अध्ययन र अध्यात्म

-झरना बज्राचार्य

मेरा धेरै साथी अध्ययनका लागि अमेरिका गएका थिए। अहिले उतै घर किनेर बसेका छन्। पढाइ राम्रो भएकाहरू यतै काठमाडौंमा छानेका जीवनसाथीसँग सेटल भएका छन्। अनि आफ्नो क्षेत्रमा अग्रणी व्यावसायिक परिचय बनाएर समाजमा सानको जीवन बाँचिरहेछन्। अरूले कसरी लिन्छन्, थाहा छैन। मलाई लाग्छ, अध्ययनले मान्छेको जीवन बदल्छ। संसार फेर्छ। मोडल­हिरोइनको मेरो परिचय बन्नुका पछाडि पनि अध्ययनको भूमिका धेरै छ। कहिलेकाहीँ यसो सोचमा हराउँछु। म आफैंलाई प्रश्न गर्छु, काठमाडौंमा नजन्मेर उपल्लो डोल्पामा जन्मेको भए के हुन्थेँ होला? पढाइ कस्तो हुन्थ्यो? अनि मेरो शिरमा मिस नेपालको ताज आइपुग्थ्यो होला? काठमाडौंको राम्रो परिवारमा जन्मेकोमा भाग्यमानी ठान्छु, किनभने मैले राम्रो अवसर पाएँ, शिक्षाका लागि।

सानो छँदा मलाई किताबको महत्व थाहा थिएन। कोर्सका ‘किताब’ मात्र किताबजस्तो लाग्थ्यो। अलि बुझ्ने भएपछि कमिक्सका किताब मेरा हात परे। रमाइलो लाग्थ्यो कमिक्सको संसारमा हराउन। अंग्रेजीको आर्चिज, टिनटिन, टम एन्ड जेरी र हिन्दीको बेताल मेरा प्यारा कमिक्स थिए। किताबलाई इज्जत र मान गर्नुपर्छ भनेर त खुब सुन्थेँ। गर्थें पनि। किन इज्जत गर्नुपर्छ भन्नेचाहिँ थाहा थिएन। ती स्कुले दिनमा मेरो रोमान्स बेताल र टिनटिन कमिक्स–पात्रसँग चलेको थियो। कोर्सका किताब जाँच पास गर्ने माध्यममात्र थिए। कोर्सका किताबसित सर्टिफिकेटको लालचबाहेक अरू केही थिएन।

त्यसबेला म ११–१२ वर्षकी थिएँ। नजिकका आफन्त र घरका अन्य सदस्यले मोटामोटा किताब पढेको देख्थेँ। भित्रैदेखि इर्ष्या लाग्थ्यो। उनीहरूजस्तै हुन मन लाग्थ्यो। कहिलेकाहीँ म अरूको देखासिकी गर्दै किताब समातेर बस्थेँ। खासमा त्यो पढाइ थिएन, इर्ष्या थियो। त्यसैबेला मैले थाहा पाएकी थिएँ, संसारमा कमिक्सबाहेक उपन्यास पनि हुन्छन् भनेर।
त्यसपछि, मैले उपन्यासबारे सोधखोज गर्न थालेँ। घरका आमा, मामा, दिदी र म आफ्नो भाग्य ठान्छु, उहाँहरू अध्ययनमै भएकाले उनीहरूले पढिसकेका किताबको पुस्तकालय घरमै थियो। त्यसैले किताब खोज्दै म पसलतिर जानु परेन।

यो स्कुले जीवनको अन्त्यतिरको कुरा हो। त्यसताका म उपन्यास पढ्न खोज्थेँ। छसात पानाभन्दा पढ्ने धैर्य मसँग हुँदैनथ्यो। मेरो ध्यान अन्तै जान्थ्यो।

पछि, पढ्न नसकेकोमा निरास र दुःखी हुन्थेँ। यसरी म कैयौंपल्ट निरास भएँ। त्यतिबेला लाग्थ्यो, आखिर के हुन्छ किताबमा? कसरी सक्छन् मान्छेहरू किताब पढ्न? बिस्तारै उपन्यासका ‘चाइल्ड भर्सन’ र छोटा कथाका पुस्तक मलाई मनपर्न थाले।

एसएलसीपछि एक पटक निकै अड्डी कसेर एउटा पूरै उपन्यास सिध्याएँ। त्यो उपन्यास मैले घरकै पुस्तकालयमा भेटेकी थिएँ। नाम त बिर्सें तर त्यो हिन्दी भाषामा थियो। ती दिन सम्झँदा अझै पनि मन रोमाञ्चक हुन्छ। त्यसपछि बल्ल थाहा पाएकी थिए,ँ उपन्यासभित्र समेटिएको रहस्य के हो भनेर। खासमा मैले ती सबैमा नौलो संसार भेट्टाएकी थिएँ, बाहिर भोगिएभन्दा भिन्न।

मेरो स्कुल सकियो। म कलेज भर्ना भएँ। यो सन् १९९२–९३ तिरको कुरा हो। मैले घरकै पुस्तकालयमा भेटेँ, सिड्नी सेल्डनका उपन्यास। सिड्नी सेल्डनका उपन्यासले मेरो मनै हर्न थाल्यो। पहिले त सेल्डनबारे केही थाहा थिएन। उनको उपन्यास पढ्न सजिलो लागेर मात्रै पढ्थेँ। त्यसमध्ये इफ टुमरो कम्स, द अदर साइड अफ मिडनाइट र रेज अफ एन्जेल्स।

सेल्डनका हिरो पात्र प्रायः केटी हुन्थे सायद त्यसैले पो हो कि मलाई उनका किताब मन परेको। ती साहसी हुन्थे। आफू समाजमा भएको वास्तवकिताभन्दा भिन्नै ती पात्रले मलाई अघि बढ्न प्रेरणा दिन्थे। पछि, तिनकै पात्रहरूसँग रमाउँदै र दुःखी हुँदै वास्तविकताबाट भड्किएर म पुस्तकभित्रै डुब्न थालेकी थिएँ।

आफ्नो वास्तविकता बिर्सेर अरूको कल्पनाको संसारमा फन्का लगाउँदा मलाई खुब रमाइलो लाग्थ्यो। म साँच्चै खुसी हुन्थेँ। सायद, अरूलाई पनि यस्तै लाग्दो हो।
मिस नेपाल हुनुअघि मेरो कोठा हरदम बन्दै रहन्थ्यो। चुकुल लगाएर या त म सुतिरहेकी हुन्थेँ या उपन्यासमा डुबुल्की लगाइरहेकी हुन्थेँ। त्यो बेला धेरै साथी थिएनन्। त्यसैले हो सायद किताब मेरो संसार बनेको। उपन्यासका पात्र नै मेरा नजिकका साथीजस्ता लाग्थे। एउटा किताब सिध्याउन एक हप्ता जति लाग्थ्यो। सुरुसुरुमा त एकदम गौरव अनुभव गर्थें। तर बानी परेपछि किताब जीवनको अभिन्न अंगजस्तो भयो।

त्यो बेलाको मेरो एकांकीपन देखेर बुवाआमा निकै पीर पनि मान्नुहुन्थ्यो। बुवाआमा भन्नुहुन्थ्यो, ‘झरना, कति किताब पढिराखेको? कहिलेकाहीँ साथीहरूसँग पनि जानुपर्छ। सामाजिक हुन सिक्नुपर्छ।’ तर खै ती कुरा कहिल्यै महत्वपूर्ण लागेन। थाहा छैन, किन। किताब सिध्याएपछिको क्षण एकदम खुसी हुन्थेँ म। लाग्थ्यो एउटा लक्ष्य प्राप्त गरेँ। पात्रहरूलाई नजिकको साथी बनाएँ र गहिराइबाट चिनेँ सबैलाई।

अनि अझै धेरै पढ्न प्रोत्साहन गर्नुहुन्थ्यो बुवा। किताबप्रतिको मेरो आकर्षण देखेर उहाँले एक पटकमै दुईतिनटा उपन्यास ल्याइदिनुहुन्थ्यो। एकदम खुसीको अनुभव गर्थें। आफूले कहिलै किन्नु नपरेर हो कि!
****

१९९७ मा मिस नेपाल भएपछि मेरो र किताबको सम्बन्ध टाढियो। म जुन संसारमा पुगेँ, त्यहाँ बुद्धि र बौद्धिकताको खासै मूल्य थिएन। त्यो भुलभुलैयाको भड्किलो बजार थियो। र, त्यहाँभित्र मेरो उपस्थिति एउटा देखिने पात्रका रूपमा मात्र हुन्थ्यो। म कम्ति स्वार्थी हैन, त्यतै लहसिएँ। नाम र प्रतिष्ठाको संसारले मलाई यसरी छोप्यो कि पुस्तक त के मानव जीवनको वास्तविकतै पूरै बिर्सें।

मोडलिङ र कलाकारितामा मेरो करिअर सिँढी उक्लेजसरी माथि गयो। मिस नेपाललगत्तै म सिनेमाको हिरोइन भएँ। जीवनको ठूलो उपलब्धि हासिल गरेँजस्तो लाग्ने त्यो बेला किताब त कहाँ पुगे कहाँ! सिनेमा खेल्ने क्रममा म कविताबाट प्रभावित भएकी थिएँ, विशेषगरी मञ्जुलका कविता। मलाई सिनेमामा ब्रेक दिने प्रकाश सायमी साहित्यमा खुब रुचि राख्नुहुन्थ्यो। सुटिङमा जाँदा जहिल्यै उहाँसँग किताब हुन्थे। त्यहीमध्ये एक किताब मञ्जुलको कवितासंग्रह थियो। र, मैले पनि पढ्ने मौका पाएँ। पहिले त भावना बुझ्न गाह्रो लाग्थ्यो। जब बुझेँ सारै भावनाले मलाई छोयो। त्यसपछि, मैले लेख्न पनि कोसिस गरेँ, रहर लागेर। पछि, निरन्तरता दिन सकिनँ।

मलाई लेख्न सारै मन लाग्थ्यो। सिनेमाको काम सकेर थाकेर घर फर्किंए पनि म प्यारो डायरी खाली राख्दैनथेँ। सिनेमामा लागेकी एउटी केटीले देख्ने सपना र हाम्रो फिल्मी वास्तविकताले त्यो बेलाका मेरा डायरीका पाना भरिएका छन्। नजिकका साथीहरूसँग पनि धेरै नखुल्ने स्वभावले होला, म अझै पनि लेखनबाट बढी स्पष्टसँग मनका कुरा पोख्न सक्छु। उपन्यास र आत्मकथा मलाई पढ्न मन लाग्ने विधा हुन्। गान्धीको आत्मकथा, मन्डेलाको अ वाक टु फ्रिडम, पावलो कोयलोका लाइक द फ्लोइङ रिभरले मलाई धेरै प्रभाव पारेका छन्।

यस्ता पुस्तक पढ्दा जहिले पनि किताबकै संसारमा हराइरहूँजस्तो लाग्थ्यो।
पछि मैले आफैँलाई प्रश्न गर्न थालेँ–
किन म सधैं कल्पनामा रमाउन चाहन्छु?
के मेरो जीवन साँच्चिकै यस्तै निरास छ?
मैले खोजिरहेको के हो र म किन जीवनसँग सन्तुष्ट छैन?
यस्ता प्रश्नमा अलमलिएर मैले धेरै समय यताउता गरिरहेँ। त्यसका लागि म भारतका विभिन्न स्थान पुगेँ। हरिद्वार र ऋषिकेशका योगाश्रम पुगेँ। लद्दाख र कस्मिरतिर भौंतारिएँ। पुनेको ओसो इन्टरनेसनल सेन्टरमा लामो समय बिताएँ। यस्तै प्रश्नको खोजीमा रहेकाहरू त्यो यात्रामा साथी बने। म एक्लै रहेनछु भन्ने महसुस हुन्थ्यो उनीहरूलाई देख्दा। बुझ्न चाहन्थेँ आफूलाई, यो जीवनलाई तर मलाई थाहा थिएन। कसरी ?

मेरा साथी र त्यतिबेलासम्म मैले चिनेका पुस्तकले त्यसको जवाफ दिन नसकेपछि रोजेको बाटो हो, आध्यात्म।
****

अध्यात्मतिरको मेरो पहिलो पाइला पनि किताबबाटै सुरु भएको हो। सन् २००६ तिरको कुरा। संसार र जीवन बुझ्ने प्रयासमा अध्यात्मका किताब मैले पहिलो पटक समातेँ।

मुम्बईमा हुँदा एक पुस्तक पसल गएकी थिएँ। किताब छान्ने क्रममा पावर अफ नाउ र त्यसकै हिन्दी अनुवाद शक्तिमान वर्तमान मैले फेला पारेँ। वर्षौंदेखि विपश्यनाको साधक भए पनि त्यो किताबले मलाई अध्यात्म सरल रूपमा बुझायो।

एकार्ट टोलेले आफ्ना पुस्तक पावर अफ नाउ र स्टिलनेस स्पिक्समा मानव जीवनका वास्तविकता बुझाउन खोजेका थिए। ती पुस्तकले धेरै सहयोग गरे रहस्यमय मानव जीवन बुझ्नका निम्ति। अजान चाको फरेस्ट धम्म र अध्ये शान्तिको एन्ड अफ योर वर्ल्डले मेरो बुझाइको तह अझै उँचो बनाउन सघाइरहेछन्। ज्याक कर्नफिल्डको लिभिङ धर्मले मलाई वास्तविक धर्म के हो भन्ने बुझाएको थियो।

