के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

नेपाल विपश्यना केन्द्रस्थित पगोडा

-स्मीता

उनको दाँया कम्मरदेखि तीघ्रासम्म अल्फ्रेड लर्ड टेनिसनको कविता ट्याटु गरिएको थियो। ट्याटु कविता खोज गर्दै हिँड्ने एउटा बिन्दास मान्छे बारे थियो। उनी आफूलाई त्यही यायावरसँग तुलना गर्दै थिइन्। तिनकी साथीको गर्दनमा खोपिएको थियो- ‘कर्म’। ध्यान गर्न धर्मश्रृंङ्ग विपश्यना केन्द्रतिर हिँडेका झन्डै २ सय ध्यानीमध्येका यी दुई रसियन युवतीले सबैको ध्यान तानेका थिए।

छेवैमा देखिने अग्लो सुनौलो पगोडाको मुनी अवस्थित ध्यान केन्द्र आफैंमा एउटा स्वहिरासत हो। यहाँ हुनु परिवार र प्रेमीसँग टाढा हुनु हो। शब्दबाट र संसारबाट पनि टाढा। आफूभित्रको यो यात्रामा खोज तीव्र हुन्छ। विगतका सम्झनाहरु निस्क्रिय ज्वालामुखी विस्फोट भएझैं एकपछि अर्को गर्दै लाइन लागेर आउन थाल्छन्। विचारहरु सुनामीजस्तै मडारिन थाल्छन्। आजसम्म हामीले आफूसँग लिएर हिँडेको स्वभावको चिरफार हुन थाल्छ। हामी आफू भित्रका घटनालाई चलचित्र हेरेजस्तो हेरिरहन्छौं। विना कुनै प्रतिक्रिया, विना कुनै राग वा द्वेष। विपश्यनामा ध्यान मात्र पलपलको सँच्चाइलाई स्वीकार गर्नु सँग सम्बन्धित छ। श्वासबाट सुरु गरेर विस्तारै शारीरिक वेदना हेर्दै शरिरको यात्रा यथार्थको दर्शन भन्दा पर पुग्दैन। आफूबारेको यथार्थ आफ्नै दर्शन गरेर थाहा पाउने कला- विपश्यना।

१० दिने मौन ध्यान आफ्नै श्वासको आवागमन बारे सचेत हुनुबाट सुरु हुन्छ। बुद्धको युगमा बोलिने पाली भाषामा यो प्रक्रियालाई आनापान भनिन्छ। यो श्वास प्रश्वासप्रतिको सचेतताले मनलाइर्ल केही हदसम्म मात्रै भए पनि बसमा राख्न सहयोग गर्छ। ३ दिनसम्मको यो चञ्चल मनलाई बसमा ल्याउने खेलमा विजेता बनेर निस्कनु कठिन भए पनि यसले मनको स्वभावको बारेमा बुझ्न सघाउँछ। विचारका ज्वारभाटासँगै लहँसिदै कहिले विगत र कहिले भविष्यतर्फ छलाङ्ग लगाइरहने मनलाई वर्तमानमा टिकाउन नसक्दा आफूबारेको पहिलो सत्य अगाडि आउँछ- बिचारहरुको हाँगामा समातेर यता उता भागिरहने बाँदर मन लिएर हिँड्ने हामी अधिकांश समय अशान्तै त हुँदा रहेँछौं। वर्तमानलाई बेवास्ता गरेर, यथार्थलाई पन्छाएर– बितिसकेको विगत र आउँदै नआएको भविष्यको कल्पनाको छलाङ लाउँदै त हामी बाँच्दा रहेछौं।

आनापानसँगै सुरु भएको मनको अप्रेसन चौथो दिनको विपश्यनासँगै अझै तेज हुन्छ। पाली भाषामा विपश्यनाको अर्थ जे जस्तो छ त्यस्तै रुपमा हेर्नु वा दर्शन गर्नु हुन्छ। यो आत्मदर्शनको प्रक्रियामा शरीरका संवेदनाहरुप्रति सचेत हुने कला सिकाइन्छ। बिना कुनै राग, द्वेष वा प्रतिक्रिया मनमनै शरीरका संवेदनाप्रति सचेत हुँदा दबेका कर्मसंस्कार विस्तारै सतहमा आउन थाल्छन्। अर्थात् बाहिर प्रकट हुन थाल्छन्। र ती पनि बिना प्रतिक्रिया हेर्दाहेर्दै समाप्त हुन्छन्। हामी मात्र एउटा प्रत्यक्षदर्शी बन्छौं। मनको र शरीरको सम्बन्ध बारेमा सचेत हुन सिक्ने यो कलाले मनको भित्री तहसम्म विगतदेखि थुप्रिएका कर्मसंस्कारलाई विस्तारै पखाल्दै मनलाई शान्त र निर्मल गराउँछ।

पालीमा मेत्ता भावना भनिने मंगल मैत्री सँगै १० दिने विपश्यना यात्रा सकिन्छ। मैत्री भावनामा आफूले दश दिन कमाएको पुण्य, मन निर्मल गरेर पाएको आनन्द सबैलाई बाँडिन्छ।र भित्री मनदेखि नै कामना गरिन्छ- सबको मंगल होस्। अनुभव हुन्छ- दुःखको कारण आफू भित्रैबाट सुरु हुन्छ। यसरी बोधीको बाटोले आफूभित्रै डोर्याोउँछ। अनुभव हुन्छ- सुखको खोज आफूभित्रै गएर टुङ्गिन्छ। विपश्यनाले मानिलाई आत्मअनुभवद्वारा यो ज्ञान सिकाउँछ।

हामी बाहिरी संसारलाई आफ्नो सुख र दुःखको लागि जिम्मेवार मानेर आफूअनूकूल संसारलाई परिवर्तन गर्न चाहान्छौ। तर जबसम्म आफू भित्रै बाटै परिवर्तन आउँदैन। हाम्रो दुःखको अन्त्य कहिलै हुनेछैन। १० दिनको एउटा शिविर बस्दैमा बुद्धत्व प्राप्त नभए पनि यसले जीवन जिउने कलाको रफस्केच भने अवश्य ड्राफ्ट गर्छ।

बाँच्ने कला नजानेर हामी भएको सम्पत्ति र शक्तिका कारण दुःखी छौं। कति मानिस फेरि केही नभएरै दुःखी छन्। मानिसले यो सबबाट उन्मुक्तिका लागि भग्ने बाटाहरु असंख्य बनाएको छ। तर जति खुशी (दु:खी) भोगेँ भनेर भागे पनि वास्तविकताको तहमा हामीलाई पाँच इन्द्रिय र मन बाहेक अन्त केही भोगिरहेकै हुँदैनौं रहेछौ‌। कोही टेन्सन हुँदा रक्सीको बोतलतिर भाग्छन्, कोही चुरोटको बट्टातिर एवं कोही सिनेमा हल र थियटरतिर। तर एक छिनलाई भागे पनि मस्तिष्कको तहमा तनाव उस्तै रहन्छ। दिमागबाट त्यसलाइ डिलिट गर्ने तागत न त सिनेमासँग छ न त नशालु पदार्थहरुसँगै। दश दिनको पूर्ण मौन र साधनाले मानिसलाई आफूबारेको यो नांगो यथार्थ अगाडि ल्याएर तेर्साइइदिन्छ। यो साधना यथार्थलाई भागेर हैन सामना गरेर सम्यक र शान्त जीवन जीउने बाटो हो।

हामीसँगै शिविर बसेकाहरू १० दिनको साधनापछि बोल्न पाउँदा साधकहरु निकै शान्त र बेग्लै चमकमा देखिए। सबैको अनुहार प्रफुल्ल थियो। पहिलो पटक गएकाहरु अनौठो मान्दै आफ्नो अनुभाव बाँड्दै थिए। पुराना साधकहरु नयाँका जिज्ञासा मेट्दै थिए। टेनिसनको कविता खोपेकी रसियन युवती भन्दै थिइन् ‘मेरो खोजको अन्त्य म भित्रै गएर भएको छ (माइ सर्च ह्याज इन्डेड इन्साइड माइसेल्फ)। आफूभित्रको यात्रा पूरा गरेर १२ औं दिन बिहान फेरि हामी संसार र शब्दतिर फर्कियौं। फर्किंदा संसार तनाव, भागदौड, टेन्सनमा पहिला जस्तै रफ्तार लाइरहेको थियो। फरक थियो त केवल हामीले सिकेको विद्या- जीवन स्वीकार्ने कला।

अर्को रमाइलो अनुभव पढ्नोस् : गणेशमानले त्यसरी पो पढेछन्

[विपश्यना अनुभव गराउने ध्यान विधि हो। त्यसैले यसबाट लाभान्वित हुन स्वयं शिविरमा बस्नैपर्ने हुन्छ।]

ध्यान शिविर जान यो लिङ्कमा क्लिक गरेर नेपालका सेन्टरहरुको ठेगाना पाउन सक्नुहुन्छ।
नेपाल बाहिर बस्नुहुन्छ भने यो लिङ्कमा क्लिक गरेर नजिकको ध्यान केन्द्र ठेगाना पत्ता पाउन सक्नुहुन्छ।

ध्यान केन्द्र रहेको शिवपुरीबाट यस्तो देखिन्छ राजधानी काठमाण्डू

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

No comments yet... Be the first to leave a reply!