बेगनासको फरक यात्रा

Fri Dec 3 0 Comments


सोमबार मिर्मिरेमै ज्योति भवन, जमल पुग्दा टुरिस्ट बसहरु प्यासेन्जर चढाउँदै थिएँ। ठिहिराइरहेका हातमा मिनिरल वाटरको बोतल बोकेर यताउता गरिहरहेका पर्यटकहरुले सडकको पूर्वी पेटी पूरै भरिएको थियो- यूएस रिक्रिएशन सेन्टरको दक्षिणी कुनोदेखि नबिल बैंकसम्मै। काठमाडौं तापक्रम झन्डै ६-७ डिग्रीमा ओर्ले पनि बिहानै नुहाएर हिँडेको मेरो केस चिसै छ। डच परिवारजस्तो देखिने एउटा विदेशी परिवारका दुई बच्चाहरुमध्ये भ्यात्त भुँडी भएकोले चै मतिर निकैबेर हेरिरह्यो। मुसुक्क हाँसिदिएँ… उ नहाँस्ने कुरै थिएन। मलाई पनि जानु थियो पोखरा तर कान्तिपथबाट टुरिस्ट बस समात्नु पर्ने थिएन। बरु मलाई विपश्यना केन्द्रका सञ्चालक भेट्नु थियो। सडक चिया पसलको तातो कप हातमा लिएर खैरेहरुको दुःख हेरिरहेछु। कोही ठूला ठूला ट्रेकिङ ब्याग बसको छतमा राख्न सघाइरहेका अनि कोही ज्योति भवनको गेट भएतिर ‌ओहोर-दोहोर गरिरहेका।

‘हामी ठमेल चोकमा आइपुग्यौं’, झरनाको मेसेज।

‘६ मिनेटभित्र आइपुग्छु’, चियाको पैसा तिर्नु अघिको रिप्लाइ।

२९ नोभेम्बर २०१० को एउटा चिसो बिहानी। मैले परिचय गरेँ विपश्यना गुरु आनन्द र नेपाली सेनाका पूर्व कर्नेल नरबहादुर गुरुङसँग। विपश्यनाको मुम्बइस्थित इगतपुरी केन्द्रमा ६० दिने कोर्शका टिचर रहिसकेका आनन्द गुरु मैले जन्मेर यस पृथ्वीमा भेटेका थोरै विशेष मान्छेमध्ये एक थिए। र विपश्यनाको टिचर भइसकेका कर्नेल गुरुङ बाह्य-भित्री दुवै शक्ति अब्जर्ब गर्नेहरु मध्येका एक। ‘भोक लाग्यो’, भर्खरै परिचय भएका विशिष्ट व्यक्ति सामु बिनासंकोच मैले आफ्नो खबर भनिदिएँ। गाडी थानकोटतिर सोझिइरहँदा मेरा हातमा दुईटा चक्लेट थिए अनि झरनाको ब्यागमा उखुका रसिला पिसहरु पनि। 🙂

***
बेगनासको किनारमा अवस्थित विपश्यना केन्द्र आफैँमा एउटा विहंगम आकर्षणस्थल रहेछ। यसो तलतिर आँखा लगाए हुस्सुले छोपेको बेगनास क्षितिजसम्मै फैलिएको छ कि जस्तो देखिने। अनि माथितिर आँखा लाए चम्किरहेका माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमाल एकै साथ आँखामा आउने। साधना बाहेकको समयमा आनन्द लिन यहाँको वातावरण गज्जब रहेछ। घण्टाभरिको ध्यानले चङ्गा बनेको मन अनि साधकका चनाखा आँखाले एकैसाथ देख्न सक्छन्- हरियो जंगल, बेगनास र टल्किरहेका हिमालको इमेज।

त्रिसुली किनारको भव्य रिसोर्ट रिभरसाइड घुम्दै जाँदाभन्दा बुधबार फर्कंदा चित्तमा प्रशन्नताको डिग्री बढी थियो। सायद पाउनुभन्दा दिनुमा बढी आनन्द छ। घरबाट हिँड्दैदेखि पोखरा केन्द्रलाई सघाउन मेरो कुन चाहिँ क्षमता प्रयोगमा आउन सक्छ भनेर सोचिरहेथेँ। फर्कंदा स्पष्ट विषय नै पाएँ। निश्चय नै मनैदेखि गर्नेछु; सकेँ भने आशा गरिएभन्दा बढी नै।

***
‘जान भ्याउँदिन’, तीन-चार दिन अघि नै मैले उसलाई व्यस्तता बताएको थिएँ। शनिबार शिवपुरीबाट फर्केपछि एकाएक मलाई यो ठूलो अवसर हो भन्ने रियलाइज भयो। त्यसपछि अफिस र आफ्ना कामले रोक्ने तागत गरेनन् तर मैले फेरि स्पष्ट पारेँ – ‘मेरो कारण त्यहाँ अलिकति पनि असहज स्थिति हुन्छ भने म खुशी भएरै जान्न।’ आइतबार झरनाको फोन आयो- ‘बिहान ७ बजे ठमेलमा भेट्ने।’ यात्राबाट फर्किएर यी अक्षर लेखिरहँदा म छक्क पर्दैछु। उज्यालोको चमक लिएर बाँचिरहेका व्यक्तिहरुको जमघटमा बैङ्किङ, उद्योग, अध्यापन, सैन्य सेवाका विशिष्ट मान्छे सहभागी थिए। मैले आफूतिर हेरेँ। हो म कोही थिइनँ र कोही बन्नुपर्छ भन्ने नठानेरै विपश्यना केन्द्रको वार्षिक बैठकमा सहभागी थिएँ।


केन्द्रबाट देखिन्छ कुहिरोले छोपेको बेगनास र हिमश्रृङ्खला

Leave a Reply

Your email address will not be published. Required fields are marked *