ताता दिनहरू आउनेछन्

Sat Nov 13 0 Comments
Bill Gates and his book How to Avoid a Climate Disaster

मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप आफूअनुकूल बनाइदिने एयर कन्डिसनदेखि सिटमा मसाज सुविधा भएका सवारी साधनसम्म ।

सिमेन्ट निर्मित घर, कार र सुविधायुक्त सहरिया जीवन पाउँदा को खुसी हुँदैन ? अझ विकासशील देशमा बसोबास गर्ने, परम्परागत पेसा अपनाउँदै आएका मानिसका लागि यस्तो आधुनिक जीवनशैली ठूलै उल्लास हो । तर, ब्रह्माण्डीय संरचनाको सामान्य नियम छ– अन्धाधुन्ध प्रकृति दोहन र ऊर्जा खपत जसले गरे पनि त्यसको सजाय पृथ्वीवासीले पाउँछन् । शासनका लागि मानिसले पृथ्वीलाई राजनीतिक, आर्थिक एकाइमा विभाजन गरे पनि प्राकृतिक तहमा यो एउटा ग्रह मात्रै हो । त्यसका संरचनामा पर्ने अप्ठ्यारो यहाँका प्राणीका लागि विपत हो । त्यसैले अन्धाधुन्ध प्रकृति दोहन र जैविक इन्धन (कोइला, पेट्रोलियम पदार्थ र ग्यास) सहितको ऊर्जा खपतका कारण वायुमण्डलमा उत्सर्जन हुने ग्रिनहाउस ग्यास पृथ्वीवासी मानिसका सरोकारका विषय हुन् । जलवायु परिवर्तनको विपत् मानव स्वास्थ्य र जीवनसँग सीधै जोडिने विषय हो । अमेरिकी लेखक एवं माइक्रोसफ्ट संस्थापक बिल गेट्सको नयाँ गैरआख्यान किताब ‘हाउ टु अभोइड अ क्लाइमेट डिजाइस्टर ः द सोलुसन वी ह्याब एन्ड द ब्रेक थ्रुज्स वी निड’ ले जलवायु परिवर्तन खतराको फेहरिस्त भन्छ । किताबले हरितगृह ग्यास उत्सर्जनको विपत् सामना गर्ने व्यावहारिक मार्गचित्र पेस गर्छ । किताबलाई ‘न्युयोर्क टाइम्स’ सहितका पत्रिकाहरूले ‘बेस्ट सेलर’ सूचीमा राखेका छन् ।

परिचयबाहेक १२ च्याप्टरमा विभाजित २७५ पृष्ठको पुस्तकमा बिल गेट्सले आर्थिक समृद्धिको सीधा सम्बन्ध पृथ्वीको तापक्रम वृद्धि र प्रकृति दोहनसँग रहेको तथ्य केलाएका छन् । किताब मूलतः दुई अंकवरिपरि घुमेको छ, ५१ बिलियन र शून्य । मानव निर्मित प्रदूषणले बर्सेनि वायुमण्डलमा थप भइरहेको हरितगृह ग्यासको परिमाण ५१ बिलियन टन हो । पर्यावरणीय सन्तुलन मिलाउन यो कतिमा झर्नुपर्छ ? असाध्यै कठिन भए पनि त्यो संख्या शून्य हुनुपर्ने लेखको बुझाइ छ । सारा विश्व ऊर्जा खपत दौडमा प्रतिस्पर्धा गरिरहँदा करिब असम्भव लाग्ने यत्रो परिवर्तन किन आवश्यक छ ? बिल गेट्स लेख्छन्, ‘पृथ्वीको तापक्रम बढ्नुको कारण वायुमण्डलमा थुप्रिएको ग्रिनहाउस ग्यास हो । वायुमण्डलमा त्यो जति धेरै थुप्रिनेछ, पृथ्वी उति धेरै तात्दै जानेछ । त्यसैले अब कार्बन डाइअक्साइड उत्सर्जनको दौड घटाइनुपर्छ ।’

जलवायु परिवर्तनको आर्थिक सम्बन्ध

किताबको दोस्रो च्याप्टरले जैविक इन्धनसँग मानवीय गतिविधिको सम्बन्ध उजागर गर्छ । बिहान उठेर दाँत माझ्नेदेखि राति ओछ्यानमा पल्टिने बेलासम्म मानिसको जीवनशैली ऊर्जा–खपत र कार्बन–उत्सर्गनसँग अलग हुनै नसक्ने गरी जोडिएको छ । र, किताबले त्यो घटाउन आइपर्ने चुनौतीको उपाय सुझाउँछ । स्वस्थ जीवन बाँच्दै आयु लम्ब्याउनेदेखि आर्थिक संबृद्धि गर्नेसम्म मान्छेले पछिल्ला शताब्दीमा गजब राम्रा आविष्कार गर्‍यो । तर, करिब ती सबै नै जैविक इन्धन र ऊर्जा खपतमा आधारित छन् । जैविक इन्धन र सिमेन्टको प्रयोग व्यापक नभइसकेको औद्योगिक क्रान्ति अर्थात् १८ औं शताब्दीअघि पृथ्वी तात्ने अनुपात अहिलेजस्तो थिएन । लेखकले पात्रो पल्टाएरै देखाएका छन्, आधुनिकीकरणको सुरुआतसँगै वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन अत्यधिक थप भएको हो ।

