अमेरिकी सहयोगका भेन्टिलेटर पुग्दैछन् सातै प्रदेश

Fri Nov 13 0 Comments
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्दै अमेरिकी राजदूत बेरी। तस्विरः स्वास्थ्य मन्त्रालय

कोभिड—१९ संक्रमित संख्या बढेर देशभरि भेन्टिलेटर अभाव भइरहेका बेला अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर प्रदान गरेको छ। युएसएआईडीमार्फत् अमेरिकाले ती भेन्टिलेटर उपलब्ध गराएको हो। शुक्रबार अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका भेन्टिलेटरहरू अत्याआधुनिक छन्।

फोक्सोले पर्याप्त काम नगर्ने समस्या भएका कोभिड-१९ बिरामीका लागि जीवन रक्षा निम्ति भेन्टिलेटर महत्त्वपूर्ण मानिन्छ। अमेरिकाले प्रदान गरेका ब्रान्ड न्यु भेन्टिलेटर चुस्त परिचालनशील छन्।

‘असल, खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिबद्ध छ’, स्वास्थ्य मन्त्रालयमा आयोजित भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले भने, ‘यी भेन्टिलेटरमार्फत् हामी नेपाली परिवारलाई सघाउन चाहन्छौं। जसले कोभिड—१९ बाट अति प्रभावित प्रियजनलाई सहयोग पुगोस्।’

भेन्टिलेटर हस्तान्तरणपछि काठमाडौंस्थित अमेरिकी दूतावासले कोरोना महामारीविरुद्धको लडाइँमा नेपाली जनताको साथमा अमेरिका रहेको उल्लेख गरेको छ। ‘विश्वलाई अत्यन्त प्रभावित पार्ने कोभिड—१९ महामारीविरुद्धको लडाइँमा अमेरिका नेपाली जनताको साथमा छ’, दूतावासले भनेको छ, ‘अति दुर्गम समुदायलाई समेत सघाउन अत्यन्त बहुउपयोगी भेन्टिलेटर प्रदान गरिँदैछ।’

कहाँ लगिनेछ भेन्टिलेटर?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म कोभिड—१९ का ३७ हजार २२ सक्रिय संक्रिमत छन्। तीमध्ये १२ हजार ३३९ उपचार क्रममा छन्। देशभर भेन्टिलेटर संख्या भने ५ सय ७६ मात्र छन्। राजधानी काठमाडौंमै बिरामीले सहजै भेन्टिलेटर पाउन सक्ने अवस्था छैन।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदूत बेरी (बायाँ) । तस्विर: अमेरिकी दूतावास

प्रदेश १ मा ६ वटा मात्र भेन्टिलेटर छन्। बागमतीमा ३ सय ६१ वटा छन्। गण्डकीमा ५९, प्रदेश ५ मा १०६, कर्णालीमा १७ र सुदूर पश्चिममा १० वटा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको तथ्यांकमा ८७ जना कोभिड—१९ संक्रमित बिरामी भेन्टिलेटर छन्।

यस्तो अवस्थामा अमेरिकी सहयोगमा प्राप्त १०० थान भेन्टिलेटर कहाँ लगिन्छ त? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भन्छन्, ‘अमेरिकाले प्रदान गरेका भेन्टिलेटर सातै प्रदेशलाई ७—७ वटाका दरले पठाउने तयारी छ। बाँकी ५१ वटा सरकारी अस्पतालमा २—२ वटाका दरले वितरण गरिनेछ।’ त्यसमा काठमाडाैंका संघीय अस्पताल पनि केही पर्नेछन्। उनका अनुसार प्रदेशमा भेन्टिलेटरहरू प्रदेश अस्पताल हेर्ने सामाजिक विकास मन्त्रालयलाई दिइनेछ। मन्त्रालयमार्फत प्रदेश अस्पतालले भेन्टिलेटर पाउनेछन्।

विपद, द्वन्द्व, प्राकृतिक प्रकोपजस्ता अप्ठ्यारोमा साझेदारीमार्फत अमेरिकाले नेपालीलाई सघाउँदै आएको छ। नेपाल—अमेरिका साझेदारीको इतिहास ७० वर्षभन्दा लामो छ। काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार भनेको छ, ‘त्यही सहकार्यलाई निरन्तरता दिँदै आज हामी नेपाली जनतालाई कोभिड—१९ महामारीको समयमा सहयोग गरिरहेछौं।’

कोभिड—१९ महामारीपछि युएसएआईडीले ११३ पालिकाका ‘सम्पर्क पहिचान तथा अनुसन्धान’ टोलीलाई सहयोग गरिरहेको छ। झन्डै २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श दिएको छ। कोभिड—१९ सम्बन्धी जनसञ्चार सन्देश १ करोड ४० लाखभन्दा बढी मानिस माझ पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *