मानव जातिका जोखिमहरु

Sat Jan 19 0 Comments

दयानन्द बज्राचार्य-

जैविक विकासको विभिन्न कालखण्डमा जीवका विभिन्न प्रजाति यस पृथ्वीबाट लोप भएका छन्। जीवका प्रजातिहरू लोप हुने प्रकृया आज पनि निरन्तर चलिरहेको छ। संरक्षणविद्हरूले विश्वभरका लोपोन्मुख वनस्पति तथा प्राणीको लामो सूची तयार पारेका छन्। केही वैज्ञानिक जीवका सबै प्रजाति एक निश्चित समयावधिपछि लोप हुने भविष्यवाणी गर्छन्। यसै क्रममा मानव जाति पनि कुनै दिन यस पृथ्वीबाट लोप हुनसक्ने उनीहरू बताउँछन्।

केही समयअघि वैज्ञानिकहरूले मानव जातिको अस्तित्वलाई सबैभन्दा बढी जोखिममा पार्नसक्ने १० ठूला खतराह (थ्रेट्स) को सूची तयार पारेका छन्। तीमध्ये पाँच मानव सिर्जित स्वभावका खतरा छन् भने पाँच प्राकृतिक स्वभावका। मानव सिर्जित स्वभावका खतरामा जैविक आतंक, स्वचालित यन्त्र (रोबोटहरू), आणविक युद्ध, जलवायु परिवर्तन र केही वैज्ञानिक प्रयोग पर्छन्। त्यस्तै प्राकृतिक स्वभावका खतरामध्ये प्राणघातक रोगको महामारी, पृथ्वीबाहिरका प्राणी(एलियन्स्) द्वारा आक्रमण, ज्वालामुखीको विष्फोटन, अन्तरिक्षबाट पृथ्वीमा खस्ने आकाशीय पिण्डहरू र कृष्णविवरहरू (ब्लाय्क होल्स) पर्छन्। यस लेखमा यिनै १० खतराबाट मानव जातिलाई पर्नसक्ने सम्भावित प्रतिकूल असरबारे चर्चा गरिएको छ।

केही समययता आतंकवाद गम्भीर अन्तर्राष्ट्रिय समस्या बनेको छ। आतंककारीहरूले आफ्नो लक्ष्य हासिल गर्न विभिन्न साधन प्रयोग गर्दै आएका छन्। भविष्यमा लक्ष्य हासिल गर्न आतंककारीले प्राणघातक जीवाणुहरू प्रयोग गर्नसक्ने सम्भावना भएको विज्ञहरू बताउँछन्। यस्ता जीवाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा हावा, पानी, श्वासप्रश्वास वा सम्पर्कबाट सजिलै सर्न सक्छन्। आधुनिक हवाइ यातायातको सुविधाका कारण यस्ता जीवाणुहरू केही दिनमै विश्वभर फैलिन सक्छन्। यसरी जैविक आतंक सम्पूर्ण मानव जातिका लागि ठूलो खतरा प्रमाणित हुनसक्छ।

मानव जातिको अस्तित्वका लागि अर्को ठूलो खतरा मानिन्छ- मानव निर्मित स्वचालित यन्त्र (रोबोट्स)। यस्ता यन्त्र विशेषगरी मानव क्षति कम गर्न जोखिमपूर्ण कामका लागि प्रयोग गरिन्छ। कतिपय यस्ता यन्त्र कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टलिजेन्स)को गुणले सम्पन्न हुन्छन् र आवश्यकताअनुसार मानिसको निर्देशनविना पनि आफंै परिचालन हुन सक्छन्।
विशेषगरी युद्धमा प्रयोग गरिने यस प्रकारका स्वचालित यन्त्रहरू मानव जातिको अस्तित्वका लागि खतरनाक भएको विज्ञ बताउँछन्। उदाहरणका लागि कतिपय विकसित मुलुकले मानवरहित लडाकु विमान निर्माण गरेका छन्। यसैगरी आणविक हतियारसमेत बोक्न सक्ने क्षेप्यास्त्र पनि मानवरहित र स्वचालित हुन्छन्। केहीगरी मानिसको नियन्त्रणभन्दा बाहिर गएमा वा कुनै प्रकारको प्राविधिक गडवडी उत्पन्न भएमा यस्ता यन्त्रले मानव जातिलाई अकल्पनीय क्षति पुर्यागउन सक्छन्।

पछिल्लो समयमा विकास गरिएको नानो प्रविधिको मद्दतले यस्ता स्वचालित यन्त्र पनि निर्माण गर्न सकिने भएका छन्, जसले मानिसको सहयोगबिना नै आफ्नो प्रतिरूप (क्लोन) निर्माण गर्न सक्छन्। मानिसलाई ठूलो क्षति पुर्यातउने यस प्रकारका यन्त्रहरू जानी वा नजानी कसैले निर्माण गरेमा ती यन्त्र मानिसको नियन्त्रणभन्दा बाहिर जान सक्छन् र सम्पूर्ण मानव जातिकै लागि निकै खतरनाक हुन सक्छन्।

संयुक्त राज्य अमेरिका, रसिया, फ्रान्स, बेलायत, चीन, भारत र पाकिस्तान जस्ता देश आणविक हतियारबाट सुसज्जित छन्। यसैगरी उत्तर कोरिया, इजरायल र इरानसँग पनि आणविक हतियार भएको शंका गरिन्छ। आणविक हतियार कति खतरनाक हुँदोरहेछ भन्ने प्रमाण दोस्रो विश्व युद्धमा देखिसकिएको छ। अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेका आणविक बमले लाखौँ मानिसको तत्काल मृत्यु भएको थियो। भनिन्छ, रसिया र अमरिकासँग भएका आणविक हतियारमात्र पनि सम्पूर्ण मानव जातिको अन्त्य गर्न पर्याप्त छन्।

कुनै दुई देशबीच आणविक युद्ध भएमा र ठूलो संख्यामा आणविक हतियार प्रयोग भएमा त्यसले आणविक शीतकाल (न्युक्लियर विन्टर)को अवस्था उत्पन्न हुनेछ र सम्पूर्ण मानव जातिमा प्रतिकूल असर पार्नेछ। युद्धका क्रममा ठूलो संख्यामा आणविक बम बिष्फोट गराइएमा लाखौँ वा करोडौँको संख्यामा मानिसको तत्काल मृत्यु हुनेछ। साथै आणविक बम बिष्फोटबाट उत्पन्न भएका धुँवा र ध्वाँसोले वायुमण्डल ढाकिनेछ। यसले गर्दा महिनौँ वा वर्षांैसम्म पृथ्वीको सतहमा सूर्यको किरण छिर्न सक्ने छैनन्। फलस्वरूप पृथ्वीको तापक्रममा अत्यधिक कमी आउनेछ र शीतकाल आरम्भ हुनेछ। यसरी उत्पन्न भएको आणविक शीतकालले विश्वकै जलवायुमा प्रतिकूल परिवर्तन ल्याउनेछ। अत्यधिक चिसोले गर्दा कृषि क्षेत्र प्रभावित भई खाद्यान्नको आपूर्ति बन्द हुनेछ र मानव जातिकोे अन्त्य हुनेछ।

मानव जातिको अस्तित्वका लागि अर्काे ठूलो खतरा हो, जलवायु परिवर्तन। तीव्र औद्योगिकीकरण तथा शहरीकरण, जैविक इन्धनको अत्याधिक खपत, वन जङ्गलको तीव्र विनाश जस्ता मानव सिर्जित गतिविधिबाट पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। तापक्रम वृद्धिले विश्वको जलवायुमा ठूलो परिवर्तन आएको छ र यसको असर विश्वका सबै भागमा देखिन थालेका छन्। कतै खडेरी बढ्न थालेको छ भने कतै अति वर्षा भई बाढीको प्रकोप बढ्न थालेको छ। विश्वका उच्च भूभागका हिउँ पग्लन थालेको छ। हिमाल क्रमशः नाङ्गो पहाडमा परिणत हुँदैछन्। समुद्रको सतह बढिरहेको छ। समुद्री तटका मुलुकहरू डुबानमा परी अस्तित्व गुमाउने खतरामा छ। जलवायु परिवर्तनले सम्पूर्ण प्राणी र वनस्पतिलाई प्रतिकूल असर पार्दै आएको छ। समयमै समाधानका उपाय नसोच्ने हो भने जलवायु परिवर्तनद्वारा सिर्जित विपत्तिले निकट भविष्यमा मानव जातिको अन्त्य हुनसक्ने विज्ञ बताउँछन्।

फ्रान्स र स्विट्जरल्यान्डको सिमानामा अवस्थित सर्न (सिइआरएन, युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च)को प्रयोगशालामा गरिने केही भौतिकशास्त्रसम्बन्धी प्रयोगबाट पनि मानव जातिको अस्तित्वमा खतरा उत्पन्न हुनसक्ने केही वैज्ञानिक बताउँछन्। उक्त प्रयोगमा जमिनमुनि निर्माण गरिएको लामो सुरुङभित्र प्रकाशको गतिमा विभिन्न प्रकारका आणविक कणलाई ठोक्काइन्छ। उक्त प्रयोगको मूल उदेश्य ‘बिग ब्याङ’ सिद्धान्त र ब्रह्माण्डको उत्पत्तिसम्बन्धी वैज्ञानिक परीक्षण गर्नु रहेको छ। कतिपय वैज्ञानिकका अनुसार यस प्रकारका प्रयोगमा ब्रह्माण्डको उत्पत्ति र विकासको समयमा जस्तै कृष्ण विवरहरू (ब्ल्याक होल) उत्पन्न हुन सक्छन्। यसरी उत्पन्न भएको ब्ल्याक होलमा पृथ्वी विलिन हुने सम्भावना हुन्छ। उच्च गुरुत्वाकर्षणका कारण ब्ल्याक होलले नाजिकका जुनसुकै ग्रह वा पिण्डलाई आफूतर्फ खिच्छन् र ती पिण्ड वा ग्रह ब्ल्याक होलमा विलिन हुन्छन्। ब्ल्याक होलको गुरुत्वाकर्षण यति उच्च हुन्छन् कि त्यसबाट प्रकाश पनि भाग्न सक्तैनन्। त्यसैले यी ब्ल्याक होल अदृष्य हुन्छन्।

प्रकृतिमा नयाँ प्रकारका रोगका जीवाणु देखापर्न थालेका छन्। यी जीवाणुले आफ्नो आनुवंशिक गुण छिटोछिटो परिवर्तन गर्ने भएकाले यस्ता रोगको सफल उपचार चिकित्साशास्त्रले विकास गर्न सकेका छैनन्। मानिसबीच सजिलै सर्न सक्ने यी जीवाणुले रोगको महामारी फैलाउने प्रबल सम्भावना भएको विज्ञ बताउँछन्। हवाई यातायातमार्फत् कुने देशमा देखापरेका यस्ता माहामारी सजिलै विश्वभर फैलिने डर हुन्छ। यसरी विश्वभर फैलने रोगको महामारीलाई समयमै सफल उपचार तथा नियन्त्रण गर्ननसके सम्पूर्ण मानव जातिको अस्तित्व नै जोखिममा पर्नसक्छ। बर्डफ्लु, स्वाइनफ्लु भाइरसहरू केही यस्ता घातक रोगका जीवाणु हुन्। केही गरी यी जीवाणुमा आनुवंशिक गुण परिवर्तन भई मानिसबीच विभिन्न माध्यमबाट सजिलै सर्नसक्ने क्षमता विकास भए यसले सम्पूर्ण मानव जातिलाई प्रतिकूल असर पार्नसक्छ।

हालसम्म पृथ्वीबाहिर जीवको अस्तित्व भएको प्रत्यक्ष प्रमाण भेटिएको छैन। तर कतिपय वैज्ञानिकका अनुसार यस ब्रह्माण्डमा सौर मण्डलबाहिर पनि कैयौँ यस्ता ग्रह छन्, जहाँ जीवको विकास हुने प्रवल सम्भावना छन्। जसरी मानिस पृथ्वीबाहिरका जीवको खोजीमा छन्, त्यसैगरी पृथ्वीबाहिरका प्राणी (एलियन्स) पनि हाम्रो खोजीमा हुन सक्छन्। केही गरी आफूलाई मानव जातिबाट खतरा भएको महसुस गरेमा यी प्राणीले मानव जातिमाथि आक्रमण गर्न सक्छन्। यसैगरी पृथ्वीको प्राकृतिक स्रोत कब्जा गर्न वा पृथ्वीमा बसाई सर्न पनि पृथ्वीबाहिरका प्राणीले मानिसलाई आक्रमण गर्न सक्छन्। यस्तो आक्रमणबाट मानव जातिको अन्त्य हुने सम्भावना भएको केही वैज्ञानिक बताउँछन्।

