रिभिजिटिङ टेटाङ्चे

Tetangche1 हामी कुनाको मान्छे डुकेमेन्ट्रीकी एक जना पात्र सविना। आइफोन 6+ ले खिचेको फोटो।

मेरो टेटाङ्चेसँगको साइनो जम्माजम्मी त्यही एउटा वृत्तचित्रको मात्र हो। मैले त्यो वृत्तचित्र हेरिरहेको बेला कल्पनासम्म पनि नगरेको जिम्मेवारी लिएर यतिबेला म त्यही कुनाको गाँउको आसपास बरालिइरहेछु। र त्यो कुनाको गाउँमा आएको परिवर्तन अनुभव गरिरहेछु। कुनै बेला सिम्बु र टेटाङ्चेबासीको दुःख मानिएको त्यही सिम्बु खोलाले अब छिट्टै ४२.५ मेगावाट विद्युत निकाल्दैछ र सिम्बु माथिको सान्जेन खोलाले १४.८ मेगावाट।

वृत्तचित्र हेर्ने शोख पूरा गर्न सन् २००६ को फिल्म साउथ एशियामा केसाङ छेतेनले रसुवाको टेटाङ्चे र सिम्बु गाउँमा केन्द्रित भएर बनाएको बृत्तचित्र ‘हामी कुनाका मान्छे’ हेर्न जाँदा हामी पत्रकारितामा स्नातक अध्ययन गरिरहेका अल्लारे विद्यार्थी थियौं। त्यतिबेला हामीलाई अलि बौद्धिक किसिमको ह्याङआउट गर्नु थियो। तर काठमाडौं खाल्डाको संकुचनबाट कहिल्यै बाहिर नसिस्केको मलाई वृत्तचित्रको अन्त्यमा एउटा झोलुङ्गे पुलले दुर्गम गाउँमा बस्ने समुदायको जीवनमा कत्रो अर्थ राख्छ भन्ने चेतनाले झस्काएको थियो। यसरी झस्किएको १२ वर्षपछि केही दिन अघि टेटाङ्चे पुग्दा वृत्तचित्रका दुई दर्शक (म र कृष्ण) सँग ४ वर्षको छोरो पनि थियो।

रसुवाका प्रत्येक गाउँ घुम्दा नयाँ कथा र नयाँ पात्र प्रशस्तै भेटिन्छन् तर टेटाङ्चे जाँदाको हाम्रो उत्साह भने त्यहाँ १२ वर्ष अगाडिको कथाको पात्र भेट्नलाई थियो। संयोगवस हाम्रो गाडीको ड्राइभर त्यहीँको स्थानीय रहेछन् त्यो कथा र पात्रको राम्रो ज्ञान भएका। यात्रामा त्यो हामीलाई बोनस सावित भयो।

हिउँदको समयमा स्याफ्रुबेसीबाट अलि पर रोङ्गा खोला हुँदै कच्ची मोटरबाटोबाट करिब २० मिनेटमा थाम्बुचेत पुगिन्छ। त्यहाँबाट गाडीमा करिब पौने घण्टामा टेटाङ्चे। तर हामी त्यति सारो भाग्यमानी ठहरिएनौं। रोङ्गाको बाटोमा बस बिग्रेर अवरुद्ध भएको खबर पाएपछि हामीले स्याफ्रुबेसीबाट थुप्रै मोड भएको करिब सवा घण्टाको घुमाउरो बागुङ डाँडाको चुचुरो उक्लिएर थाम्बुचेत झर्नुपर्ने भयो। यो वैकल्पिक सडक प्रयोग गर्दाको रोमाञ्चक पक्ष भन्नु नै आकाश छुने जस्ता चट्टाने पहाडहरु र पारिपटी देखिने लाङटाङ हिमाल र लौरिबिनालाई अर्को कोणबाट नियाल्नु हो।

गणेश हिमालको सिसाखानी पुग्न गत्लाङ, पार्वतीकुण्ड हुँदै धादिङको सोमदाङसम्म जोडिएको यो कच्ची बाटो निर्माण भएको करिब ३ दशकसम्म पनि स्तरोन्नती भएको छैन। अझ बर्खामा यो बाटोमा ज्यान हत्केलामा राखेर गाडी चलाउनुपर्छ। बाटोबाट देखिने दृष्यहरुले भने त्यो कहर केही हदसम्म मथ्थर पारिदिन्छन्। तल खोँचमा बगिरहेको भोटेकोशी र वरिपरिका अग्ला अग्ला ‘रक्की माउन्टेन’ देखेर रमाएको मेरो छोरालाई गाडीको उफ्राईसँग कुनै मतलब थिएन।

टेटाङ्चे पुग्ने बेलासम्ममा कच्ची बाटोमा उफ्रिएर थिल्थिलो भएको ज्यानलाई अब भोकले पनि सताउन थालेको थियो।

