कोरोनाबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु

Sun May 31 0 Comments

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्म विश्वभरि १ सय २८ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी ब्रिटेनमा ६६ जनाले ज्यान गुमाएका छन्।

एनआरएनए उच्चस्तरीय स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा मृत्यु भएका ७ जना समेत समावेश छन्। कोरोनाबाट युएईमा १९ र अमेरिकामा १७ नेपालीले ज्यान गुमाएका छन्। विदेशस्थित अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा समितिले तथ्यांक संकलन गरेको हो।

कोरोनाका कारण साउदी अरबमा ८, नेपालमा ७ र बहराइनमा ३ जनाले ज्यान गुमाएको स्वास्थ्य समितिले उल्लेख गरेको छ। यो तथ्यांक नेपाली समयअनुसार आइतबार बिहान सम्मको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ज्यान गुमाउनेमा यो हप्ता ७ जना थपिएका हुन्। बहराइनमा २ जनाको निधन भएको छ। युएई, युके, अमेरिकामा, कुवेत र साउदी अरबमा १—१ नेपालीको मृत्यु भएको छ।

४ हजार ५ सय निको भए
विदेशमा कोरोनाबाट संक्रमित हुने नेपालीहरुको संख्या १४ हजारभन्दा बढी पुगेको छ। स्वास्थ्य समिति संयोजक डा.सापकोटा भन्छन्, ‘नेपालबाहेक ३४ देशमा रहेका १४ हजार ४ सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन्।’

संक्रमित नेपालीमध्ये ४ हजार ५ सय निको भएकोे डा. सापकोटाले जानकारी दिए। ‘यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको छ’, उनले भने।

विदेशबाट नेपाली फर्काउन गैरआवासीय नेपाली संघले सरकारलाई सघाउने निर्णय गरेको छ। ‘सरकारले गरेको निर्णय हामी सवागत गर्दछौं। प्रभावकारी कार्यान्वयन होस् भन्ने हाम्रो आग्रह छ’, संघ अध्यक्ष कुमार पन्तले भने, ‘अप्ठ्यारोमा परेका नेपाली सुरक्षित नेपाल फर्काउन सहजीकरण गर्न संघ तत्पर छ।’

यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको थियो। विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघ महासचिव डा. हेमराज शर्माले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *