विपश्यना ध्यानपछि नक्खुका कैदीले भने: ‘जेल पठाउनेलाई धन्यवाद छ’

एउटा स्थान जहाँको बासले घृणा, द्वेष र प्रतिशोध पग्लेर जीवन स्नेह, करुणातर्फ सोझिन्छ भनेर कल्पनै गरिन्न। पीडा र पश्चताप खुशी, आनन्दमा रुपान्तरण हुनसक्छ भनेर सोच्दै सोचिन्न। हुन पनि ४ दिवारभित्र सीमित कैदी जीवन खुशीको विषय हुँदै होइन। तर १६ देखि २७ फागुनसम्म (२०७८) नक्खु कारागारका ३५ कैदीबन्दीले केही फरक अनुभव गरे। दश दिने शिविरमार्फत् विपश्यना ध्यान अभ्यास गरे। कारागारभित्रै खुशीको तरंग अनुभव गरे।
यसको महत्व किन छ?
विपश्यना रिसर्च इन्स्टिच्युटका अनुसार यो ध्यान विधि विश्वका एक दर्जन बढी देशका जेलमा सञ्चालन हुनेगर्छ। भारत, अमेरिका, आयरल्यान्ड, क्यानडा, इजरायल, मंगोलिया, न्यूजिल्यान्ड, थाइल्यान्ड, ताइवान, श्रीलंका, स्पेन, मेक्सिको तथा ब्रिटेनले आफ्ना कारागारका कैदीलाई विपश्यना ध्यान गराउँछन्। त्यसको पछाडि मुख्यतः दुई कारण छन्। पहिलो— कैदीको आचारण सुधार, मनोसामाजिक स्थितिमा सकरात्मक परिवर्तन। दोस्रो— कैद भुक्तानपछि बाहिर निस्किँदा समाजमा सहज पुर्नस्थापना।
नक्खु ध्यान शिविरको सञ्चालन गर्नुको उद्देश्य पनि यही नै थियो। अनि परिणाम? शिविर समापनपछि जेलभित्रै कैदीबन्दीहरुको अनुभव आदान—प्रदान कार्यक्रम सञ्चालन गरियो। त्यहाँ कारागार विभागका महानिर्देशक बासुदेव घिमिरे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, नक्खु कारागारका जेलर चिरञ्जीवी गिरि उपस्थित थिए।
‘जसले मलाई कैदमा पठायो उसलाई धन्यवाद छ’, बैंकिङ कसुरमा जेलमा रहेका अनिल सिलवाल (नाम परिवर्तन) ले सरकारी अधिकारी सामु भने। सामान्यतः हाम्रो समाजमा जेल पठाउने व्यक्ति धन्यवादको पात्र मानिँदैन। ऊप्रति स्नेह भाव जगाइँदैन पनि।
सरकारी अधिकारीहरूले ध्यान शिविर बसेका कैदीबन्दीमा सकारात्मक परिवर्तन प्रत्यक्ष देखे, सुने। ‘शिविरपछि आफूभित्रको नकरात्मकता र प्रतिशोध लिने सोच बद्लिएको छ’, ज्यान मुद्दामा थुनामा रहेका दुई जनाले ध्यान शिवरपछि खुलस्त सुनाए।
कारागारहरु बन्न सक्छन् सुधारगृह

अनुसन्धानहरुले विपश्यना साधनाले कैदीबन्दीको आचारण सुधार, सकरात्मक मनोसामाजिक परिवर्तन हुने पुष्टि पहिलै गरिसकेको छन्। नेपाली कारागारहरूमा अभ्यास नगराइए पनि अन्य देशका अध्ययनहरू हेर्दा यो नयाँ कुरा होइन।
ध्यान शिविर बसेका कैदीबन्दीको अनुभव सुनेपछि कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरे केही उत्साही देखिन्थे। भने, ‘शिविर सुरु हुने दिनको तुलनामा समापनको दिन भेट्दा सहभागी खुशी देखेँ। कैदीबन्दी सहभागीको अनुहारमा खुशी देखिनु ठूलो परिवर्तन हो।’
नक्खु कारागारको १० दिने ध्यान शिविर विपश्यना आचार्य महेन्द्रमुनी बज्रचार्य र सहायक आचार्य ज्ञानदर्शन उदासले सञ्चालन गरेका थिए। शिविर सुव्यवस्थित गर्न ९ जना धर्मसेवक परिचालित थिए। शिविर समापन नभएसम्म आचार्य, सहायक आचार्य र सेवकहरु जेलभित्रै रहेर काम गरे।
धेरै मुलुकले आफ्ना जेलमा सञ्चालन गरिरहेको विपश्यना ध्यानको नक्खु कारागारमा सफल परीक्षणपछि अब एउटा प्रश्न उब्जिएको छ: जेल जीवन चाखिसकेका नेताहरु शासक बनेको देश के कारागारलाई सुधारगृह बनाउने तर्फ लागेको हो ?

के हो विपश्यना?
विपश्यना साधना स्वनिरीक्षणद्वारा चित्तशुद्धी गर्ने पुरानो ध्यान विधि हो। यसको अभ्यासले मान्छेमा दुःख हट्दै जान्छ। रिस, घृणा, प्रतिशोध कम बनाई चित्त करुणा र प्रेमले भरिदिन्छ। विपश्यनाले साधकलाई कहीँ कतै साम्प्रदायिक घेरामा बाँध्दैन। र, विपश्यना सम्प्रदायको अर्को घेराबन्दी होइन। २ हजार ५ सय वर्षभन्दा पहिल्यै लोप भइसकेको यो ध्यान पद्धति गौतम बुद्धले खोज गरे, आफूले अभ्यास गरी, अरुलाई सिकाए। पछिल्लो समय सत्यनारायण गोयन्काले विपश्यना विश्वव्यापी बनाएका हुन्। सन् १९८१ देखि नेपालमा विपश्यना ध्यान शिविरहरु सञ्चालन हुँदै आएका छन्।
यो ध्यान १० दिनको आवासीय शिविरमा सहभागी भएर योग्यताप्राप्त आचार्यको सानिध्यमा सिक्न सकिन्छ। शिविर अवधिभर लेखपढ, पूजापाठ र अन्य क्रियाकलाप गर्न हुँदैन। सहसाधकसँग कुराकानी गर्न पाइँदैन। आचार्य वा सेवकसँग साधनासम्बन्धी वा भौतिक समस्याबारे कुराकानी गर्न भने बन्देज हुँदैन।
विपश्यना सिकाइका तीन चरण छन्— शील, समाधि र प्रज्ञा। पाँच शील पालना गर्नाले मन शान्त भएर अगाडिको काम गर्न सजिलो पार्छ। समाधिमा ‘आनापान’ ध्यान सिकाइन्छ। यसले श्वास आइरहेको, गइरहेको महसुस गराई मन एकाग्र गर्न सिकाउँछ। तेस्रो चरणमा साधकले आफूभित्र प्रज्ञा जगाइ चित्त शुद्धीको काम गर्छ।
नेपालमा शिवपुरीस्थित धम्मश्रृङ्गसहित १८ विपश्यना ध्यान केन्द्रहरु छन्। केन्द्रहरुमा नयाँ साधकलाई १० दिने र पुराना साधकलाई सतिपठ्ठानसहित २०, ३०, ४५ र ६० दिने शिविर सञ्चालन हुँदै आएका छन्।
यो पनि:
१. के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?
२. ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्
५. हावर्ड पीएचडी होल्डरको विपश्यना यात्रा