रसुवाका भिरपाखामा प्रशस्त लेकाली आलु फल्छ। र आठ महिनाको रसुवा बसाइको मेरो अनुभवले भन्छ यहाँ गाउँपिच्छे आलुको स्वाद फरक हुन्छ। त्यो जति फरक हुन्छ त्यति नै विशेष पनि हुन्छ। टेटाङ्चे आसपासका अरु गाउँको आलुको स्वादसँग परिचित मैले खाजाको रुपमा कोही स्थानीयको घरमा आलु उसिन्न लागाएर खाने प्रस्ताव राखेँ। समाजलाई नजिकबाट नियाल्न मलाई यो एउटा राम्रो उपाय लाग्छ। गाउँ घुम्न निस्किँदा होटेलभन्दा स्थानीयको घरमा खाँदा रहनसहन, पारिवारिक संरचनासँग जस्ताको तस्तै परिचित हुन पाइन्छ। तर यसले कहिलेकाहीँ शाकाहारी मलाई अप्ठ्यारो पनि पार्छ। हिमाली भेगका अधिकांश घरको चुलोमाथि मासुको सुकुटी तुन्द्रङ्ग झुण्डिएको हुन्छ। र मलाइ त्यसको बोसो पग्लिएर कतै खानामा झरिहाल्छ कि भन्ने पिर लागिरहन्छ।

चालक दाईले हामीलाई १२ वर्ष अगाडिको तिनै ‘हामी कुनाकी मान्छे’की पात्र सम्झना वाइबा (हेर्नुहोस् उनको फोटो माथि) सँग जोडिदिए। अब हाम्रो खाजासँगै टेटाङ्चेको पुरानो कथा उनले पस्किने भइन्।

IMG-4905 टेटाङ्चे गाउँ। आइफोन 6+ ले खिचेको फोटो।

आलु उसिन्न केही समय लाग्ने भयो। त्यही मौकामा हामी अलि माथि तिलोचोतिर लाग्यौं। त्यहाँ अपर सान्जेन जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ। सिम्बु र टेटाङ्चे दुई गाउँको बीचबाट सिम्बु खोला बग्छ। खोलामा पुल नहुँदा दुई गाउँलेलाई आवत—जावतमा कठिनाइ भएपछि झोलुङ्गे पुल निर्माणका लागि गरिएको प्रयासमाथि केशाङ छेतेनले वृत्तचित्र निर्माण गरेका थिए।

त्यही सिम्बु खोलामा १२ वर्ष अगाडि हेल्भेटासको सहयोगमा गाउँलेले निर्माण गरेको झोलुङ्गेपुल हेर्ने हाम्रो उत्साह देखेर चालक दाईले हामीलाई पुलको मुखैमा पुर्याइदिए। तलपट्टि अर्को फलामे पुल बनिसकेपछि अहिले त्यो वैकल्पिक पुलमा सीमित भएको रहेछ।

यात्रामा हामीमध्ये सबैभन्दा उत्साही छोरो थियो। गाडीबाट हामी झर्ने बेलासम्म छोरो दौडेर पुल पारि छेउमा पुगिसकेको थियो।

‘आम्मी, बाबा ! ह्वाइट कलरको खोला छ यहाँ’, उसले पुलपारिबाट जोडसँग चिच्यायो।

सानो छोरोले खोलालाई कालो, खैरो र सेतो गरी तीन किसिममा वर्गीकरण गरेको छ। काठमाडौंको बागमती देखेर हुर्किएको उसले सुरुमा कालो बाहेक अरु रंगको खोला हुन्छ भनेर पत्याउनै मान्दैनथ्यो। पहिलोपटक वर्षा याममा रसुवा आउँदा त्रिशुली र भोटेकोशी धमिलो थियो। त्यतिबेला उ खोला त ‘ब्राउन कलर’को हुने रहेछ भनेर फर्किएको थियो। यस पटक हिउँदमा सङ्लो खोला देखेर अब सेतो स्वच्छ खोला पनि हुन्छ भन्ने विश्वस्त बन्दै गएको छ।

तिलोचेमा अपर सान्जेन जलविद्युत आयोजनाको साइट अवलोकन गरी खाजा खान ओर्लिने बेलासम्म साँझको हिउँदे चिसो वयस्क भइसकेको थियो।

अरु गाउँमा जस्तै टेटाङ्चेमा पनि भुकम्पका अवशेष टन्नै बाँकी छ।  भुकम्पले ढलेका सबै घर उठिसकेका छैनन्। केही जेनतेन उठ्ने प्रयासमा छन् भने केही घरको नाममा जस्ताको टहरा मात्र छन्। भुकम्पपछि बनेका काठका चिटिक्क परेका साना घरले टेटाङ्चेको मौलिकता झल्काउँछ ।करिब सबै मौलिक घरको छतमा टुक्रुक्क अडिएको डिसहोमको एन्टेनाले भने त्यो कुनाको गाउँलाई एउटा ठूलो संसारसँग जोडिरहे झैं भान हुन्छ ।

यस्तै जस्ताको टहरोमुनीको सानो भान्सामा १२ वर्ष अगाडि वृत्तचित्रमा सिम्बु खोलाले मान्छे बगाएको नालिबेली लाउने सानी नानी सम्झना वाइवा खाजा पस्कने तयारी गर्दै थिइन्। खोलाको त्राशदीको कथा सुनाउने उनी अहिले त्यही खोलाबाट उज्जालो निकाल्ने सान्जेन जलबिद्युत परियोजनामा स्टोरकिपरको काम गर्ने जागिरे भएकी रहिछन्। तामाङ बहुल रसुवाको हिमाली क्षेत्रमा उच्च शिक्षाको स्तर त्यति राम्रो छैन । स्नातक तेस्रो वर्षको प्राइभेट परीक्षा दिन तयारी गर्दै गरेको उनले सुनाउँदा उनले पढाइलाई निरन्तरता दिएकोमा म अझ खुशी भएँ।

टेटाङ्चे र सिम्बु जोड्ने झोलुङ्गे पुलमा सुमेधको रमाइलो Sumedh, Rasuwa, suspension bridge in nepal

टेटाङ्चेको आलुसँगै उनले फर्सी पनि उसिनेर ठिक्क पारेकी थिइन्। लेकबाट यतिबेला सबै चौंरी गाउँ झरेका छन्। उनले चौंरीको दुधममा पकाएको लटक्क परेको खिर पनि पस्किइन्।

भोकले लखतरान हामीलाई सबै परिकार एक सय एक मिठो !

खाजासँगै उनले सो वृत्तचित्रको मुख्य पात्र लाक्पाको कथा पनि पस्किइन्। टेटाङ्चे र सिम्बु फेरिए पनि लाक्पाका दुःख भने फेरिएनछन् ! पहिलो श्रीमतीलाई सिम्बु खोलाले बगाएपछि दोस्रो विवाह गरेका उनको दोस्रो श्रीमती पनि बितिन् रे !

मानिसको जीवन अनेक कथाहरुको अनवरत श्रृंखला न हो । १२ वर्ष अघिका धेरै कथामा ट्विस्ट आएका छन्, नयाँ पात्र र परिवेष जोडिँदै तिनले हाँगा हालेका छन् र अरु धेरै कथाहरु पनि जन्मिएका छन् । लाग्यो आज यी सबै पात्रका जीवनलाई फेरी एक पटक पुनरावलोकन गर्ने हो भने अर्को मज्जाको बृत्तचित्र बन्ने रहेछ !

वास्तवमा यो १२ वर्षमा हाइड्रोका कारण टेटाङ्चे र सिम्बुको मुहार अपत्यारिलो गरी फेरिएको छ। कुनै बेला झोलुङ्ग पुल बनाउने फलामे लठ्ठा घिस्याउँदै गाउँ पुर्याउन संघर्ष गरेका टेटाङ्चेबासीको आँगनमै मोटरबाटो पुगेको छ। झोलुङ्गे पुलको ठिक तलबाट फलामे पुलमाथि मोटर गुड्छ। र चिलिमे हुँदै माथि तिलोचेसम्म गाडीमै जान सकिन्छ। अब यहाँका खोलाहरु स्थानीयका दुःख रहेनन्। ती अवसरमा परिणत भएका छन्। खोलाहरुकै कारण चिलिमे माथिका यी गाउँहरु उज्यालो हुँदैछन्।

सिम्बु खोलामाथिको त्यो झोलुङ्गे पुलमा फोटो खिचिरहँदा एक मनमा लाग्यो अब स्थानीयलाई यो पुरानो झोलुङ्गे पुलको सार्थकता छैन । यो त केवल हामी जस्ता कथा जोड्न आउने यात्रुहरुको रोमाञ्चकताको विषय मात्रै हो ।

तर होइन !

यो झोलुङ्गे पुल टेटाङ्चेको समय र समाज परिवर्तनको मानक पनि हो। जसले १२ वर्ष अघिको दुःखद कथालाई वर्तमानको उज्यालोसँग जोडिरहेछ कुनै बेला टेटाङ्चे र सिम्बुलाई जोडेजस्तै।

(स्मीताले रसुवामा रहँदा २०७४ माघमा लेखेको यो डायरी ल्यापटपबाट पुराना फाइल डिलिट गर्ने क्रममा भेटियो। फोटो-भिडियो फोनमा रहेछन् पोस्ट गर्दिएँ।)

No comments yet... Be the first to leave a reply!