भाग्य मृत्युको त्यो क्षण

तस्विरः पियर पावलो


साथी पनि बडो अजिब अजिबका अनुभव गर्छु। कोही सिम्पल देखिनका सौखिन छन्। कोही बजारमा आएको नयाँ पर्फ्युम ब्रान्डको नाम कण्ठ गरेकोमा गर्व गर्नेहरु। अनि कोही चाहिँ जब इन्टरभ्युमै सोझै भन्छन्- ‘तिमीले मागेको एक वर्षे अनुभव प्रमाणपत्र म नक्कली पनि बनाउन सक्थेँ। कामका लागि काबिल भए अवसर देउ नभए तिम्रो जब तिमीलाई नै भयो।’ अनि कोही संसारले वाह वाह ठानिरहेको जीवन छाडेर भिक्षु जीवनतर्फ लम्किरहेकाहरु। म चुपचाप सबै अब्जर्भ गरिरहेछु प्रतिक्रिया शून्य भएर, भाव शून्य भएर। चुप रहेर। मुखदेखि मात्र हैन, सोच-विचारदेखि नै। सोचदेखि मात्र अन्तरहृदयदेखि नै। यसरी भाव शून्य भइरहँदा मन फेरि अर्को शाखामा जम्प गरेको अनुभूत गर्छु। र दिमागमा फेरि छचल्किन्छन् भिन्न समयमा अध्ययन गरेका बौद्ध साहित्यका ‘रफ थिम’ र मेरा अनुभूवहरु।

कुनै समय म धेरै कुराबाट अलग्गिएर फरक जीवनतर्फ लागेको थिएँ। चुतब्रह्म विहारको लक्ष्यतर्फ बढेका मेरा पाइलाले सुस्तरी सुस्तरी उज्यालोको अनुभव गरेका थिए। मान्छेका चार गुणधर्मलाई बुद्ध परम्परा पछ्याउनेहरु चतुर्ब्रह्म विहार भन्छन्। आसान भाषामा भन्दा माथ्लो तहको मानव गुणधर्म पालना गरी जीवन विताउनु चतुर्ब्रह्म विहार हो। सिद्धार्थ गौतम जन्मनु अघिदेखि मानिदै आएको सृष्टिकर्ता ब्रह्रमाको अस्तित्वलाई बुद्धले स्वीकारेनन्। बुद्ध वाणि समेटिएका त्रिपिटकअनुसार ब्रह्मा भनेकै मान्छेभित्रैको गुण हो। बुद्धले अनुभूत गरेका चतुरब्रह्माका चार स्वरुपः

१ मैत्री (द्वेशभाव नभएको मन)

२. करुणा (दुःखीहरुदेखि दया लाग्ने स्वभाव)

३. मुदिता (इर्श्याभाव नभएको/अरुको राम्रो काम देखेर प्रशन्न हुनसक्ने स्वभाव) र

४. उपेक्षा (दुःख र सुखलाई बेवास्ता गर्दै तटस्थ रहने स्वभाव)

यी चार गुण (धेरथोर) मैले आजसम्म आमाबुवा र थोरै निकटहरुबाट भोगेको छु। कठोर शिलको पालना सहितको सम्यक मार्गमा जीवन डोर्‍याइरहँदा छोटै समयको लागि भए पनि यी चारै गुण आफूभित्र अनुभूत पनि गरेको छु। बुद्ध भन्छन्- मातापिता ब्रह्मा हुन्। हुन पनि हो तिनले छोराछोरीका लागि के मात्रै गरेका हुँदैनन् र ! हुन त पैसाले डोमिनेट गर्दै गएको म बाँचेको युगमा बाबु छोराको सम्बन्धमा सम्मान र मैत्रीको अस्तित्व भेट्न गाह्रो छ। पैसा पिएर पागल भएको मान्छे जीवनको उत्तरार्द्धमा पुगिसकेका बाउआमालाई घरबाट निकालेर एक्लै रमाउन सक्छ। अनि छोराछोरीलाई प्रोपर्टी ठान्ने बाउ आफ्ना सपना लाद्‌न नपाएको प्रतिरशोधमा सन्तानलाई परिवारबाट अलग्याएर गर्व अनुभूत गर्नसक्छ। ठूलै पूण्यकर्मको फल हुनुपर्छ यी यावत् मामिलामा म अलग अनुभव गर्छु।

जीवनको एउटा कालखण्ड जे जे हुन्छ होस् भन्दै पलायन र अन्धकारमै बित्यो। त्यतिबेला परिणामका कारणहरु कहिलै खोजिनँ। कोसिस नै पनि गरिनँ। सोच्थेँ- ‘भाग्यले डोर्‍याएर यो अवस्थामा ल्याइपुर्‍यायो। मेरो भाग्य यस्तै रहेछ।’ विषय भोगका लागि तड्पिँदै र संसारको सम्वृद्धिका खातिर भड्किएर बाँचिरहेको त्यो बेला जीवन ओभरकोट जस्तो गह्रौं अनुभूत हुन्थ्यो। त्यो मे महिना सम्झन्छु जब मैले जीवनको फरक यात्राको लागि पहिलो पटक घर छाडेको थिएँ र अनुभूत गरेको थिएँ-

मान्छेले आफूभित्रको चेतनालाई कहिलै सुक्ष्म अन्वेषण गर्देन। अनि सबै खराब परिणामको दोष अरुलाई दिएर आत्मभावको झिल्लीभित्र रमाउँछ। ‘म यति समझदार मान्छे!’ भन्दै वास्तविकताबाट टाढा हराइरहन्छ। आफूले गरेका काममा विश्वास गर्दैन र सबै विषयको डिसिजनमेकर भाग्यलाई बनाएर पलायन हुन्छ वा हेराइहरु सत्य हुन् भन्दै जीवन चलाउँछ। ओहो ! भाग्य र समयको दास बनेर म आफैँलाई धोका दिइरहेको रहेछु। संसारका हरेक विषय मैले सोचे जस्तो निरपेक्ष छैनन् र बिनाकारण मेरो जीवन यति दुःखी भएको हैन। मान्छेको जीवन विगत र वर्तमानमा उसले गरेका कार्य र तिनबाट सिर्जिति परिणाम-उपपरिणामको क्षेत्र हो, भाग्यको हैन। संसारको रित भन्नु नै कारण-असर र तिनबाट सिर्जित अनगिन्ती परिणामहरुको चक्रमा घुम्ने समष्टि हो। हेराइ/प्रस्पेक्टिभ/ डिस्कोर्स/दृष्टिकोण सबै सबै फगत बुद्धिको तहमा उत्पन्न हुने तर्क वितर्क मात्रै हुन्। अनुभव यी सबभन्दा अल्टिमेट सत्य हो, संसारका लजिक/फिलोसोफी र थ्योरी वाइयात हुन्।

ओहो ! यति अनुभूत गरिसक्दा शरीरि फुलको थुँगा झै भएथ्यो अनि मन चङ्गा। मैलै आँखा खोलेँ। मनै मन अर्को नयाँ ह्विम चल्यो– ‘घर-कारको के कुरा पृथ्वी नै उचालेर समुद्रतिर फ्याँक्ने तागत पो रहेछ मभित्र त।’

त्यो वर्षौंदेखि मेरो दिमागमा जरा गडेर बसेको भाग्य सोच मर्दै गरेको अन्तिम अनुभव थियो। अनि मेरो भाग्यको निर्माता आफैँ भएको पहिलो अनुभूति।

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

One Response to “भाग्य मृत्युको त्यो क्षण”

  1. “–मान्छेले आफूभित्रको चेतनालाई कहिलै सुक्ष्म अन्वेषण गर्देन। अनि सबै खराब परिणामको दोष अरुलाई दिएर आत्मभावको झिल्लीभित्र रमाउँछ। ‘म यति समझदार मान्छे!’ भन्दै वास्तविकताबाट टाढा हराइरहन्छ। आफूले गरेका काममा विश्वास गर्दैन र सबै विषयको डिसिजनमेकर भाग्यलाई बनाएर पलायन हुन्छ वा हेराइहरु सत्य हुन् भन्दै जीवन चलाउँछ। ओहो ! भाग्य र समयको दास बनेर म आफैँलाई धोका दिइरहेको रहेछु। संसारका हरेक विषय मैले सोचे जस्तो निरपेक्ष छैनन् र बिनाकारण मेरो जीवन यति दुःखी भएको हैन। मान्छेको जीवन विगत र वर्तमानमा उसले गरेका कार्य र तिनबाट सिर्जिति परिणाम-उपपरिणामको क्षेत्र हो, भाग्यको हैन। संसारको रित भन्नु नै कारण-असर र तिनबाट सिर्जित अनगिन्ती परिणामहरुको चक्रमा घुम्ने समष्टि हो। हेराइ/प्रस्पेक्टिभ/ डिस्कोर्स/दृष्टिकोण सबै सबै फगत बुद्धिको तहमा उत्पन्न हुने तर्क वितर्क मात्रै हुन्। अनुभव यी सबभन्दा अल्टिमेट सत्य हो, संसारका लजिक/फिलोसोफी र थ्योरी वाइयात हुन्।”——
    realy nice ——