नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्

Sat Oct 14 0 Comments
बल्ल बुकको किन्डल भर्सन बन्यो है 😃😃

उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो। बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला बुद्ध कुनै न कुनै स्वरुपमा प्रशान्त र हिन्द महासागर पारी पुगेका छन् अनि अधिकांश देशमा राजकुमार छैनन्।

स्थायी खुशी, शान्ति र आनन्दको जीवनयापन कसको रोजाईमा पर्दैन र ? घृणा, हिंसा, इर्श्या र प्रतिशोध जगाएर प्वाल परेको बकेट भर्न दौडडिरहेका हरुका लागि चेतना गहिराइबाट शान्ति र खुशीका ‘सिग्नल’ उत्पन्न गर्नु उल्लासकै कुरा हो । नाक, कान, आँखा, जिब्रो र ‘स्किन’का ‘सिग्नल’हरू अत्यन्त तीब्र गतिमा मस्तिष्कलाई सञ्चार गर्ने सेपियन्स (आधुनिक मानव) को विशेषता हामी सबैको उस्तै हो। सम्भवतः यही तथ्य अनुभव गरेपछि हुनुपर्छ, वैज्ञानिक अल्बर्ट आन्स्टाइनले सन् १९३० देखि भन्न थालेका थिए, ‘बुद्धको शिक्षा धर्म सम्प्रदाय होइन बरु यो मस्तिष्क विज्ञान हो।’ हुन पनि बुद्धवाणि वाला पुस्तक धम्मपदको पहिलो गाथाले प्रस्टसँग भन्छ- मनोपुब्बङ्गमा धम्मा, मनोसेट्ठा मनोमया अर्थात मस्तिष्क सबै प्रवृत्तिको अगुवा हो। त्यसैले प्राचीन बुद्ध विद्या आर्टिफिसियल इन्टेलिजेन्स युगका हाम्रा लागि चासोको विषय हो। स्थायी खुशी र चेतना गहिराइको शान्ति सरोकारको विषय हो।

२ लाख वर्षको आधुनिक मानव इतिहासमा २६ सय वर्ष निकै छोटो समय हो। तर समाज विकासको पाटो केलाउँदा त्यो र यो समयबीच प्रशस्त फरक भेटिन्छन्। हिजोआज प्रशान्त महासागरमाथि प्लेनमा उडिरहँदा एयरपडमा निर्देशन सुनेर ध्यान गर्नेहरु भेटिनु सामान्य हो। यो अहिलेको विज्ञान, प्रविधि, अर्थ व्यवस्थाले सम्भव बनाएको हो। सिद्धार्थले पनि एउटा यस्तै सामाजिक, राजनीतिक तथा अर्थ व्यवस्थाको परिवेशमा रहेर बुद्धत्व हाँसिल गरेका हुन्। उमाकान्त पौड्यालको गैरआख्यान पुस्तक ‘बुद्धकालीन समाज’ले त्यो समयको पेशा, व्यवसाय, प्रविधि, उपकरणदेखि विवाह शैलीसम्मलाई केलाउँछ। २६ सय वर्षअघिको कपिलवस्तु तथा उत्तर भारतका राज्यहरुको इतिहास, शाषन प्रणाली, जीवन शैली र सामाज व्यवस्थाको फेहरिस्त भन्छ।


परिशिष्ट बाहेक १० च्याप्टरमा विभाजित ३०० पृष्ठको पुस्तकले त्रिपिटकका गाथा एवं अट्ठ कथाहरुको विश्लेषण गरेको छ। लेखकले बौद्ध साहित्यमा समावेश कतिपय चामत्कारिक, काल्पनिकजस्ता लाग्ने प्रसंगलाई तथ्य र तर्कको कसी लगाएर प्राज्ञिक विधिमा जाँचेका छन्। बुद्धलाई चामत्कारिक, अलौकिक शक्ति होइन वास्तविक मानिसको रुपमा व्याख्या गरेका छन्। बुद्धको जन्मसँग सम्बन्धित कतिपय विषयहरु अस्वभाविक अतिरिञ्जितजस्ता रहेको लेखकको बुझाइ छ।

बौद्धकालीन समय वैचारिक उथलपुथलको हिसाबले पूर्वीय सभ्यताको जबरजस्त इतिहास हो। ज्ञानको खोजी, विस्तारका क्रममा त्यो समयलाई बुद्धले कुन कुन पक्षमा छोए ? जातिवाद, पशुबली प्रथाले गहिरो जरा गाडेको समाजमा हत्या—हिंसा बिरोधी सिद्धान्त कसरी फैलियो ? ऐतिहासिक सामाग्रीको प्रमाणिकता र त्यसबारे त्रिपिटकमा उल्लिखित सन्दर्भको अध्ययन नगरी त्यो इतिहास पर्गेल्न असम्भ छ। फेरि त्रिपिटक बौद्ध धर्मको केवल एकल ग्रन्थ होइन । बुद्धका उपदेश, वाणि र सुत्रका तीन अलग—अलग विधाहरू सुत्त, विनय र अभिधम्मको संयुक्त नाम हो—त्रिपिटक। भनिन्छ, बुद्ध परिनिर्माणको तीन महिनापछि भिक्षु महाकश्यपको अगुवाईमा ८२ हजार बुद्धवाणि र २ हजार अग्रणी भिक्षुका उपदेशलाई ५ सय (कसै कसैले ७ सय पनि भन्ने गरेका छन्। भिमराव अम्बेडकर, बुद्ध एन्ड हिज धम्म, पेज नं.७) अरहन्त भिक्षुले अनुमोदन गरेका थिए । ईपु ४८३ मा अनुमोदित त्यो सामाग्री नै संयुक्त रुपमा त्रिपिटक भनेर चिनिँदै आएको छ । भनिन्छ, अहिले पनि समय समयमा त्यसको प्रमाणिकता जाँच हुनेगर्छ। त्यही त्रिपिटकलाई रचना आधारभूमि मान्दै लेखकले त्यो समयको संस्कृति, भिक्षुसंघ, वर्ण व्यवस्था, पेशा, जीविका र जीवनशैलीदेखि यौनकर्मीसम्मको अवस्था उजागर गरेका छन्। पुस्तक पढिरहँदा कतिपय प्रसंग पाठकलाई सनसनीपूर्ण लाग्न सक्छन्। अट्ठगाथालाई उदृत गर्दै पुस्तकको महिला र दासदासी च्याप्टरमा लेखिएको छ, ‘काशी राज्यको सम्पूर्ण आम्दानी भन्दा त्यहाँकी एक जना नगरबधु अट्ढकाशीको कमाई बढी थियो।’

‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त हुने भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’

बुद्धकालीन समय थुप्रै विषयका कारण खोजिने र पढिने इतिहास हो। वैदेकि कालदेखि चल्दै आएका कतिपय प्रथाहरु परिवर्तन, सामाजिक सौहार्दता एवं तल्लो जात उत्थानको सशक्त हस्तक्षेपका लागि त्यो सबैभन्दा महत्वपूर्ण समय हो। ‘बुद्धकालीन समाजमा’ त्यो एक एउटा सिंगो युगको सामाजिक एवं धार्मिक जीवनका रोचक तथा प्रमाणिक विवरण उपलब्ध छन्। बुद्धको समयमा संस्कृत भाषा विद्वान ब्राह्मण, महाराज र दरबारभित्र बोलिने कुलिन भाषा थियो। दरबारमा हुर्किए पनि बुद्धले साधना सिकाउने प्रयोजनका लागि संस्कृत प्रयोग गरेनन्। उनले त्यो बेलाका जनताले बोल्ने पाली भाषामा प्रवचन दिए, साधना विधि सिकाए। अध्यात्मिक उपलब्धिलाई दार्शनिक सिद्धान्त र बौद्धिक वर्णनको गह्रौँ विषय बनाएनन्। सिधै शील, सामाधि र प्रज्ञा सिकाए। जनताको भाषामा सबैले बुझ्ने गरी बताए— दुःख छ, दुःखको कारण छ, दुःख निदानको उपाय छ। प्रवचन मात्र दिएनन्, अनुभव नै गराइदिए। गम्भीर विषयको सरल प्रस्तुति, प्रवचन मात्र हैन परीक्षणमार्फत अनुभव गराउने विध एवं जनताको बोली भाषाको प्रयोगका कारण बुद्ध विद्या अत्यन्त तीब्र गतिमा फैलियो। विस्तृत समुदायलाई स्वीकार्य भयो।

वर्ण व्यवस्थासहित बुद्धकालका विशेषताहरु तथा बुद्धत्व प्राप्तिका पहिला वर्षहरुमा बुद्धले महिलालाई भिक्षुणी बन्न अनुमति नदिएका प्रसंगहरु पुस्तकमा छन्। आफूलाई हुर्काउने सानिमा प्रजापतिलाई समेत बुद्धले सुरुमा भिक्षुणी बनाउन अस्वीकार गरेको, पछि अुनमति दिए पनि महिलाका लागि थप ८ वटा नियम थपेको तथ्य लेखकले पेश गरेका छन्। सुरुवाती अवस्थामा त्रिपिटक लिपीबद्ध नभएको र पछि लिपीबद्ध गर्दा कुनै भिक्षुले यो प्रसंग मिसाएको हुन सक्ने शंका लेखकको छ। बुद्धकालीन राज्य संरचना केलाएको पुस्तकले कतिपय आधुनिक राजनीतिक सिद्धान्तलाई सिधै छोएको छ। राजनीतिक सिद्धान्तको अनुसन्धानकर्ताका लागि ग्रिक दार्शनिक प्लेटोको ‘आइडियल स्टेट’ अध्ययनको पहिलो चरण हो। प्लेटोले रिपब्लिक पुस्तकमा राज्य हुन आवश्यक तत्व र राज्यको दायित्वबारे सुक्ष्मसँग प्रस्ट्याएका छन्। ईपु ३०० तिर लेखेका विशेषता भएका राज्यहरु प्लेटो जन्मनुभन्दा करिब ५० वर्ष अगाडि नै अस्तित्वमा रहेको सन्दर्भ ‘बुद्धकालीन समाज’ले उजागर गरेको छ। बुद्धको राज्यसम्बन्धी अवधारणा नागरिकलाई अधिकतम खुशी दिने, मानव कल्याण, समानता, समृद्धि, न्याय, सत्य र अहिंसा आधारित थियो। प्लेटोको ‘आइडियल स्टेट’ यो भन्दा धेरै फरक छैन। लेखकले त्यो बेलाका ऐतिहासिक तथ्यहरुलाई त्रिपिटकका गाथा, अट्ठकथा एवं अन्य लेखकहरुका पुस्तक उदृत गर्दै प्रस्ट्याएका छन्। पुस्तक समाजशास्त्र, इतिहास र बुद्धदर्शनका विद्यार्थी तथा अध्येताका लागि उपयोगी छ।

निश्चित रुपमा त्रिपिटकको विशाल महासागरबाट ३०० पृष्ठको पुस्तकमा सामाजिक परिवेश झिक्नु चुनौतीपूर्ण र कठिन काम हो। तर लेखकले त्यो समयको समाजका साङ्गोपाङ्गो विशेषता र घटनाहरु तथ्य र तर्कसंगत रुपमा निकाल्न सफल भएका छन्। राजकुमार सिद्धार्थले किन र कसरी गृह त्याग गरे? हामीले पढ्दै, आएका छौं— उनले मृतक, रोगी, वृद्ध र सन्यासी देखेर बैराग्य भई दरबार त्यागेका हुन्। सुन्दै आएका छौं— पत्नी यशोधरा निदाइरहेको बेला मध्यरातमा सुटुक्क दरबार बाहिर निस्केका हुन्। यही भाष्य र कहानी अहिले नेपालमा चलनचल्तीमा छन्। यस विषयमा धेरैको मनमा गडेको विश्वास भन्दा फरक विषय लेखकले उजागर गरेका छन्। पुस्तक भन्छ, सिद्धार्थ मध्यरातमा सुटुक्क हिँडेको नभई बाबुआमाको इच्छाविपरित उनीहरुकै अगाडि सन्यासी भेष धारण गरी गृहत्याग गरेका हुन्। यो तथ्य उजागर गर्न लेखकले दीग्घनिकाय—१ सोणदण्ड सुत्तको तथ्य पेश गरेका छन्। यो तर्कलाई अझ बलियो टेको लगाउन लेखकले बुद्धका पर्सनल सेक्रेटरी भिक्षु आनन्दको एउटा भनाइ उल्लेख गरेका छन्, ‘अध्यात्मिक प्रगतिका लागि गृहस्थ जीवन बन्धनयुक्त भएकाले स्वतन्त्रताका लागि सिद्धार्थले गृहत्याग गरेका हुन्।’

पौड्यालले बुद्धकालीन समाजका प्रसंगहरु यसरी पेश गरेका छन् कि तत्कालीन समयका अध्यात्मिक र ऐतिहासिक तथ्यहरुले ठाउँ ठाउँमा पाठकको मस्तिष्क हल्लाउँछ। थुप्रै प्रश्नहरु जन्माइदिन्छ। त्रिपिटक अध्येता कोसम्भी, भदन्त आनन्द कौसल्यायन, भीमराव अम्बेटकरसहितका बौद्ध विद्वानका तथ्य र तर्क उदृत गरिएको बुक पढ्दा लाग्छ, लेखकले अन्त्यसम्मै पुस्तकको शीर्षक ‘बुद्धकालीन समाज’ सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन्। राज्य व्यवस्था, धार्मिक सम्प्रदाय, भिक्षु संघ, वर्ण व्यवस्था, संस्कृति, पेशा तथा दास प्रथा, विवाह, यौनकर्मी, खानपान, बस्त्रआभुषण, लोकमहोत्सव, शिक्षा आदिलाई कोण कोणबाट केलाएका छन्।

पुस्तक: बुद्धकालीन समाज

लेखक: उमाकान्त पाैड्याल

प्रकाशक: फाइन प्रिन्ट

विधा: इतिहास

(यो बुक पढ्न प्रेरित गर्ने पत्रकार स्वेच्छा राउतलाई धेरैधेरै धन्यवाद।)


तलको जसरी लेख्न सुरू गरेको माथिको जसरी अन्त्य भयो 😃
२ हजार ६ सय वर्षको अवधिमा मान्छेले राजनीतिक, समाज, विज्ञान र प्रविधिमा ठूलो क्रान्ति गरेको छ। दैवी शक्तिहरुको बल होइन, प्रविधिको आविस्कारले मानव जीवन सहज बनाएको छ। कुनै बेला दैवी चमत्कार मानिने विषयहरु अहिले वैज्ञनिक प्रयोगशालामा सृष्टि भइरहेछन्। मानिसले जैविक वस्तुमा आफूले चाहेको गुण, रुप र स्वाद भर्न थालेको छ। तै पनि पछिल्ला केही तथ्य मस्तिष्क चक्राउने खालका छन्। युद्ध र हिंसाका कारण वर्षेनी २ लाख मानिस मारिँदा रहेछन्। यो भन्दा भयवावह अवस्तथा त अर्को युद्धको पो रहेछ- चुपचाप, मनभित्र हुने युद्ध। छक्क पार्ने कुरा त यो रहेछ- परिवार, साथीभाइ र समाजलाई ‘ठिक छु’ भन्ने धेरै दोस्तहरू आफूभित्र ‘बेठिक’ पनि हुँदा रहेछन्। ७ लाख अर्थात युद्धमा मारिने भन्दा ३ गुणा बढी मान्छेले त डिप्रेसन, आत्महत्याबाट पो जीवन अन्त्य गर्दा र’छन्। आफूभित्र मनोबलमा पराजित हुँदै गरेकाहरुमा आशा र खुशीको एक बुँद पुर्याउने विधि अझै किन बनेन होला? युकेकी राजकुमारी केट मिडल्टन मेन्टल हेल्थबारे चासो राख्दिरहिछन्, उनले विद्यार्थीसँग अन्तरक्रिया गरेको एउटा खबर बीबीसीले बनाएछ। आज अक्टोर १० अर्थात मेन्टल हेल्थ-डे। झ्याल बाहिरबाट छिरिरर… आवाज आयो। मैले बाहिर तिर आँखा घुमाएँ। पानी पर्न थालेको रहेछ। यो पाली वर्षायाम सकिए पनि पानी पर्न रोकिएको छैन। ल्यापटपलाइ ‘सटडाउन’ कमान्ड दिँदा दिँदै मेरो दाहिने हात सिरानी भन्दामाथि पुगिसकेको थियो। त्यहाँबाट एउटा किताबले मलाइ निकै दिनदेखि हेरिरहेछ। अर्थात मैले उसलाइ हेरिरहेछु। यो नयाँ किताब अब पढ्नुपर्छ- बुद्धकालीन समाज।

Leave a Reply

Your email address will not be published. Required fields are marked *