किताबकै भरमा करिअरमा सफलता पाएँ, अध्यात्म बुझ्ने कोसिस गरेँ अनि आफूलाई बुझ्ने प्रयासको थालनी गरेँ। किताब नभएको भए, म अहिले कस्तो हुन्थेँ होला? अब किताबसँग मतलबी सम्बन्ध पनि रहेन। जीवन बुझ्ने बाटो देखाउने पुस्तक र मबीचको सम्बन्ध इज्जत र सम्मानमा परिवर्तन भएको छ। अध्यात्मतर्फको सुरुवाती यात्रामा किताबबाट पाएको बौद्धिक ज्ञानले मनमा अहं जगायो। त्यो बेला लाग्यो, मभन्दा जान्नेबुझ्ने कोही छैन। सबै कुराको बौद्धिक ज्ञान छ मसँग।

जब अध्यात्मलाई जीवनमा आत्मसात गर्न खोजेँ, म आफैंसँग गलत सावित भएँ। थाहा पाएँ — बौद्धिक ज्ञानको महत्व तबमात्र हुन्छ जब त्यो जीवनमा आत्मसात गरिन्छ। र, किताबको अधिकतम क्षमता बुद्धिको तहलाई तिखार्नेमात्र हो। फगत बौद्धिकताको केही मूल्य हुँदैन। मेरो अनुभवको एउटा सत्य — खोक्रो बौद्धिकताले जीवनमा कुनै परिवर्तन पनि ल्याउँदैन। विश्वविद्यालयमा अध्ययनको तहहरू भएजस्तै मान्छेको दिमागमा बुद्धि र त्यसभन्दा माथि पनि तह भएको मलाई स्पष्ट अनुभव छ। घरिघरि आफूलाई त्यो दिमागी तहभन्दा माथि पाउँछु। त्यो अवस्थामा बुद्धिको कुनै काम वा अर्थ दुवै हुँदैन। तैपनि एउटा बुझाइमा स्पष्ट छु — अध्ययनले जीवनयापन सहज बनाउँछ, जीवनको मार्गदर्शन गर्छ।

म अहिले जब आफूलाई पछाडि फर्केर हेर्छु। म जहाँ छु, जे छु, त्यहाँ आइपुग्न लामो भर्‍याङ उक्लिएँ, जसमा किताबका खुड्किला थिए।

झरनाको अरु लेख पढ्नुहोस्

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

4 Responses to “अध्ययन र अध्यात्म”

  1. सुभक महतो 29. Aug, 2010 at 4:21 pm

    झरना जी
    तपाईले लेख्नु भएको अध्ययन र अध्यात्म बडो रोचक लाग्यो । साइत यस्तै यस्तै घटना मेरो जीवनमा पनि मेल खाएर होला ? हो तपाई को जीवनमा घटेका यस्ता घटनाहरु सबै मेल नखान सक्छ तर, केही प्रतिशत मेल खान्छ नै ।
    वास्तवमा तपाईले अध्ययन नगरिकन कलाकारिता क्षेत्रमा प्रवेश गरेको भए तपाईले यथार्त जीवनसंग भेटघाट हुने थिएन कि । जुन मानिसले यथार्त जीवनसंग भेटघाट हुन्छ त्यसको नै सहि जीवन हो । त्यो कुरा तपाईले आफै पुष्टि गर्नु भएको छ कि मेरो जीवनको सबै देनहरु किताबका खुड्किलाहरु नै हुन् भनेर ।

  2. अझै पढी रहू झैँ लाग्ने लेख !
    जस्तो राम्रो मान्छे लेख पनि उस्तै राम्रो !
    यस्तो राम्रो लेख्ने मान्छेले दिन दिने यसरि लेखि रहने कोशिस गरि रहनु भयो
    भने छिट्टै नै तपाइले किताब पनि लेख्न सक्नु हुने छ ,
    शुभ कामना .

  3. Liked! True Feelings! One May have his/her way of living and one may claim it to be private, but if tht is sharable in good way. that may inspire others towards good direction. In Nepal, the people from the film industry are often considered dumb, uneducated and stupids. But Jharana seems to be dragging herself above than that! Really liked Your Attempts! Keep writing! :))

  4. Higher realization of Jharana jee!

    Great to know you are trying to eradicate ‘I’ within you.

    Bookish or mere knowledge makes one an arrogant. The philosophy which is not examined by yourself has no use in life.

    No one can make you an artist. Someone can show you paint, brush and required materials. Bookish knowledge which you have not lived on will work as painting materials and rest depends on you.

    “Yourself” is the greatest and most useful book – my recent FB status.

    From Meditation practice for last one and half decade,now, I m skeptical whether Meditation is also an escape from reality.
    I also realized when practice becomes habitual that is no longer useful. Habit takes over your mind.

    Happy seeking if you are still a seeker Jharana jee and thanks to Krishna jee for bringing this to us.