पृथ्वीमा केही यस्ता ज्वालामुखी पनि छन्, जसको बिष्फोटनबाट मानिसको अस्तित्वमा गम्भीर असर पर्न सक्छ। यस्ता ज्वालामुखी ‘सुपरभल्क्यानो’ को नामले चिनिन्छ। यस्ता ज्वालामुखी सामान्य ज्वालामुखीभन्दा हजारौँ गुणा ठूला हुन्छन्। यसको एउटा उदाहरण हो- संयुक्त राज्य अमेरिकाको येलोस्टोन राष्ट्रिय निकुञ्जमा अवस्थित ‘येलोस्टोन सुपरभल्क्यानो’। यस्ता ज्वालामुखी पर्वत फुट्दा निस्कने आगो (लाभा) र खरानी हजारौँ वर्ग किलोमिटरसम्म फैलिने गर्छन्। यसरी निस्केका खरानी लामो समयसम्म वायुमण्डलमा रहिरहनाले पृथ्वीको सतहमा सूर्यको किरण प्रवेश गर्न पाउँदैनन् र उक्त क्षेत्रको तापक्रममा ठूलो कमी आउँछ। फलस्वरूप उक्त क्षेत्र हिमखण्डमा परिणत हुन्छ र त्यहाँका सम्पूर्ण जीवजगतको अन्त्य हुन्छ। ‘येलोस्टोन सुपरभल्क्यानो’ सबैभन्दा पछिल्लो समय करिब ६ लाख ४० हजार वर्षअघि फुटेको थियो। उक्त ज्वालामुखी कुनै पनि बेला यसैगरी फेरि फुट्नसक्ने वैज्ञानिकहरू बताउँछन्।

समय-समयमा ‘मिटियर’ र ‘एस्टेराइडं’ नाम गरेका आकाशीय पिण्डहरू पृथ्वीमा खस्ने गर्छन्। सामान्यतया यी पिण्ड स-साना पत्थर हुने गर्छन् र तिनले पृथ्वीलाई कुनै गम्भीर असर पार्ने गरेका छैनन्। तर ठूलठूला आकाशीय पिण्डले पृथ्वीलाई गम्भीर क्षति पुर्या्उन सक्छन्। पृथ्वीलाई गम्भीर क्षति पुर्यारउने प्रकारको ठूलो आकाशीय पिण्ड सबैभन्दा पछिल्लो समय करिब साढे ६ करोड वर्षअघि खसेको थियो, जसबाट त्यतिबेला ठूलो संख्यामा पाइने जनावर ‘डाइनासोर’ यस पृथ्वीबाट सदाका लागि लोप भएको थियो। केहीगरी यस्तै विशाल आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किएमा मानव जातिको अन्त्य हुने सम्भावना हुन्छ।

ब्रह्माण्डमा अनगिन्ति तारा छन्। बलेर नष्ट भएपछि यी तारा कृष्ण विवर (‘ब्ल्याक होल) मा परिणत हुन्छन्। स-साना ब्ल्याक होलहरू एकापसमा गाभिएर ठूला आकारका ब्ल्याक होल बन्छन्। कतिपय यस्ता ब्ल्याक होल तीव्र गतिमा ब्रह्माण्डमा भौँतारिरहेको विश्वास गरिन्छ। माथि उल्लेख गरिएजस्तै ब्ल्याक होलको गुरुत्वाकर्षण अति उच्च हुन्छ र यसले नजिकका जुनसुकै ग्रह वा पिण्डलाई आफूतर्फ खिच्छन्। यसैले कारणवश पृथ्वी यस्ता भौतारिरहेका शक्तिशाली ब्ल्याक होलको नजिक पर्न गएमा पृथ्वी ब्ल्याक होलभित्र विलिन हुनेछ। यसरी पृथ्वी र मानिसलगायत्का सम्पूर्ण जीवको अन्त्य हुनेछ।

यसरी विभिन्न कारणले गर्दा मानव जातिको अस्तित्व जोखिममा रहेको पाइन्छ। तर वैज्ञानिकहरूका अनुसार पृथ्वीको निश्चित भूभागमा मात्र बाँच्न सक्ने जीवका प्रजातिको तुलनामा पृथ्वीको विभिन्न भूभागमा बाँच्न सक्ने क्षमता भएका मानिसजस्ता जीवको प्रजाति लोप हुने सम्भावना कम छन्। त्यसैगरी मानिस एकमात्र यस प्रकारका जीवका प्रजाति हुन्, जसलाई आफ्नो अस्तित्व खतरामा भएको पूर्व जानकारी छ। प्राणी जगतमा सबैभन्दा विकसित र तीक्ष्ण बुद्धि भएको प्राणी भएकाले मानिसले आफ्नो प्रजातिको रक्षा गर्न र अन्त्य हुन नदिन समयमै आवश्यक कदम चाल्ने अपेक्षा गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *