्योलमा बाटो देखाउँछ।’

विपश्यना भारतवर्षमा धेरै वर्ष लोप भएको थियो। बर्मामा भने गुरु-शिष्य परम्पराबाट यो जीवित रह्यो। माइग्रेनबाट सताइएका भारतीय मूलका व्यापारी, हिन्दुवादी नेता सत्यनारायण गोयन्काले गुरु उ बा खिनबाट यो ध्यान सिके। सन् १९६९ देखि गोयन्काले अरूलाई सिकाउँदै छन्। नेपालमा मुहानपोखरी, कीर्तिपुर, पोखरा, वीरगन्ज, लुम्बिनी, विराटनगर र चितवन गरी ७ ठाउँमा विपश्यना ध्यान केन्द्र छन्। मुहानपोखरीमा अंग्रेजी महिनाको हरेक १ र १४ तारिखमा नयाँ शिविर सुरु हुन्छ। शिविर अवधिभर साधकहरूले साधुजस्तै सादा जीवन बिताउनुपर्छ। मुहानपोखरीमा यी जानकारी दिइरहँदा डा. ज्योति आफूले खाएको थाल आफैं माझ्दै थिए। जसलाई उनले यसरी अथ्र्याए, ‘यो थालमात्र धोएको होइन, आफ्नो अहंकार पनि धोएको हो।’

विपश्यनाको सुरुवाती शिविर नै दसदिने हुन्छ। स्तर बढ्दै जाँदा शिविर २० दिन, ३० दिन, ४५ दिन र ६० दिन पनि पुग्छ। यस्ता लामा शिविरमा बस्न उनलाई कसरी समय जुर्छ त ? ‘डाक्टरले १० दिन अस्पतालमा बिताएनौ भने तिमी निकै बिरामी हुन्छौ भन्यो भने तपाइर्ं सबै काम छाडेर अस्पताल जानुहुन्न ?’ विपश्यनालाई उनले यसरी जीवनको अपरिहार्य अंग ठानेका छन्। आइआइटी बम्बेबाट केमिकल इन्जिनियरिङ गर्दा होस् वा हार्वर्डबाट एमबिए, एमपिए र पिएचडी गर्दा युएनडिपीका नेपालस्थित प्रतिनिधिको सल्लाहकार-समेत रहिसकेका ज्योतिले यस्तो ज्ञान अन्यत्र पाएनन्, जो विपश्यनामा पाए। उनकै शब्दमा भन्दा- मनको मैलो सफा गर्ने ज्ञान। साँच्चि लुगा मैलो भए धुन सकिन्छ, शरीर मैला भए नुहाउन सकिन्छ, मन मैला भए के गर्ने ? ज्योतिको भनाइमा विपश्यना नै यस्तो तत्त्व हो, जसले मनको मैला धुन्छ। ज्योति भन्छन्, ‘नुहाउँदा यस्तो लाभ हुन्छ, उस्तो लाभ हुन्छ भने पनि लाभको पत्तो त नुहाएपछि नै लाग्छ, विपश्यनाबारेमा जति वर्णन गरे पनि लाभचाहिँ शिविर बसेपछि नै थाहा पाइन्छ।’ तपाइँ पनि लाभ लिने हो कि ?

(यो सामग्री केही समयअघि नयाँ पत्रिकामा प्रकाशित भएको थियो। मैले हेडलाइन हेरे पनि पूरै पढ्या थिइनँ। अहिले चाहिँ बिजमान्डु अनलाइनबाट लिएको हो।)

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

No comments yet... Be the first to leave a reply!