दशैँ दृश्य

दशैँ न हो। कसले छोड्छ र ! हामेरु नि मनाउछौं भव्यसँग। आज अस्टमी धेरैका घरमा खशी काटिए। कुनै बेला मसँगै स्कूल पढ्ने नारदको घरमा खुकुरी बिहानैदेखि दलिनमा थियो। काटे होलान्। गाउँमा धेरै युवा यही दशैँका लागि त घर फर्किएका छन्। टन्न मासु खान, म्यारिज खेल्न अनि सर…सर… लिङ्गे पिङ मच्चाउन। म नि के कम ? ३५ मिनेट बुद्ध एयर र राजेशले खोजिदिएको मारुति गाडीमा डेढ घण्टाको यात्रा पार गर्दै बा-आमाको काखमा आइपुगेको छु।

***
‘अब तँ बूढो भइछस् कान्छा’, आमाको काखमा टाउको राखेर सञ्च मान्दै दलिनमा सुतिरहँदा उहाँको स्वरले मलाई झन् आनन्द थपिदियो- ‘हे…र…! यसका सबै कपाल फुलेछन्। …कालो मेहेन्दी हाल्छस भने भाउजूले ल्याएकी छे।’ पसिना आउन्जेल गर्मी भएको यो समयमा पूर्वको खुला क्षेत्रबाट सिरसिर चिसो हावा अनुभव भइरहेछ। र, मलाई कपाल फुलेकोमा केही चिन्ता छैन। बरु शिरमा उहाँका औंलाहरु चलिरहँदा म आँखा चिम्म गरेर निदाएजस्तो गरी आमा अनुभव गरिरहेछु। ‘ह्या…लाउँदिनहोउ आमा… जति फुल्छ फुलोस्’, मैले केटाकेटी लाडिए झैँ गरी मसिनो स्वरमा इन्कार गरेँ। एउटा आनन्दको गाउँ बसाइ, जहाँ कामको कुनै जिम्मेवारी छैन र मलाई काखमा राख्ने आमा हुनुहुन्छ। मनैमन लागिरहेछ – ‘कस्तो आनन्दको दशैँ; यस्तो दशैँ त फेरि फर्किवस् !’

***
हरि दाइले ज्वरो नाप्न ल्याएको थर्मोमिटरले बाहिरको तापक्रम ३४ डिग्री देखायो। मलाई औधी गर्मी अनुभव भइरहेछ। सधैँ दसैँमा घर जाँदा म बस्ने शीतल घर यसपाला दाइले बेचेछ। यो बूढो घरमा बढी नै गर्मी लाग्छ। मोरङको धान भकारी जस्तो लाग्ने यो गाउँमा बसेर आज मैले गीताको १६ अध्याय पढिसिध्याएँ; आनीको आत्मकथा फूलको आँखामा भोलिदेखि थाल्छु। मलाई १६ औं अध्याय नै विशेष लाग्यो। यसअघि कक्षा ९-१० तिर पढ्दा मैले श्रीमद्भागत पुरणाको संक्षेप, देवीभागवत्, कृष्ण चरित्र, रामायणसँगै भागवत गीता पढेको थिएँ। थाहा छैन त्यो बेला मैले के पढेँ ? किन पढेँ ? र के बुझेँ। यति हो यी पौराणिक ग्रन्थका हरेक पात्रहरुसँगै डुब्थेँ र इमोशनल बन्थेँ। यो पाला चाहिँ म गीता पढ्ने बारे थोरै स्पष्ट थिएँ। कृष्णले अर्जुनलाई सम्झाएका विषय प्रकृतिसम्मत छन् वा कस्ता छन् ? भन्ने खुट्याउन चाहन्नथेँ। त्यसमा गीता बडो उत्कृष्ट रहेछ। ‘परिवर्तन संसारको नियम हो। तिमी जसलाई मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एकछिनमा तिमी करोडौंको स्वामी बन्छौ र एकैछिनमा तिमी दरिद्र बनिसक्छौ…’ वाह ! पूर्वीय अनुभव; जो सत्यको अधिकतम नजिक छ। अनुवाद गर्ने काशिनाथ अधिकारीलाई धन्यवाद।

***
पश्चिमको बाँसघारीमाथि घाम डुब्ने तर्खर गर्दैगर्दा म घर नजिकैको खोल्सोको ढिलमा छु। वर्षाबेला ठूलै बाढी आउने यो फोहोरी खोलोमा कुनै बेला मैले माछा मारेको छु। पछिल्ला वर्षहरुमा मेरो स्वभाव बदलियो र यो डिलमा आउने मेरो उद्देश्य पनि फेरियो। हरेक पटक घर आएको बेला न्यानो करुणा राख्दै भुजा फ्याँकिदिन्छु। मलाई भेट्न माछाहरु नजिकै झुम्मिन आइपुग्छन्। पानीमा तैरिरहेका भुजाका दानालाई मुखले ठुङ्दै साना माछाले डुबुल्की लाएको दृश्यले मनै रोमाञ्चक पार्छ। ठूला माछाहरु चिलले चल्ला छोपे जस्तै आकस्मिक रुपमा आएर भुजा टिपेर टाप कस्दैछन्। मसिना भुराहरु भने निल्न नसके नि आहारा पाउने दौडमा तँछाड मछाड उफ्रिरहेछन्। ओहो दशैँ ! असत्यमाथि सत्यको विजय; राक्षसी शक्तिमाथि दैवी शक्तिको विजय। कुनै बेला मद्वारा मारिन्थे यिनीहरु; आज मैबाट पेट भरिरहेछन्। यस्तो सोचिरहँदा छरछिमेकमा चाहिँ पुरानैशैलीमा आफैँले दाना खुवाएको प्राणी (खशी) हत्या गरेर तयार पारिएको मासु पाक्दैछ।
मनमैन सोचिरहेछु-
कति हजार वर्षपछि भरिएला मान्छेमा चेतना ?
कति हजार वर्षपछि निर्धक्क बाँच्न पाउलान्- खशी बोका ?

पोरको दशैँ संस्मरण त्यो यात्रा सुनौलो

Twitter Digg Delicious Stumbleupon Technorati Facebook

One Response to “दशैँ दृश्य”

  1. ‘परिवर्तन संसारको नियम हो। तिमी जसलाई मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एकछिनमा तिमी करोडौंको स्वामी बन्छौ र एकैछिनमा तिमी दरिद्र बनिसक्छौ…’ वाह ! पूर्वीय अनुभव; जो सत्यको अधिकतम नजिक छ। Wow… kasto chitta bujhdo kura !