किताबमा अमेरिकी उदाहरण धेरै प्रयोग भए पनि एकै विधिमा आधारित ऊर्जा प्रयोग, आधुनिक जीवनशैली, सम्भावित जोखिम र न्यूनीकरणका फेहरिस्त सबैका लागि उपयोगी छन् । क्याम्ब्रिज विश्वविद्यालयका इन्जिनियरिङका प्रोफेसर डेभिड म्याकीको तथ्यांकको साहरामा किताब भन्छ, ‘प्रतिव्यक्ति आय र ऊर्जा खपतको सम्बन्ध छ । बढी कमाउनेले धेरै ऊर्जा खपत गरिरहेछन् र थोरै कमाउनेले थोरै ।’

पछिल्लो समय चीनको चर्चा आर्थिक उन्नति, कम्युनिस्ट सत्ता, सस्तो श्रम बजार, विशाल भौतिक संरचना निर्माण र दक्षिण पूर्व एसियाको उदाउँदो शक्ति केन्द्रका लागि विश्व मञ्चहरूमा हुनेगर्छ । उपभोग गर्न पाउनेका लागि आधुनिक जीवनयापन खुसीकै विषय हो । तर, जलवायु परिवर्तनको दृष्टिले चीनको अर्को चित्र किताबले देखाएको छ । सन् २००६ देखि अमेरिकालाई उछिनेर वायुमण्डलमा बर्सेनि अत्यधिक कार्बन उत्सर्जन गर्ने देशहरूमध्ये पहिलो नम्बरमा छ चीन । पृथ्वी तात्ने विपत् नजिक आइरहे पनि भारत र नाइजेरिया चीनलाई भेट्न त्यही बाटोमा छिटोछिटो दौडिरहेका छन् । औद्योगिक क्रान्तिको सुरुआतका सन् १७६० देखि अहिलेसम्मका १८१ वर्षलाई फर्केर हेर्दा मानिसले पहिले आर्थिक गरिबी घटाउन अन्धाधुन्ध प्रदूषण बढाउने र पछि स्वच्छ वातावरणको खोजी गर्ने प्रवृत्ति देखिँदै आएको छ । यो परिवर्तनको गर्न नयाँ अवधारणा बिलले सार्वजनिक गरिदिएका छन् । लेख्छन्, ‘पृथ्वी तातेर वातावरणीय संकट गहिरिनुमा यो नै मुख्य कारण हो । अब आधुनिक जीवनयापन र आर्थिक समृद्धि प्राप्ति प्रक्रियामा वातावरण विनाशको पासोमा नपर्ने उपायको खोजी गर्नुपर्छ ।’

सरकारका नीतिले अर्थ राख्नेछ

किताबले तथ्यांक केलाउँदै सन् १८५० देखि अहिलेसम्म मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम १ डिग्री सेल्सियस बढेको प्रस्ट चित्र देखाउँछ । सुन्दा सानो लागे पनि पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसले वृद्धि हुनु सामान्य होइन । यो विपत्को संकेत हो । तथ्यांक केलाउँदै पुस्तकले देखाएको छ, ‘सन् २०६० सम्म न्युयोर्क आकारका ठूला सहर प्रत्येक महिना थप भइरहने छन् । अहिलेकै अनुपातमा विश्व अघि बढिरहे सन् २०५० सम्ममा ऊर्जा माग ५० प्रतिशतले बढ्नेछ । र, हरितगृह ग्यास उत्सर्जन अनुपात पनि करिब ५० प्रतिशत नै बढेर जानेछ ।’ बहुकोणबाट तथ्यांक केलाउँदै पुस्तकले औंल्याएको छ, ‘यदि यो वृद्धिदर रोकेनौं भने सन् २०५० सम्म पृथ्वी १.५० देखि ३ डिग्री सेल्सियससम्म तात्नेछ । यो शताब्दीको अन्त्यसम्म पृथ्वी ४ देखि ८ डिग्री सेल्सियस तात्नेछ ।’ पृथ्वी तात्न रोकिएन भने नि ? बिलले तथ्यांकलाई सरल शैलीमा पेस गर्दै जवाफ दिएका छन्, ‘ताता दिनहरू आउनेछन् । मान्छेले नयाँ स्वास्थ्य चुनौती सामना गर्नेछन् । नयाँ ठाउँहरूमा लामखुट्टे बसाइँ सर्नेछन् । औलो (मलेरिया) प्रकोप नयाँ ठाउँमा भेटिनेछ । ‘पोलार आइस’ पग्लिनेछ । सामुद्रिक सतह बढ्नेछ ।’

