धोनी बसेको सोफामा नेपाली क्रिकेट टोली

Tue Sep 11 0 Comments

धोनी बसेको सोफामा नेपाली टोली।

विश्व क्रिकेट लिग डिभिजनमा शानदार प्रदर्शन गरेको नेपाली क्रिकेट टोली काठमाण्डू फर्किंदा अरू बेला भन्दा विमानस्थलको वातावरण फरक थियो। नेपाली क्रिकेटमा अर्थपूर्ण फड्को मार्दै मलेसिया एयरलान्समार्फत घर फर्केको टोली काठमाण्डू उत्रनासाथ भारतीय क्रिकेट स्टार महेन्द्र सिंह धोनी बसेको सोफामा बस्यो। सम्झना छ ? धोनीले काठमाण्डू विमानस्थलको त्यही हल्का पहेलो सोफाबाट जुन १६ का दिन नेपाली क्रिकेटप्रति सद्भाव सन्देश दिँदै भनेका थिए-‘दक्षिण एशियामा नेपाल अर्को एक राम्रो क्रिकेट टोलीको रुपमा उदाउनु पर्छ।’

धोनी काठमाण्डूबाट दिल्ली फर्केको ठिक ४ महिनापछि नेपाली क्रिकेट टोली आज निकै सानका साथ त्यही सोफामा बसेको थियो। धोनी बसेको सोफामा पारस खड्का बसे भनेर मात्र हैन। हाम्रो क्रिकेट टोली स्वदेश फर्किंदा धेरै क्रिकेट शुभेच्छुकले नेपाली क्रिकेट बारे धोनीले बोलेको कुरा सम्झिए। कुरा ठिकै हो आइसीसी विश्‍व क्रिकेट लिग डिभिजन ४ का सबै खेल जितेको नेपाली टोली दक्षिण एशियाको अर्को क्रिकेट शक्ति बन्ने लक्ष्यको नजिक पुग्दैछ। त्यसैले च्याम्पियन टोलीको स्वागत गर्न सांस्कृतिक बाजागाजासहित विमानस्थलमा शुभेच्छुकको भिड देखियो।

क्रिकेटस्टार धोनी बसेकै सोफाबाट नेपाली टोलीका क्याप्टेन पारस खड्काले सानका साथ उद्घोष गरे- ‘भोलि नै वर्ल्ड कप खेल्नुपर्छ भन्ने छैन। खेलको लय यस्तै रह्‍यो भने हामी चाँडै वर्ल्ड कप खेल्नेछौं।’

नेपाललाई गौरवशाली र ऐतिहासिक जित दिलाएको भन्दै फेसबुकको नेपालीक्रिकेटफ्यान्सग्रुपले टोलीलाई स्वागत गर्न विमानस्थल जानलाइ अपिल गरेको थियो। ग्रुपमा मंगलबार साँझसम्म १९ हजार ७ सय ५६ सदस्य छन्।

वास्तवमै नेपाली राष्ट्रिय क्रिकेट टोलीले विदेशी भूमिमा यति ठूलो जित त झन् नेपालले पहिलो पटक चाखेको हो। त्यसैले होला मंगलबार विमानस्थलमा खेलाडीलाइ प्रहरीले कडा सुरक्षा घेरामा राखेर बाहिर निकाल्यो। अरू बेला खेलाडी स्वदेश फर्किंदा एयरपोर्टका कुनै सुरक्षा अधिकारले बाल दिने थिएनन्। आज चै मातृभूमिमा उत्रना साथ दर्शकबाट समेत खेलाडीले उत्साहप्रद हुटिङ सुन्न पाए। ‘ग्रेट क्याप्टेन पारस खड्का, ग्रेट कोच पुबुदु दासानायके’फेसबुकको ग्रुपले मातृमूमिमा क्रिकेट टोलीलाइ स्वागत गर्दै नारा लायो।


काठमाण्डू विमानस्थलको त्यही सोफामा धोनी।

स्वागतको भिडियो हेर्नोस्। यो नागरिकन्युजको यूट्युब च्यानलबाट लिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *