तिम्रो मंगल होस्

Twitter Digg Delicious Stumbleupon Technorati Facebook


एउटा नयाँ अनुभवका लागि आतुर भइरहँदा त्यो क्षण फेरि म खिस्रिक्क परेँ। मलाई चिन्छु भन्ने विपश्यनाको पूर्व साधक कोही थिएन। फर्ममा कसैको सिफारिश चाहिने स्पष्ट थियो। अध्यात्मको क्षेत्रमा के जिद्दी गरिरहनु। म कर्मचारी दिदीसँग प्रतिवाद नगरी सर्लक्क फर्कें। सोचेँ मेरो सर्कलमा कोही ध्यानी छैनन्। जो छन् ती कहाँ छन् भन्ने टुंगो छैन। यसो गरु कि त्यसो गरु वा के गरुँ… भनेर भौतारिँदै मैले पुरानो वानेश्वर कुमारी क्याफेँमा दुई कप कफी सिध्याएँ। र कसैसँग सल्लाह नगरी अर्को निष्कर्षमा पुगेँ- ‘जे जे भए पनि गएरै छोड्छु।’ सिफारिश बिनाको फर्म लिएर म फेरि ज्योती भवन पुगेँ। ‘सिफारिश भयो ?, साधना विधि पढ्नु भो ? पञ्चशील के हो ?’ कर्मचारी दिदीले सोझो भाषामा सोधिन्। मनोवैज्ञानिक रुपमा अति कमजोर रहेको त्यो बेला मेरो मुखबाट वाक्यहरु थोरै निस्किए। ध्यान त अध्यात्मको क्षेत्र किन यसरी प्रश्नहरु तेर्साउनु परेको होला ? सरक्क जान दिए त भइहाल्यो नि भन्ने लाग्यो। मसिनो स्वरमा भनेँ – ‘सिफारिश त छैन। नरोक्ने भए जान मन छ।’ यो वाक्य सुनेकी दिदीले सरसर्ती मेरो अनुहारको भाव नियालिन्। के ठानिन् थाहा छैन। केही नभनी फर्म स्वीकारिन् र खुरु खुरु ध्यानमा जानेहरुको सूचिमा मेरो नाम पनि चढाइदिन्। पीडा र छटपटीले मर्दै गरेको माछोले तलाउ पाए झैँ मन प्रशन्न भयो। १० दिन साधना गर्दा कस्तो होला भन्ने मीठा कल्पना साँच्दै म रिपोर्टिङको लागि सर्वोच्च अदालततिर लागेँ। अध्यात्मको सिँढीमा त्यो मेरो पहिलो पाइला थियो।

***
साधना यात्राको पाँच वर्ष पूरा भएर ६ वर्ष लाग्दा म जीवन यात्राका धेरै विष/अमृत पिएर फेरि धम्मश्रृङ्गमै आइपुगेको छु। बुद्ध पूर्णिमा अघिको १० दिने शिविरका लागि आज अपराह्न साधकहरु आइपुग्दैछन्। केही समय ध्यान गर्ने र सिध्याएको कामको एउटा फाइल कम्प्युटरमा ट्रान्सफर गरिदिएर साँझतिर फर्कने योजनामा छु। यो बिहानी खाजाको समय हो। लङ कोर्स हुने क्षेत्रको नजिकै एउटा मृग निर्भयपूर्वक चरिरहेछ। शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगलमा चराचुरुङ्गीको चिरबिर आवाजले प्रकृतिबोध गराइरहेछ। अनि मन चङ्गा र शान्त छ।

ओहो ! मेरो जीवन यात्रालाई सम्यक मार्गमा ल्याउन कति धेरै मान्छेहरुको योगदान ! कति धेरै मान्छेहरुको सहयोग !!! ज्योति भवनकी दिदीले त्यो दिन सिफारिश बिनै अनुमति नदिएको भए म जीवनभरि नै यहाँ आउथेँ वा आउदैनथेँ। त्यो पहिलो शिविरमा आचार्य गोयन्का र उपस्थित भएका लक्ष्मीनारायण खेम्का/वसन्त तामाङले त्यति मिहिनेतपूर्वक साधना विधि पालना गर्न नलाएको भए मैले यति धेरै सिक्न सक्थेँ वा सक्दैनथेँ। त्यो शिविरमा मेरो साधनामा सहयोग पुर्‍याउने भोलन्टियरहरु अजित दाइ र दिनेश दाहाल दाइ र अर्को एकजना स्पेनिस भोलन्टियर सम्झिरहेछु। ती सबै मेरा रोल मोडल थिए। सेवा पाएको मात्र हैन साधनाका अनेकौं पक्ष अप्रत्यक्ष सिकाउने यी व्यक्ति सम्झिँदा हृदय कृतज्ञताले भरिन्छ।

सन् २००९ को अन्तिमतिर भेट भएकी झरना, ६० दिने कोर्स समेत सञ्चालन गरिसक्नु भएका आचार्य आनन्द र सेनाका पूर्व कर्नेल नरबहादुर गुरुङले लर्खराउँदै गरेको मेरो साधनालाई स्नेहपूर्वक सही मार्गनिर्देश गरेकै कारण साधनाको क्षेत्रमा म यतिको स्थिर छु। जब मेरो आँखामा यी इमेजहरु घुम्छन् कृतज्ञताको भाव जागेर आउँछ; सम्मानको भाव जागेर आउँछ।

यो पाँच वर्षमा धेरै किसिमका मान्छेको संगत पाएँ। ती हरेक पात्र र प्रवृत्तिले मलाई रोमाञ्चक बनाउँछन्। पैसाको अभावमा दुःखको घुट्का पिएर बाँच्न विवशहरु, प्रशस्त धन र राम्रो पोजिसनसँगै घमण्डको नशाले मातेकाहरु, सानोतिनो जागिरसँगै बजार र बेहोसीले जीवनलाई छर्लप्प छोप्नेहरु, गरिबीले पिल्सिएर दुई छाक टार्न छटपटाइरहेकाहरु अनि प्रशस्त धन भएर पनि जीवनमा दुःखै दुःख बढाएर निदाउन स्लिपिङ पिल्स लिनुपर्नेहरु। र धन भएर पनि पनि धनको फुइँ नगरी बाँचेका मनकारीहरु। सम्पत्ति खातिर कठोर परिश्रम गर्नेहरु अनि जीवनको आनन्दमा मग्न हुँदै प्रोग्रेसलाई आफ्नो छायाँ जसरी पछि लगाएर आनन्द र शान्तिको जीवनयापन गर्नेहरु। मानव दुःखप्रति करुणाभाव राख्दै हर्दम अरुको घाउमा मल्हम लाउन तत्पर हुनेहरु र त्यही दुःखलाई सबैभन्दा ठूलो बोझ ठानेर मन सिर्जित अनन्त इच्छाको भोग विलासतर्फ लागेकाहरु।

मैले देखेँ कुनैबेला सिंह जस्तो गर्जन लिएर हिँड्नेहरु केही वर्षको अन्तरालमै भिजेको मुसोजस्तो बनेको। मैले देखेँ कुनै बेला पीडा, छटपटी अनि निरासाले गाँजेर जीवन घिसार्दै हिँड्नेहरु दुई चार वर्षमै अनन्त आनन्दमा स्थापित हुँदै गएको। र म हरेक दिन देखिरहेछु बूढेसकालले गाला चाउरी परिसकेकी एक वृद्ध आमा। जो रोगले छटपटाइ रहेछिन्। दुःखाइको ऐया… आत्थो… सँगै तिनले निकाल्ने सुस्केराले कहिले कहीँ रातको निद्राबाट ब्युँझन्छु। अनि आफैँलाई सोध्छु- संसारमा को चाहिँ सुखियारा छ र ? कुन चाहिँ उमेरको मान्छे वास्तविकताको तहमा सुखी भएको हुन्छ ? धन नै सुख प्राप्ति हो भने संसारको सम्वृद्ध अमेरिका, स्क्यान्डिनेभियन मुलुकहरु र अरब विश्वका मान्छे सबैभन्दा बढी आनन्द र शान्तिमा स्थित हुन्थे होला। नेपाल, इथयोपिया, अमेरिका, न्युजिल्याण्ड, मंगलग्रह वा चन्द्रमा कहाँ छ सुख ? को छ सुखियारा ? अनि कसले भोगिरहेछ शान्ति र आनन्दको जीवन ?

फरक समय र स्थानमा भेटिएका यी हरेक पात्र र प्रवृत्ति मेरो जीवनका थप गुरुहरु हुन्। यी सबैबाट मैले केही न केही सिकेको छु। यी सबले मेरो अध्यात्म यात्रालाई थप पुष्ट पार्न सघाएका छन्। मेरो सद्भाव छ सबैप्रति; सम्मान छ सबैप्रति। परिवर्तनशील जीवनको यो अनित्य यात्रामा मेरो जीवनका हरेक पल सम्यक मार्गमा मात्र चलेका छैनन्। वाणि/शरीर/चित्तले जो जसलाई जहाँ जहाँ हानी पुर्‍याएँ सबैसँग माफी चाहन्छु। सबैसँग क्षमा चाहन्छु। जसका व्यवहारले मलाई दुःखी बनायो तिनले मनमा अलिकति पनि अपराधबोध गर्नु पर्दैन। सबलाई उन्मुक्ति छ; माफी छ। सबको मंगल होस् ! सबको कल्याण होस् !!

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

3 Responses to “तिम्रो मंगल होस्”

  1. संसारमा को चाहिँ सुखियारा छ र ? कुन चाहिँ उमेरमा मान्छे वास्तविकताको तहमा सुखी भएको हुन्छ र ? ……….
    i like it…

  2. i liked it, specially the different types of ppl like pills khaera sutne, etc
    plus, nice picture

  3. I fully agree with the author of this nice article as i started experience since i was twenty-two. I still remembered my first Vipassana experience which made me peaceful and happy for the following years. Afterwards i have been gone again for another 10 days course in Dhamma Sikhara, India. i realized reality of life and significance of the humanity and Dhamma. I have written much through my experience.

    I love your article Mr. thin; keep it up. When I will reach to kathmandu will inform you. metta