यत्ति थाहा छ, केही थाहा छैन

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

यहाँ ब्रायन एडम्सको ट्विटर फलो गर्नु पर्दैन। न त विकिलिक्सको केबल फलो गर्दै अमेरिकी दूताबासका डकुमेन्टसँग घोत्लिनु पर्छ। इकोनोमिष्टमा के आएछ ? नेपाल र माओवादी बारे टाइम्स अफ इन्डियाले के लेखेछ ? केही दिनदेखि यी तमाम विषयहरुबाट मुक्ति मिलेको छ। काठमाण्डू लाइफ वरपर दाउपेच-प्रतिस्पर्धाहरु दौडिरहँदा मैले आफ्नो आनन्दको बाटोबारे सोच्न थालेको थिएँ। त्यहाँ के हुन्छ मैले अनुभव गरेको छु।

‘बडो बौद्धिक बन्नुपर्छ’, ‘सम्पत्ति थुपार्नुपर्छ’ र ‘म यस्तो (राजनेता, पदवाला, धनाड्य, मिडियाकर्मी, समाजसेवी आदि) मान्छे हुँ’ भन्दै अरुको मनमष्तिस्कमा कृत्रिम इमेज बनाउनुपर्छ भन्ने छटपटी केन्द्रित गतिविधि मात्र। चुपचाप रियलाइज गरिरहेछु काठमाण्डू परिदृश्य; कुनै प्रतिस्पर्धामा सहभागी नभइ; कुनै प्रतिक्रिया नजाइ।

इच्छाएरै ग्याजेट (ल्यापटप पनि) छाडेर हिँडेको धेरै वर्षपछि कलमले डायरी लेख्नुपर्‍यो। रमाइलो अनुभूत भइरहेछ सोलोपेनको यो लेखन। यसरी नै डटपपेनले लेखेको भए पुराना फिलिङ्सहरु साथै हुन्थे होला। ठिकै छ… अबदेखि लेखे भइगो नि। यो ध्यान केन्द्र हो। सबैलाई सेवककाे रुपमा यहाँ बस्न अनुमति छैन। बेसुरको जीवनमा अभ्यस्त मान्छेका लागि मन भुलाउने जक्सन सहरमा थुप्रै छन्।  ध्यान केन्द्रकाे नेचुरल जीवन त्याेभन्दा फरक कुरा हाे। साँच्चै यहाँ मान्छे; नेचुरल्ली एउटा मानव रहन्छ। पहिलो त ‘म ठूलो राजनेता’, ‘मन्त्री’ ‘धनाड्य’, ‘पदवाला’ ‘पत्रकार’, ‘बौद्धिक’, ‘समाजसेवी’ आदिको (सेल्फ) इम्पोज बिल्ला उतार्न कोही चाहँदैन। आँट गर्दैन। बरु ती विषयसँग जुको जसरी टाँसिएर रहन खोज्छ। अलि अलि बुद्धिको तहमा ‘राम्रो हो’ भन्ने बुझाइ बनाए पनि अन्त्यहीन इच्छाहरुको दास बनेर फगत मृत्युतिर भागिरहन्छ। संसारको ठूलो हिस्सा त शक्ति, सत्ता, पद, धन अनि समाजसेवी, मिडियाकर्मी, बौद्धिक जस्ता तिनै इम्पोज लाइफका अनगिन्ती लेयरहरुमा लपेटिने इच्छाहरुकै पछि दौडदा दौडदै मृत्युको मुखमा पुगिसक्छ।

‘साहस जुटाउन मलाई पनि धेरै समय लाग्यो’, मैले क्रिसलाई सुनाएँ।

उ सानफ्रान्सिस्कोबाट आएको बिजनेस म्यानेजमेन्टको ग्र्याजुएट। पूरा नाम क्रिस आर्नोल्ड। यहाँबाट नहिँडेसम्म स्वयंसेवामा उ मेरो दोस्त हुनेछ। स्वंसेवकहरु धेरै छैनन्। काम, ध्यान र खानाको समय मिलाउनुपर्ने जिम्मा मेरो काँधमा छ। ‘बैंककमा पहिलो पटक विपश्यना गरेपछि मलाई दक्षिण एशियाको कुनै एउटा देशमा जीवन बिताउ भन्ने सोच जाग्यो’, क्रिसले ५ वर्षअघिको आफ्नो जीवन कहानी सुनायो। २८ वर्षे क्रिस अचारको सौखिन छ। उ चाहन्छ भारतको कुनै सहर वा नेपालमा बाँकी लाइफ बिताउन। सानोतिनो व्यापारसँगै अध्यात्मिक जीवन उसको रोजाइमा छ। ‘नेपाली केटी बिहे गर। अचार बनाएर खुवाउनेछे’, घरिघरि म जिस्काउँछु। उ दङ्ग पर्छ।

