तहल्का मास्टरमाइन्ड काठमाडौंमा

Tue Sep 13 0 Comments
तरुण तेजपाल

एउटा खतरनाक पत्रकारको करिअर पछाडि कुनै उपन्यास लेखकको भूमिका के हुनसक्छ ? धेरैका लागि केही अर्थ हुँदैन। तर विश्वभर तहल्का मच्चाउने तरुण तेजपालको तहल्का पत्रकारितापछि लेखिका अरुन्धती रोयको भूमिका छ। रोय त्यो बेला उपन्यास ‘द गड अफ स्मल थिङ’ प्रकाशनको तयारीमा थिइन्। आउट लुक म्यागेजिनका महत्वकांक्षी प्रबन्ध सम्पादक तेजपाल चाहिँ करिअरलाई फरक तवरले फैलाउने सोच्दै थिए। १९९८ मा तेजपालको इन्डिया इंकले रोयको पुस्तक प्रकाशित गर्‍यो। अरुन्धतीलाई बुकर प्राइज दिलाउने त्यो पुस्तकबाट प्राप्त पैसाले तेजपाल मस्तिष्कको ‘तहल्का पत्रकारिता’ सोचलाई मुर्तरुप दिन सघायो।

भारतका ए वान म्यागेजिनहरु इन्डिया टुडे र आउटलुकको पत्रकारिता चाखिसकेका तेजपालले सन् २००१ मा तहल्का पत्रकारिता थाले। साँच्चै उनले थालेको तहल्का डट कमले भारतभित्र मात्र हैन पूरै विश्वमा तहल्का मच्चाइदियो। तेजपालको सुरुकै रिपोर्टिङले ढाल्दियो भारतका रक्षामन्त्री जर्ज फर्निन्डाज र बीजेपी सचिव वाङ्गरु लक्ष्मणलाई। दुवै पद च्युत भए। दिल्लीकी मोडल जेस्सिका हत्यारालाई सत्ता र सम्पत्तिको प्रभावमा उन्मुक्ति दिने अदालतको फैसला तहल्का ‘स्टिङ अपरेशन’ले जनसमक्ष ल्याइदिँदा त्यसले राष्ट्रपति एपीजे अब्दुल कलामलाई समेत निदाउन दिएन।

तहल्कामार्फत् भएका यस्ता दर्जनौं अनुसन्धान छन् जहाँ तेजपालले ज्यानको बाजी लगाएर भारतीय समाजका वास्तविकतालाई उदाङ्गो पारिदिएका छन्।

दक्षिण एशियामा पत्रकारिताका लागि तथ्यसम्मको पहुँच सधैँ चुनौतीको विषय हो। तर तेजपालको तहल्का पत्रकारिता तथ्यको प्रकाशन मात्र हैन समाचार लेखनमा दोस्रो धारको उदय पनि हो। तहल्का ‘स्टिङ अपरेशन’ले दोषीलाई भित्तैमा पुग्नेगरी ठोक्छ र पीडितको पक्षमा खुलेरै वकालत गर्छ। यही फरकपनका कारण डेढ सय वर्षदेखि चल्दै आएको भारतीय ‘प्रेस्टिज प्रेस’ (टाइम्स अफ इन्डिया र त्यसलाई गुरु मान्ने अन्य सबै मिडिया) लाई तहल्काले छायाँमा पारिदिएको हो।

स्टिङ अपरेशनले कुख्यातहरुको निद हराम भइरहँदा तहल्का फाउण्डेशनले चलाएका कल्याणकारी कार्यक्रमले उदाउँदो भारतलाई सभ्य र अझ सम्वृद्ध बन्न प्रत्यक्ष सघाइरहे छन्। कुनै बेलाका इन्डिया टुडे रिपोर्टर तेजपाल अहिले भारतका ५० प्रभावशाली व्यक्तिको सूचिमा छन्। उनी न्युयोर्कबाट प्रकाशित हुने बिजनेश विक म्यागेजिनले सार्वजनिक गरेको एशिया बदल्नसक्ने ५० भिजिनरी व्यक्तिको सूचिमा समेत थिए।

यिनै तहल्का मास्टरमाइन्ड यो साता काठमाडौं उत्रँदैछन्। कस्तो हुनुपर्छ नयाँ युगमा समाचार ? ‘द न्यु एज अफ न्युज’ काठमाडौं लिट्ररी जात्रामा तेजपालले यही शीर्षकमा बोल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *