सानुको संसार


सानुका गाउँमा आमा दिदीको कथा अलग्गै छ। काठमाडौमा सपिङ महल चाहर्नेहरुको जस्तो रहरलाग्दो हैन। पेट पाल्नकै लागि ‘लाहुर’ जानु यहाँका महिलाको बाध्यता हो। पहिला मुम्बई जानेहरु अहिले कुवेततिर लागेका रहेछन्। अनि अंकल-पापाहरु चाहिँ गाउँमै भेटिए। हिस्सी परेकी सानु तामाङलाई बुद्ध जयन्तीको दिन मैले उनी पढ्ने स्कूलमै भेट्टाएँ। हेलम्बु क्षेत्र (सिन्धुपाल्चोक) को नारायण निम्न माविमा। यो वर्ष ३ सय ८० जनालाई विद्यालयले भर्ना लिँदा उनी पनि परेको प्रिन्सिपलले सुनाए। गाउँमा विद्यालय जाने उमेरका १ हजार बढी बालबालिका छन्। राजधानी हेलम्बुको मिथकीय स्याउलाई (अहिले फल्दैन हेलम्बुमा स्याउ) युवतीको गालासँग तुलना गर्नुमा नै गर्व गर्छ। त्यहाँका शिक्षाका लागि केही गर्दैन। हेलम्बु क्षेत्रकी सानुको संसार तस्विरमार्फत्।



क्यामेरासँग मुस्कान लुकाउँदै सानु। अनि म नजिकै गएँ। एलसीडीबाट फोटाहरु देखाइदिएँ।

कति कक्षामा पढ्छौ ?
(अप्ठ्यारो मान्दै) ‘१ मा।’
रोल नं. नि ?।
‘मेरो ?…. फोल हो।’






दुई दाजु र एक दिदीकी कान्छी सानुको भविष्य मोतीजस्तो चम्किलो होला र ? उनको गलामा मोतीमाला देखेपछि मैले आफैँलाई प्रश्न गरेँ।





सानु र साथीहरुसँग चक्लेट किन्ने योजना सहित स्कूलको माथ्लो भागमा रहेको पसलतिर जाँदै थियौं। फेरि मञ्चमा बुद्धजयन्तीको मादल बज्यो। उ र साथी बेगले स्कूलतर्फै ओर्लिए। ककनीको डाँडोमा कालो बादल मडारिँदै थियो। हामीलाई चनौटे ओर्लिएर बास बस्नु थियो। हिँड्ने बेलामा उसकी साथी नेवाग्याल्मो कताबाट हो टुप्लुक्क मेरो अगाडि आइपुगी। चक्लेट किन्न केही पैसा छाडिदएँ तर मैले सानुलाई भेट्न सकिनँ।

2 Responses to “सानुको संसार”

  1. ‘सानुको संसार’ हाम्रो जुनकिरीमा पढ्न पाए हुने…………

  2. Congratulation Agyani Budhha for a good contribution for photo caption news reporting on Sanu and her colleaguse from Helambu. Might Jimmy’s health is fully recovered till now.
    L B