आजदेखि मेरो रुममा नयाँ पाहुना आएका छन्। चिलीका रिनाल्डो। पेशाले आर्किटेक्ट इन्जिनियर। उनी सेन्टरका नयाँ बन्ने विल्डिङहरुको डिजाइन बनाउन आएका हुन्। ‘आँ…क्याटमान्डू!’ मेरो जवाफपछि उनी प्रशन्न भए। लगभग हरेक वाक्य उच्चारण गर्नुअघि ‘आँ….’ गर्ने रिनाल्डो धम्मश्रृङ्गमा दश र २० दिने कोर्स गरेर काठमाण्डूबाट सोझै यहाँ आएका रहेछन्। ‘अजितको ठिक छ, सारै सहयोगी। दिपेश ३० दिने कोर्स बस्ने कुरा गर्दै थियो काम पनि खोज्दैछन्’, काठमाण्डूका धम्म ब्रदरहरुकाे अपडेट पाएँ।

ध्यानमा धेरै परिपक्व भएर होला उनी रमाइलो र शान्त लाग्छ। उनलाई प्यारो लाग्ने एउटा बुद्ध बचन- The good you do today will be forgotten tomorrow… Do good anyway. खै! लेख्न वा बोल्न जति सजिलो जीवनमा उतार्न कहाँ छ र ! जे भए पनि कोसिस गरौंला। उनको मंगल होस्।

***
४ बजे उठ्नु। नुहाउनु। साधकहरुको साधनामा हर तरहले सघाउनु। आफैँ ध्यानमा बस्नु। आश्रमको सरसफाइ गर्नु। आचार्यलाई सहयोग जुटाइदिनु। अनि दैनिक ध्यानीहरुको गतिविधि अब्जर्ब गर्नु। निर्धारित  समयमा खाना खानु अनि राति साढे ९ बजेतिर सुत्ने एउटा निश्चित व्यस्त दैनिकी छ। फूल गोडमेल गर्दै हाजरीले पानी सिँच्न र फुर्सदमा डिस्कोर्स सुन्न मलाई मनपर्छ। प्रकृतिले दिएको यो सुन्दर ठाउँ वरिपरि पाँचतारे होटलका रिसोर्टहरु बन्दैछन्। बीचको यो ध्यान केन्द्र धेरै देशका मानिसकाे राेजाइमा रहेछ।

‘मुम्बइ पनि ठिकै छ। श्रावस्ती वा नागपुर धेरै सिरियस साधकहरु जान्छन्’, भिक्षु कोले आफ्नो अनुभव सेयर गरे।

विरोधाषपूर्ण जीवनको यो विन्दूमा म अधिकतम न्युट्रल बनेर जीवन र बाह्य अवस्थालाई नियालिरहेछु। यहाँनेर स्पष्ट छैन जीवनको कुन बाटो लाग्छु/लाग्दिन; फेरि ब्लग अपडेट गर्छु/गर्दिन; भन्न सक्दिन कहाँ पुग्छु/पुग्दिन।

यतिबेला निश्चित यो हो यी सबै विषयहरु अनिश्चित छन्। र, यो बेला मलाई यति मात्र थाहा छ कि मलाई केही थाहा छैन।

सबको मंगल होस्।
9 March 2011


क्रिस मभन्दा अग्लो छ। फोटोको लागि एलेक्सलाई साधुवाद।

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

2 Responses to “यत्ति थाहा छ, केही थाहा छैन”

  1. लेखकज्यू तपाईंसँग केही माग्दिनँ । एउटा चीज माग्छु दिनुहुन्छ ? दिनेभए माग्छु नत्र माग्दिन । म माग्छु- त्यो के भने नियमित पर्दैन तर कृपया आफ्ना नयाँ अनुभव ब्लगमार्फत् हामीलाई बाँडिदिनुहोस् ।

  2. Paresh ji !
    kris अल्ली अल्छि हुनुहुन्छ 🙂
    मेरो मत्लब आफ्नो ब्लगमा शब्द उभार्न चै —
    तर जब उभार्नु हुन्छ ति मननिय हुन्छन —-