ग्रिनहाउस ग्यास उत्सर्जनले पृथ्वी तात्दै गए त्यसबाट सबैभन्दा पहिले अविकसित देशका गरिब मानिसलाई असर पर्ने पुस्तकको निष्कर्ष छ । भारत, सिरियासहित कतिपय देशमा जलवायु परिवर्तनको असरस्वरूप खडेरी पर्नेदेखि भूमि अवक्रमण (ल्यान्ड डिग्रिगेसन) सम्म देखिन थालेको छ । पृथ्वी तात्तिँदै जाँदा हुने मरुभूमीकरण र उत्पादन कमीको सम्बन्ध कृषकदेखि उपभोक्तासम्मै रहेको चित्र पुस्तकले देखाउँछ । भारतमा किसानहरूले गरिरहेको आत्महत्यादेखि सिरियामा कृषि पेसाबाट पलायन लाखौं मानिसको मर्मस्पर्शी कथालाई लेखकले जलवायु परिवर्तनको असरको रूपमा औंल्याएका छन् ।

आधुनिक जीवनयापनसँगैसँगै कार्बन उत्सर्जन न्यून पार्ने र सकेसम्म शून्यमै झार्ने नयाँ उपायको खोजी पुस्तकमा छ । सौर्य, हावा (विन्ड) मिलजस्ता नवीकरणीय ऊर्जाको प्रयोग अहिले पनि भइरहेको छ । हावाबाट उत्पादन हुने बिजुलीको पंखा सधैं घुम्दैन र सूर्यबाट पनि सधैं ताप आइरहँदैन । पुस्तक भन्छ, ‘नवीकरणीय ऊर्जा छँदैछ । योबाहेक छलाङ मार्ने नयाँ प्रविधिको अविष्कार अबको आवश्यकता हो ।’ जैविक इन्धन उत्पादनस्थलमै उपकरण उपयोग गरी कार्बन ‘क्याप्चर’ गर्दा कार्बनडाइअक्साइडको उत्सर्जन न्यून पार्न सकिने अर्को उपाय किताबमा छ । तीन चीज एकैसाथ सँगै लगेर जलवायु विपत्बाट जोगिन सकिने उपाय किताबले देखाएको छ– जलवायु टेक्नोलोजी, नीति र बजार । यसमा पनि सरकारी नीतिले महत्त्वपूर्ण अर्थ राख्नेछ । जलवायु विपत्बाट जोगिन सरकारहरूले अपनाउनुपर्ने ७ मार्गचित्र पुस्तकमा प्रस्तुत छ ।

जलवायु परिवर्तन झनै घातक

कोभिड—१९ महामारीले विश्व विक्षिप्त भएको समयमा सार्वजनिक पुस्तकले जलवायु परिवर्तनको विपत्को असरबाट जोगिन प्रत्येक तहका मानिसले काम गर्नुपर्ने विधि सुझाएको छ । सार्वजनिक बहसदेखि नीति निर्माणका लागि मार्गनिर्देश गरेको छ । लेखकले जलवायु परिवर्तन विपत्लाई कोभिड–१९ महामारीसँगै तुलना गरेर तथ्यांक देखाइदिएका छन् । ‘यदि पृथ्वी तात्ने कार्य नरोकिए यो शताब्दीको मध्यसम्म पुग्दा जलवायु परिवर्तनबाट कोभिड–१९ जत्तिकै मानवीय, आर्थिक क्षति हुनेछ’, तथ्यांक केलाउँदै पुस्तक भन्छ, ‘शताब्दी अन्त्यसम्म यो क्षति बढेर पाँच गुणा पुग्न सक्छ । त्यतिबेला आर्थिक तस्बिर पनि धमिलो हुनेछ ।’ यस्तो लाग्छ, लेखकले अन्त्यसम्म पनि पुस्तकको शीर्षक ‘जलवायु विपत्बाट कसरी बच्ने’ लाई सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन् । कोण–कोणका पक्ष केलाएका छन् । कम्प्युटर सफ्टवेयरको मौलिक सोचलाई विश्वव्यापी रूपमा स्थापित गर्न सफल बिलले वैज्ञानिक तथ्य र तथ्यांकलाई यसरी केलाएका छन् कि त्यसले पाठकको मस्तिष्क तरंगित बनाउँछ । र, सत्ताकेन्द्रित राजनीतिक नेता तथा विकसित–अविकसित, लोकतान्त्रिक–तानाशाही सबैखाले देशका शासकलाई प्रचलित विकास मोडलबारे घोत्लिन बाध्य पार्छ ।

(कान्तिपुर दैनिकमा २०७८, १९ शनिबारीय कोशेलीमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *